८ वैशाख २०८१ शनिबार
खेल

इलाममा आइपिएल क्रिकेट हुने

इलाम- पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कारको इलाम प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता आउँदो कार्तिक पहिलो साता सदरमुकाममा आयोजना गरिने भएको छ। ठूलो टुँडिखेलमा हुने १ नम्बर प्रदेशस्तरीय प्रतियोगिता जिल्ला क्रिकेट संघले आयोजना गर्न लागेको हो।

संघले बिहीबार सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगितामा १ नम्बर प्रदेशका जिल्लासहित नजिकै भारत दार्जिलिङको टिम पनि सहभागी हुने जानकारी दिएको छ। संघ अध्यक्ष मानबहादुर राईले प्रतियोगितामा १६ टिम सहभागी हुने बताए। विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार रुपैयाँ पाउने छन्।

प्रतियोगितामा भाग लिने टिममा बाहिरी जिल्लाका ३ उत्कृष्ट खेलाडी अनिवार्य गरिएको संघले जनाएको छ। ‘हाम्रो उद्देश्य जिल्लामा राम्रा खेलाडी उत्पादन गर्ने नै हो तर राम्रा खेलाडीसँग घुलमिल नगरी नयाँले सिक्ने अवसर हुँदैन,’ अध्यक्ष राईले भने, ‘सिपालु खेलाडीसँग खेलेपछि नयाँ खेलाडीले धेरै सीप सिक्न सक्ने भएकाले बाहिरका खेलाडी सबै टिममा रहून् भन्ने उद्देश्य हो।’ उनले प्रतियोगिताको सबै तयारी भइरहेको बताए।

प्रतियोगितामा भाग लिन चाहने टिमले १० हजार रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ । बाहिरबाट आउने टिमलाई प्रतियोगिता अवधिभर खाने–बस्ने व्यवस्था गर्न सकिन्छ या सकिँदैन भन्ने टुंगो लागिनसकेको आयोजकले जनाएको छ । ‘जिल्लामा प्रतियोगिता आयोजना नगर्दा खेलाडीले आफ्नो कला प्रदर्शन गर्ने र त्यसमा निखार ल्याउने अवसर पाएका छैनन्,’ संघका उपाध्यक्ष गणेश खतिवडाले भने, ‘खेलाडीसँग भएको सीप विकास र इलामको पर्यटन प्रर्वद्धनमा समेत सहयोग गर्न प्रतियोगिता आयोजना गर्दैछौं ।’ उनले पोखरामा पनि कात्तिकतिरै अर्को क्रिकेट प्रतियोगिता हुने भएकाले यहाँको खेलको यकिन मिति घोषणा गर्न बाँकी नै रहेको बताए। कार्तिक ५ वा ६ गतेदेखि प्रतियोगिता आयोजना हुने सम्भावना रहेको उनको भनाई छ।

इच्छुक टिमले आउँदो असोज १५ भित्र नाम दर्ता गराउनुपर्नेछ । खेलतालिका असोज २७ मा सार्वजनिक गरिनेछ । मोरङ ११, ताप्लेजुङ ११, दमक केर्खा, इलाम नीलो, सूर्योदय फिक्कल, बिर्तामोड ११, सुनसरी सिपी ११ र लक्ष्मीपुर ११ प्रतियोगितामा भिड्दैछन्। पाँचथर ११, झापा काँकरभिट्टा, इलाम रातो, दार्जिलिङ ११, देउमाई ११, जस्बिरे ११, इलाम हरियो र उदयपुर ११ ले पनि प्रतियोगितामा भाग लिने पक्का भएको आयोजक संघले जनाएको छ।

प्रतियोगिताको ‘म्यान अफ् दि सिरिज’लाई नगद ५ हजार पुरस्कार दिइने छ। म्यान अफ् दि म्याच, बेस्ट बलर, बेस्ट किपर, बेस्ट ब्याट्समेन र बेस्ट फिल्डरलाई जनही हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न १२ लाख ७८ हजार रुपैयाँ खर्च अनुमान आयोजकको छ।

पहिलो पुरस्कार राशि इलाम नगरपालिकाले बेहोर्ने भएको छ। अन्य खर्च जुटाउन विभिन्न सहयोगीहरूसँग सल्लाह गरिरहेको उपाध्यक्ष खतिवडाले बताए। ‘इलाममा दसैं–तिहारका बेला सञ्चालन गरिने हाउसी बिंगो खेल पनि यो पटक क्रिकेट संघले आयोजना गर्ने कुरा हुँदैछ,’ उनले भने, ‘खेलका लागि स्रोत जुटाउन टुबोर्ग बियर, मायोज चाउचाउलगायतसँग प्रायोजनका लागि सम्पर्क गरेका छौं ।’ प्रतियोगिताको नाममा ‘लिग’ जोडिएपनि लिग नभई नकाउट आधारमा खेल खेलाइने आयोजकले जनाएको छ।

प्रकाशित: ३१ श्रावण २०७५ ११:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App