८ वैशाख २०८१ शनिबार
समाज

जहाँसम्म जमिन, त्यहाँसम्म साईकल

पोखरा- कक्षा पाँचमा पढ्दै गर्दा उनी भागेर काठमाडौं गए। जहाज वा बसमा भने होइन। अजित बराल १० वर्षकै त्यो उमेरमा साइकल हाँकेरै पोखराबाट काठमाडौं पुगे। पोखरादेखि २०० किलोमिटर टाढा साईकलमा जानु भनेको पक्कै पनि सामान्य कुरा होईन। अजित बराल, जो साईकलमै जिउँछन्, भन्दा फरक नपर्ला। साईकलमै उनले आधा विश्व घुमिसकेका छन्।

तर, सुरुमा उनको ईच्छा भने साईक्लिष्ट बन्ने थिएन। त्यतिबेला उनमा आर्टको भुत सवार थियो। यो कक्षा ५ पढ्नुभन्दा अगाडिको कुरा हो। एकदिन विद्यालयबाट फर्केपछि उनले सहारा टिभी हेरिरहेका थिए। त्यहाँ युवाहरुले साईक्लिङ गरिरहेको देखाईएको थियो, साईकलबाटै उनीहरुले विभिन्न कलासमेत प्रस्तुत गरिरहेका थिए। सोही दृश्यबाट ५ वर्षीय बराल यति प्रभावित भए की झन्डै आधा विश्व उनले साईकलमै घुमिसकेका छन्।

बराल सुनाउँछन्, ‘मेरो सानैदेखिको बानी नै साईकल चढ्ने। स्कुल पढ्दा साईकलबाटै काठमाडौं पनि पुगेँ। बाल्यकालमा व्यक्तिगत रुचिका कारण साईकल कुदाएतापनि पछि यसलाई एक अभियानका रुपमा लैजाने सोच बन्यो।’

उनको सोचले अभियानको रुप लिँदा नेपालमा महाविनाशकारी भूकम्प आएको थियो। २०७२ वैशाखमा। भूकम्पको केही महिनापछि उनले यस अभियानलाई अगाडि बढाउने सोचे । तर, अभियानको नाम चाहिँ के विषयमा गर्ने भन्ने दुविधा पनि उत्पन्न भयो। उनी प्रकृतिका सौखिन थिए र अध्ययन पनि वातावरणको विषयमा गरेका थिए।

आफुले सिकेको सैद्धान्तिक ज्ञानलाई अभियान स्वरुप उनले ‘विश्वसंरक्षणको लागि वातावरण संरक्षण र एचआईभी एड्स विरुद्ध सचेता’ नाम दिए।

एचआईभीबाट उनले आफ्ना नजिकका साथीहरु पीडित भएको कारणले अभियानमा जोडेका थिए। ‘समाजले गर्ने अपहेलना र दुर्व्यवहारको विरोध स्वरुप यसलाई अभियानमा समावेश गरेको हुँ’ उनी भन्छन्, ‘रोग सबैलाई लाग्छ, फरक यति छ कि यसको उपचार हालसम्म बनेको छैन्, तर पीडित भएतापनि उनीहरु पनि मानव नै हुन, मानवलाई मानवसरह व्यवहार गर्नुपर्छ।’

अभियान तयपश्चात उनले सुरुवाती क्रममा नेपालको मेची महाकालीमा सन्देश छरे। सुरुवाती क्रममा नेपालमै सचेतना फैलाउने अभियान नेपालको भ्रमणपश्चात विश्वव्यापी नै बनाउने उनमा सोच पलायो, र यो अभियानमा उनलाई साथ दिए उनकै सहोदर दाजु डा. अमृत बरालले।

नेपालपश्चात भारतदेखि दाजुभाईको साईकल यात्रा सुरु भयो । बराल दाजुभाईको जोडीले १७ देशमा अभियान पुरा गरे। त्यसपछि एकल यात्रा सुरु गरेका बराल एसियाका लगभग सबै देशको भ्रमणपश्चात हाल उनी अष्ट्रेलियामा छन्।

सन् २०१४ मा भने उनी केहीमहिना साईकललाई ब्रेक दिए । कारण उनको मेरुदण्डमा समस्या आएको थियो। ‘९० किलो सामाग्री बोकेर उकालो चढ्नेक्रममा मेरो मेरुदण्डको हड्डि भाँचियो, देब्रे खुट्टाले काम समेत गरेन, म यति निराश भएँ कि सोचेँ जिन्दगी सकियो, म डिप्रेसनकै अवस्थामा पुगिसकेको थिएँ। तर, परिवारको हौसला र सकारात्मक सोचका कारण म अहिले यो अवस्थामा आईपुगेको छु, नियमित उपचार पश्चात शरीर केही सक्रिय हुन थालेपछि उनले साईकलको यात्रा अगाडि बढाए र साईकलबाटै उनको उपचार समेत भयो।’

