धादिङ - उमेरले ११ वर्षमा पाइला टेक्दै गरेकी समृद्धि तिमल्सिना सानैदेखि गीत संगीतमा रुचि राख्छिन्। घरमा होस् या विद्यालयमा उनी गीत गुनगुनाइ रहन्छिन्। विद्यालयस्तरमा हुने गायन प्रतियोगितामा सँधै अग्रस्थान हुँदै आइरहेकी छन्। उनै समृद्धिको पहिलो गीत ‘माथि माथि हिउँचुली’ सार्वजनिक भएको छ । गीतकार रमेश अधिकारीको शब्द रहेको गीतमा समृद्धिका पिता चक्रपाणि तिमल्सिनाको संगीत छ।
गीतलाई फेसबुक तथा ट्वीटरमार्फत गीत रिलिज गरिएको हो। संगीतकार तिमल्सिनाले समृद्धिको गायन प्रतिभाले सबैलाई आश्चर्य चकित तुल्याएको बताए। ‘सानैदेखि मेहनती समृद्धिको गायन कलाले सबैलाई आनन्दित तुल्याएको छ’, तिमल्सिनाले भने, ‘खासगरी देशभक्ति र बालबालिका विषयमा गीत गाउन रुचि राख्छिन्।’
राष्ट्र प्रेमको भाव बोकेको गीत सरल र मिठो लयमा छ। गायिका मेलिना राईको फ्यान समृद्धिले गीत रेकर्ड गर्दा स्टुडियोमा भेटिएका सबैलाई चकित पारेकी थिइन्। ‘माथि माथि हिउँचुली, फेवातालमा छायाँ किन यति धेरै लाग्छ हामीलाई देशको माया’ जस्ता शब्दले देशप्रतिको मायालाई उजागर गरेको छ।
गीत रेकर्डिङका क्रममा समृद्धिलाई उनका बाबु चक्रपाणिले रेकर्डिङ स्टुडियोमा लगेका थिए। ढुक्क भएर गीत रेकर्ड गर्दा संगीत संयोजक राजु खड्का र डिजिटल काठमाडौंका सञ्चालक डिका गुरुङलगायतका टिम दंग परेका थिए। रेकर्डिङ शुरु भए पश्चात उनको गायन प्रतिभा देखेर आफूहरुलाई आश्चर्य चकित तुल्याएको उनीहरू बताउँछन्।
उनी चितवनको स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्यनरत छिन्। गीत संगीतमा जस्तै पढाईमा पनि उतिकै अब्बल रहेको उनकी आमा बबिता खनालले बताइन्। खनाल आफैमा गीतकार हुन्। उनले रचना गरेको गीतहरू उनका पति चक्रपाणि तिमल्सिनाले लयबद्ध गरि रेकर्ड समेत गरिसकेका छन्। समृद्धिले सानै उमेर देखि परिवारमा संगीतिक माहोल पाएर पनि आफूहरुले अपेक्षा गरेभन्दा उच्च कोटीको प्रतिभा देखाउन सफल भएको तिमल्सिनाले बताए।
प्रकाशित: ३१ श्रावण २०७५ ०७:१० बिहीबार