८ वैशाख २०८१ शनिबार
कला

सुपरस्टारको खोजीमा ऐश्वर्या

मुम्बई – आमा बनेपछि बलिउडमा कमव्याक गरेकी नायिका ऐश्वर्या राय बच्चनका लागि कमव्याक सुखद बन्न सकेको छैन। फिल्ममा कमव्याक गरेपछि उनी अभिनित चार फिल्म रिलिज भए पनि ती फिल्मले दर्शकबाट प्रशंसा र पैसा दुवै बटुल्न सकेनन्।

फिल्म ‘जज्बा’, ‘सरबजीत’, ‘ऐ दिल है मुश्किल’ पछि हालै रिलिज फिल्म ‘फन्ने खान’सम्म आइपुग्दा दर्शकले सम्झने खालको काम ऐश्वर्याले गरेकी छैनन्। रणवीर कपुरसँग अभिनय गरेको फिल्म ‘ऐ दिल है मुश्किल’बाहेक तीन फिल्म बक्स अफिसमा फ्लप हुन्।

ऐश्वर्याले इरफानदेखि राजकुमार रावसम्मका कलाकारसँग फिलममा काम गरे पनि उनीहरूसँगको सहकार्य उनका लागि फलदायी हुने सकेन। फिल्म ‘ऐ दिल है मुश्किल’ मा उनी रणवीरको अपोजिट भए पनि दर्शकले यो जोडीलाई रुचाएनन्।

बलिउड जानकारहरूको बुझाइमा अब ऐश्वर्याको अगाडि दुई विकल्प छन्। पहिलो विकल्पमा उनले राम्रो विषयबस्तुको कथामा नयाँपुस्ताका प्रभावशाली निर्देशकसँग काम गर्ने र दोस्रो विकल्पमा उनले कुनै खान सुपरस्टारको सहारा लिनुपर्ने हुन्छ । अभिनेता सलमान खानसँग चिसिएको सम्बन्धले यी दुईको सहकार्यको सम्भावना नरहे पनि आमिर खान र शाहरुख खान दुईमध्ये एकसँग फिल्म खेल्ने सम्भावना छ। तर यसमा पनि आमिर उत्तम विकल्प हुन्। किनकि यतिबेला भने शाहरुख आफैं हिटका लागि संघर्ष गरिरहेका छन्।

ऐश्वर्याको कमब्याकले बलिउडले एक सुन्दर र प्रतिभाशाली अभिनेत्रीको आगमन भएको आशा राखे पनि फिल्मले उनको सुन्दरता र प्रतिभालाई पुष्टि गर्न सकेनन्।  केहीले उनलाई ऐश्वर्याको ग्ल्यामरस इमेजका कारण उनी आफ्नै बाटोमा अघि बढ्न सक्छिन् भन्ने सुझाव पनि दिन थालेका छन्। उनले पछिल्ला फिल्ममा राम्रो अभिनय गर्ने प्रयास गरे पनि उनी त्यसमा असफल भइन्।

फिल्म ‘जज्जा’ मा उनले अपहरित छोरीको आमाको भूमिका निभाएकी थिइन्। फिल्म ‘सरबजीत’मा आफ्ना भाइलाई पाकिस्तानी जेलबाट छुटाउन संघर्ष गर्ने दिदीको भूमिकामा थिइन्।  फिल्म ‘ऐ दिल है मुश्किल’मा युवाको प्रेममा परेकी डिभोर्सी महिलाको भूमिकामा थिइन्।

जानकारका अनुसार यी सबै भावनात्मक कथामा ऐश्वर्याले आफूलाई दह्राे रुपमा उभ्याउन सकिनन्। फिल्म ‘फन्ने खान’ मा उनले ग्ल्यामरस गायिकाको भूमिका निभाउने प्रयास त गरिन् तर त्यो भूमिका पछाडिको कथालाई राम्रोसँग समात्न नसक्दा यसमा पनि उनी चिप्लिइन् । यो फिल्ममा राजकुमार रावसँग उनको जोडी पनि राम्रो मानिएन।

फिल्म विश्लेषकले ऐश्वर्यालाई अर्की नायिका करिना कपुर खानबाट अभिनयको धेरै कुरा सिक्न सल्लाह दिएका छन्। करिना ग्ल्यामरस र कथात्मक फिल्ममा आफूलाई सन्तुलित रुपमा प्रस्तुत गर्दै आएकी छन्। तर अहिले ऐश्वर्यालाई युवा दर्शकसँग जोडिने खालको इमेजलाई अगाडि बढाउनुपर्ने चुनौती छ।

फिल्म क्षेत्रमा ऐश्वर्यालाई सञ्जयलिला भन्साली जस्ता निर्देशकको खाँचो भएको चर्चा पनि चल्न थालेको छ। सञ्जयले मात्र ऐश्वर्याको सुन्दरतालाई प्रभावकारी ढंगले दर्शकमाझ प्रस्तुत गर्न सक्ने चर्चा बलिउडमा छ। यो अवस्थामा ऐश्वर्याको अनस्क्रिन यात्रा खान या अक्षय कुमार जस्ता स्टारसँग भयो भने उनको करियर उकालो लाग्ने विश्लेषकहरूको बुझाइ छ। ऐश्वर्या पति अभिषेक बच्चनका साथ नयाँ फिल्म ‘गुलाब जामुन’मा देखिँदैछिन्। तर अभिषेकको पनि करियर डामाडोल छ।

प्रकाशित: ३१ श्रावण २०७५ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App