वातावरण जोगाउन र एचआईभी पीडितको पक्षमा खुलेरै अभियान थाल्नु नेपाली परिवेशमा राम्रो कार्य हो, यसलाई निरन्तरता दिनको लागि आर्थिक सहयोग कसरी जुटेको छ त ? यो प्रश्नमा साईकलयात्री बरालले भने, ‘हामीलाई विदेश स्थितका नेपाली प्रवासी नेपाली संस्था, राजनीतिक दलका भातृ संघसंगठन, व्यक्तिगत र संस्थागत सहयोग मिलिरहेको छ।’

 ‘म भियतनाममा थिएँ र मसँग थोरै मात्र पैसा बचेको थियो। म अर्को देश जाने सोचमा थिएँ। त्यतिबेला जहाज चढ्नुको विकल्प पनि थिएन। त्यहाँको विमानले यात्रुको भन्दा साईकलको भाडा बढि लियो। म सँग पर्याप्त पैसा नभएका कारण २ दिन भियतनाममा नै बसेँ। पछि त्यहीँको एकजना साथीले टिकट खर्चको जोहो गरिदिएपछि म अगाडि बढेँ। ती साथीलाई म कहिल्यै बिर्सन्न ।’ उनले सुनाए।

भाषाको समस्याले उनी विदेशमा जहिल्यै अप्ठ्यारोमा परे। ‘अंग्रेजी नबोल्ने देशमा मलाई त्यहाँको भाषासँग निकै अप्ठ्यारो पर्‍यो, मेरो भाषा उनीहरुलाई आउँदैनथ्यो र मलाई उनीहरुको’ बराल भन्छन्, ‘मैले त्यहाँ सांकेतिक भाषाको प्रयोग गरेँ, तर पनि ईशारामा कुरा गर्दा कतिपय देशमा गलत अर्थ लाग्दोरहेछ, थाईल्याण्डमा म त्यस्तै समस्यामा समेत परेँ।’

मुख्यतय चीन, ताईवान, भियतनाम, कम्बोडिया जस्ता मुलुक भ्रमण गर्दा हामीलाई भाषाको निकै समस्या पर्‍यो। यतिसम्म कि पैसा थियो, होटेल थियो तर भाषा नबुझेकै कारण खाना खान समेत समस्या भयो। ।

उनी अगाडि सुनाउँछन्, पैदलै यात्रामार्फत पनि जान कठिन उकालीहरुमा साईकलै बोक्यौँ, अनकन्टार जंगलमा कैयौँ रात भोकै बिताईयो, पानी समेत पिउन पाईएन।

अभियान अगाडि बढ्दै जाँदा एक दिन लाओसको जंगलमा बास बस्नुपरेको थियो । जंगलयात्राकै क्रममा उनी एकपटक लुटिए पनि । लाओस जाने क्रममा कोलम्बियाको प्रहरीले उनीसँग भएको ३ सय डलर नै लगिदिएको अनुभव उनले बताए। यस्तै, अमेरिकामा सबैभन्दा बढि सहयोग पनि त्यहाँको प्रहरीले गरेको स्मरण छ, उनीसँग । त्यहाँ खाना, बस्नको व्यवस्था नभए प्रहरीलाई गुहारे पुग्थ्यो। अमेरिकी प्रहरीले उनलाई निकै सहयोग गर्‍यो।

उनी आफ्नो सन्देश छर्ने मात्र होईन, कतिपय देशमा उनी आफैले सामाजिक अभियानको समेत थालनी गरे। ‘कोलम्बियामा हामीले त्यहाँको लाउडा बिच सरसफाईको अभियान थालनी गर्‍यौं, त्यहाँको नगरपालिकाले हामीलाई पनि सहयोग गर्‍यो। यो बाहेक, ताईवानको ताईचुन विश्वविद्यालयमा त्यहाँका विद्यार्थीसँग अन्तरक्रिया गर्‍यौं। सबैभन्दा स्मरणरीय चाहिँ म्यानमारको एंगुनमा गरेको सरसफाई ट्रेन्ड रहेको छ, यसको निरन्तरको लागि म तीनपटक त्यहाँ पनि पुगिसकेको छु,’ बरालले भने।

विश्व घुम्दा र नेपाल हेर्दाको अनुभव कस्तो रह्यो त ? प्रश्नमा उनी भन्छन्, ‘हाम्रै देशका बच्चाहरु बढि शिक्षित छन्, हाम्रै देश धनी छ, ठूला बिल्डिंग मात्र सम्पन्नताको प्रतीक होईनन् ।’ हामीकहाँ जनताले महसुस नगरेर मात्र हो नत्र देश विकास हुन कुनै गाह्रो छैन्।

प्रकाशित: ३१ श्रावण २०७५ ०९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App