coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

महको नयाँ फिल्म ‘दालभात तरकारी’

काठमाडौं – १७ वर्षपछि ‘शुत्र गते’ मार्फत फिल्म निर्माणमा पुनरागमन गर्दा मह संचारका हरिवंश आचार्यले आइन्दा वर्षेनी एउटा फिल्म गर्ने घोषणा गरेका थिए। आफ्नो सोही भनाइलाई प्रमाणित गर्दै मह संचारले नयाँ फिल्मको घोषणा गरेको छ । ‘दाल भात तरकारी’ शीर्षकमा बन्न लागेको नयाँ फिल्मको बुधबार औपचारिक घोषणा गरिएको छ।

आम मानिस दाल भात र तरकारी खानका लागि गर्ने दैनिक संघर्षलाई विषयबस्तु बनाएर बन्न लागेको फिल्मलाई सुदन केसीले निर्देशन गर्नेछन्। हास्य कलाकार किरण केसीका छोरा सुदनले दुई हलिउड फिल्म  ‘रिमेम्बर मी’ र ‘माई लभ’मा सह–निर्देशकका रुपमा काम गरिसकेका छन्। उनी फिल्म ‘शत्रु गते’का पनि सहायक निर्देशक हुन् । निर्देशक सुदनले आफ्ना लागि ‘दाल भात तरकारी’ अवसर र चुनौती दुवै रहेको बताए। ‘फिल्मले दाल भात तरकारीका लागि गरिने संघर्षलाई देखाउनेछ,’उनले भने,‘यो फिल्म बनाउँदा जिम्मेवारी पनि बढेको छ। म मह सञ्चारको शाख बढाउने किसिमको फिल्म बनाउनेमा ढुक्क छु।’

मह सञ्चारको व्यानरमा निर्माण हुने फिल्ममा किरण केसी प्रस्तुतकर्ता छन्। प्रस्तुतकर्ता किरणले ‘शत्रु गते’मा भएको कमी कमजोरीलाई नयाँ फिल्ममा नदोहो-याउने प्रतिबद्धता व्यक्त गरे। ‘दर्शकलाई स्वादिलो खाना पस्किन हामी कुनै पनि कम्प्रमाइज गर्नेछैनौं,’उनले भने।

फिल्मका कलाकार, गीतकार तथा पटकथाकार हरिवंश आचार्यले निर्देशक सुदनलाई किरणकै छोरा भएको कारण भन्दा पनि प्रतिभा भएको कारणले निर्देशनको जिम्मा दिएको बताए। ‘उनले ‘शत्रु गते’मा सहायक निर्देशकको रुपमा काम गरेका थिए भने हलिउड फिल्ममा पनि काम गरिसकेका छन्। उनमा निर्देशकीय क्षमता देखेर नै हामीले जिम्मेवारी दिएका हौं,’हरिवंशले भने, ‘फिल्म पूर्णतया मनोरञ्जनात्मक हुनेछ। फिल्मलाई हामी नयाँ वर्षको वैशाखमा दर्शक समक्ष ल्याउनेछौ।’

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल, राजाराम पौडेल, शिशिर बाङ्देल, विल्सनविक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीको अभिनय रहनेछ। मंसिर पहिलो साताबाट छायांकन सुरु हुने फिल्म नयाँ वर्षको वैशाख १३ गते रिलिज हुनेछ।

कलाकार मदनकृष्णले फिल्ममा आफूलाई केहि भिन्न भूमिकामा दर्शकले हेर्न पाउने बताए। ‘फिल्मलाई सरल बनाउन टिम प्रयासरत छौ । हाम्रो टिमले दर्शकलाई राम्रो फिल्म दिने कोशिस गर्नेछौ,’उनले भने।

प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सनविक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्माता रहने फिल्ममा हरिवंश आचार्यको कथा, पटकथा र संवाद, शम्भुजित बास्कोटाको संगीत, हरिवंशको गीत, मित्र डि गुरुङको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी र दीर्घ गुरुङको छायांकन हुनेछ।

प्रकाशित: ३१ श्रावण २०७५ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App