८ वैशाख २०८१ शनिबार
खेल

आयोजककै तयारी फितलो

बाँके – मध्य पश्चिमाञ्चलमा दुई दशक पछि वृहत राष्ट्रिय खेलकुद महोत्सव हुदैछ । घरेलु मैदानमा प्रतियोगिता हुँदा आयोजकलाई सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्नेमात्र नभई राम्रो नतिजा निकाल्ने दबाब पनि अरुको तुलनामा बढि हुन्छ।

घरेलु दर्शकको चाहनाअनुरुप आयोजकले आफ्नो मैदानमा राम्रो नतिजा निकाल्ने प्रयास गरेको हुन्छ । त्यसका लागि लामो समयदेखि खेलाडी, प्रशिक्षक र व्यवस्थापकले मिहिनेत गरेका हुन्छन् । तर आठाैं राष्ट्रिय खेलकुदको आयोजक मध्य पश्चिमाञ्चलले भने अहिलेसम्म प्रशिक्षण सुरु पनि गरेको छैन।

आठौं राष्ट्रिय खेलकुद सुरु हुन १ सय १४ दिनमात्र बाँकी रहँदा समेत तयारीमा देखिएको उदासिनताका कारण आयोजक नै फितलो तयारीका साथ प्रतिस्पर्धामा उत्रिने अवस्थामा छ । दुइ वर्ष अघि धरानमा सातौं संस्करणको समापनमा आठाैं राष्ट्रिय खेलकुद नेपालगन्जमा हुने घोषणा गरिएको थियो।

आठाैं संस्करण आयोजनाको झन्डा बोक्नेवित्तिकै मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति नेतृत्वले तयारी तत्काल सुरु गर्ने घोषणा गरेको थियो । प्रशिक्षणलाई विशेष प्राथमिकता दिएर आठौंमा पदक सख्या बढाउने पदाधिकारीहरुले बताएका थिए । तर उनीहरुले गरेको घोषणा भाषणमै सिमित भयो।

खेलाडीले मैदानमा प्रशिक्षण गर्ने वातावरण पाउन सकेका छैनन् । पदाधिकारीलाई कसरी प्रतियोगिता गराउने भन्ने मात्र ध्यान छ । आयोजकको टिमले कसरी राम्रो नतिजा निकाल्न सक्छ भन्ने बारेमा एक पटक पनि छलफल भएको छैन।

विराटनगरबाट फर्किएपछि क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीको नेतृत्वमा राष्ट्रिय खेलकुदका निम्ति मध्य पश्चिमको तयारी तथा प्रशिक्षण समिति गठन गरिएको थियो । समितिमा क्षेत्रीय खेलकुद विकास समितिको तालिम तथा प्रशिक्षण विभाग प्रमूख जयन्तकुमार शर्मा, प्रशासन प्राविधिक उपनिर्देशक विक्रम थापा, कार्यालय प्रमूख विष्णु शर्मा र लेखा अधिकृत मीन जिसी सदस्य छन । तर समितिले हाल सम्म प्रशिक्षण बारे कुनै योजना सार्वजनिक समेत गरेको छैन।

एथलेटिक्स प्रशिक्षक एवं उप निर्देशक थापाले तयारी सुरु नगर्नुलाई वर्षा र वजेट अभावको कारण देखाए । उनले भने, ‘पछिल्लो दुइ महिना वर्षाले प्रशिक्षण गराउन अप्ठयारो थियो । मार्सल आर्टसका केही खेलाडी व्यक्तिगत तयारीमा छन् । क्षेत्रीय खेलकुदले औपचारिक प्रशिक्षण सुरु गर्न नसकेको मात्र हो । वजेट नहुँदा पनि समस्या भयो । प्रशिक्षणमा ध्यान दिन नसकेको हो । घरेलु मैदानमा वृहत प्रतियोगिता हुँदा स्वभाविक रुपमा हामीलाई धेरै पदक जित्ने दबाब हुन्छ । त्यस अनुसार तयारी एक वर्ष अघि सुरु हुनु पर्ने हो।’

पहिलो पटक २०५५ सालमा मध्य पश्चिमाञ्चलले चौथो राष्ट्रिय खेलकुद आयोजना गर्दा ७ स्वर्ण, १५ रजत र ३२ कांस्य पदक जितेको थियो । त्यसको दश वर्ष पछि काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुदमा ९ स्वर्ण २३ रजत र ४८ कांस्य हासिल गरेको मध्य पश्चिमाञ्चलले धनगढीमा भएको छैटौं संस्करणमा १० स्वर्ण १९ रजत र ६१ कांस्य पदक जितेका थिए । जुन राष्ट्रिय खेलकुदमा अहिले सम्म मध्य पश्चिमाञ्चलले हासिल गरेको उत्कृष्ट नतिजा हो । पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा मध्य पश्चिमाञ्चलले ९ स्वर्ण १५ रजत र ४३ कांस्य पदक जितेको थियो।

तालिम तथा प्रशिक्षण विभाग प्रमूख शर्मा नेपालगन्ज रंगशालामा निर्माण कार्य भैरहेकोले प्रशिक्षण प्रभावित बनेको बताउँछन । ‘इन्डोर प्रशिक्षणमा समस्या होइन । आउट डोर प्रशिक्षणका लागी हामीसँग मैदान अभाव भएर अप्ठयारो परेको छ । प्रशिक्षण सुरु गर्न ढिला भएको छ । अब छिट्टै प्रशिक्षण सुरु गर्ने योजना छ,।’

क्षेत्रीय खेलकुद विकास समितिले बजेट र पूर्वाधार निर्माणमा बढि केन्द्रित भएको बताउँदै आएको छ । तर प्रशिक्षणमा भने चासो नदेखाएको गुनासो गर्दै पाँचौं देीख सातौं राष्ट्रिय खेलकुदसम्म मध्य पश्चिमाञ्चलबाट खेलेका कराते खेलाडी तिरथ राई भन्छन्, ‘खेलाडीले मैदानमा प्रशिक्षण गर्ने वातावरण पाउन सकेका छैनन । पदाधिकारीलाई कसरी प्रतियोगिता गराउने भन्ने मात्र ध्यान छ । आयोजकको टिमले कसरी राम्रो नतिजा निकाल्न सक्छ भन्ने बारेमा एक पटक पनि छलफल भएको छैन।’

प्रकाशित: ३१ श्रावण २०७५ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App