coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इतिहासकै धेरै पदक जित्ने आशा

पत्रकार सम्मेलनमा सदस्यसचिव विष्ट (बीचमा) । तस्बिरः नागरिक

काठमाडौं – इन्डोनेसियामा शनिबार सुरु हुने एसियाली खेलकुद (एसियाड) को १८औं संस्करणमा नेपालले मार्सल आर्टससहित प्याराग्लाइडिङ र स्केटिङमा पदक आशा गरेको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले बताएका छन्। 

इन्डोनेसिया प्रस्थान गर्नुअघि बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै सदस्यसचिव विष्टले विगतका सहभागितामा भन्दा यसपालीको सहभागितामा नेपालको प्रदर्शन राम्रो हुने विश्वास व्यक्त गरे। 

‘विगतका एसियाली खेलकुदमा भन्दा यसपाली खेलाडीले बढि भन्दा बढी समय बन्द प्रशिक्षणमा रहेर अभ्यास गरेका छन् । यही कारणले यो संस्करणमा धेरै भन्दा धेरै पदक ल्याउनेमा म आशावादी छु,’ सदस्यसचिव विष्टले भने, ‘हाम्रो लक्ष्य १३औं दशिक्षण एसियाली खेलकुद (साग)मा राम्रो खेल्दै धेरै भन्दा धेरै पदक नेपालमा नै राख्ने हो । एसियाली खेलकुदलाई हामीले सागको तयारीका रुपमा पनि लिएका छौं । एसियाली खेलकुदको अनुभव सागमा राम्रो प्रदर्शनका लागि उपयोग गर्नुछ।’

सदस्यसचिव विष्टले एसियाली खेलकुदको तयारीदेखि सहभागिता सम्ममा ८ करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छन् । जसमा सरकारले ५ करोड रुपैयाँ उपलब्ध गराइसेको छ भने बाँकी ३ करोड रुपैयाँ सहभागि भएर फर्केपछि प्राप्त हुने विष्टले जानकारी दिए।  

एसियाली खेलकुदका लागि नेपालको तर्फबाट २ सय ८८ सदस्यीय आधिकारिक टिम इन्डोनेसिया जाने राखेपले जनाएको छ ।  यद्यपि यो संख्या ३ सय सम्म पुग्न सक्ने विष्टले थपे। 

इन्डोनेसियाको राजधानी जकार्ता र पालेम्बाङ शहरमा हुने एसियाली खेलकुदमा एसियाका ४५ देशबाट १२ हजारभन्दा बढि खेलाडीले सहभागिता जनाउँदैछन् । नेपालबाट २९ खेलका १ सय ८५ खेलाडीले इन्डोनेसियामा प्रतिस्पर्धा गर्ने आधिकारिक तथ्यांक सदस्यसचिव विष्टले पत्रकार सम्मेलनमा दिए । जसमा पुरुष १ सय २९ र महिला तर्फ ५६ खेलाडीले सहभागिता जनाउँदै छन्।  

नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबल टेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लन टेनिस, सुटिङ, ट्रायथलन, सेपाक ताक्रो, स्पोट्र्स क्लाइम्बिङ र स्केट बोर्डमा सहभागिता जनाउँदै छ । यी खेल मध्ये लन टेनिस, सुटिङ, ट्रायथलन, सेपाक ताक्रो, स्पोट्र्स क्लाइम्बिङ र स्केट बोर्डका खेलहरु पालेम्बाङमा हुनेछन् भने बाँकी जकार्तामा हुनेछन्।

पदक आशा गरिएका खेललाई मध्यनजर गर्दै एसियाली खेलकुदमा सहभागिता जनाउने २९ मध्ये १९ खेललाई वैदेशिक प्रशिक्षणमा पठाएको सदस्यसचिव विष्टले बताए । एसियाडमा सहभागिता जनाउन खेलाडी तथा प्रशिक्षक आफ्नो खेल तालिका अनुसार इन्डोनेसिया प्रस्थान गरिसकेका छन् भने कोही बिहीबार जाँदै छन्। 

दुई संस्करण बाहेक सबै एसियाली खेलकुदमा सहभागिता जनाएको नेपालले हालसम्म १ रजत र २२ कांस्य गरी २३ पदक जितेको छ । नेपालले १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोस्रो संस्करण र १९६२ मा इन्डोनेसियाकै जकार्तामा भएको चौथो संस्करणमा भाग लिएको थिएन । नेपालले हालसम्म तेक्वान्दोबाट १ रजत र १३ कांस्य, बक्सिङबाट ६ कांस्य तथा करातेबाट ३ कांस्य जितेको छ । १९८६ को सोल एसियाली खेलकुदमा नेपालले पहिलो पटक पदक प्राप्त गरेको थियो।

१८ औं एसियाली खेलकुदमा नेपालको उपस्थिति

खेलाडी : १८५

प्रशिक्षक : ४८

व्यवस्थापक : २३

दोभाषे : १

अफिसियल तथा अतिथि : २७

पत्रकार : ४

कुल सहभागि : २८८

प्रकाशित: ३१ श्रावण २०७५ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App