coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा उठाइयो २१ लिंगो

भक्तपुर-भक्तपुरका २१ टोलमा मंगलबार बिहान इन्द्रजात्राका मनाउन २१ वटा लिंगो ठड्याइएका छन् । वर्षाका देवता इन्द्रको प्रतीकका रुपमा लिंगो ठड्याएर भक्तपुरवासी एक साता इन्द्रजात्रा मनाउने गर्छन्।
वर्षेनी भाद्र शुक्ल द्वादशीमा सुरु हुने इन्द्रजात्रा (यन्हा पुन्ही) को पहिलो दिन भक्तपुरका टोलटोलमा यसैगरी यम द्य (इन्द्रको प्रतीक लिंगो) उठाइन्छ । करिब २०–३० हात अग्ला यम द्य भक्तपुरका सूर्यमढी, दत्तात्रय, गोल्मढी, सुकुलढोका, चासुखेल, नासमनालगायत २१ टोलका चोकमा ठड्याइएको छ ।
स्थानीयका अनुसार पहिले भक्तपुरका ३२ टोलमा लिंगो ठड्याइन्थ्यो । अहिले भने यम द्य गुठी (समूह)का निस्क्रियताले वर्षेनी लिंगोको संख्या निरन्तर ओरालो लागिरहेको छ । आर्थिक अभावले अहिले लिंगो ठड्याउने क्रम घटेको उनीहरू बताउँछन् ।
यम द्यको दैनिक साँझ पूजाआजा गरिन्छ । साँझ विशेष गरी महिलाले आरतीसहित पूजाआजा गर्छन् । इन्द्रजात्राभर नगरको वातावरण उल्लासमय हुन्छ । स्थानीय कृष्ण प्रजापतिका अनुसार यम द्य ठड्याइएको पाँचौ दिन मुख्य कलाकारलाई नगर परिक्रमा गराउने परम्परा छ । साथै यही दिनहरुमा यामता (दियो लिएर हिँड्ने) घुमाइन्छ । जात्राको अन्तिम तीन दिन नगरका छुट्टाछुट्टै ठाउँबाट दैनिक मुख्य कलाकार र यामता निकालेर नगर परिक्रमा गराइन्छ ।
जात्राको अन्तिम दिन पुलुकिसी (ऐरावत हात्ती) जात्रा हुन्छ । यो इन्द्रजात्राको मुख्य आकर्षण हो । भक्तपुरको बुलुचाबाट पुलुकिसी निकालेर नगर परिक्रमा गराइन्छ । पुलुकिसी हेर्न नगरमा ठूलो भीड लाग्छ ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगका अनुसार य को अर्थ नेपाल भाषामा स्वर्गका राजा इन्द्र हो । यन्हपुन्हीको अर्थ इन्द्रको जात्रा हो । उनका अनुसार परापूर्वकालमा एक दिन स्वर्गलोकका राजा इन्द्र आफ्नी आमाले गर्ने दैनिक पूजाका लागि मत्र्यलोकमा पारिजातको फूल लिन आएका थिए । बगैंचाबाट पारिजात फूल टिप्दा उनी पक्राउ परे । यसरी पक्राउ परेका इन्द्रलाई कसैले नचिनेकाले बाँंधेर राखियो । पछि इन्द्रलाई चिनेर स्थानीयले मुक्तगरेपछि उनी पुलुकिसी (ऐरावत हात्ती) चढेर स्वर्गलोक फर्के । यही कथामा आधारित भएर इन्द्रजात्रा मनाउने परम्परा सुरु भएको ग्वंग बताउँछन् ।
 

प्रकाशित: २९ भाद्र २०७३ ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App