लोकतन्त्रमा नेल–हत्कडीको राजनीति

बिहिबार, ३१ साउन २०७५, ०८ : ४६ हरि रोका

दिमागले कहिलेकाहीँ असाध्यै धेरै बेचैनी महसुस गर्छ । जब आफैँले लडेर ल्याएको व्यवस्थाको सांग्लोमा अनाहक आफैँ दण्डित हुनुपर्दाको क्षणमा जुन अवस्था सृजना हुन्छ, त्यसबेला पीडाबोध झन् बढी दर्दनाक हुन पुग्छ । जनवादी गणतन्त्रका लागि सपरिवार ‘जनयुद्ध’ लडेका तर लोकतान्त्रिक गणतन्त्रमा निर्वाचित सभासद् र मन्त्रीसमेत बनाइएका एक जना प्रतिष्ठित नेपाली नेता कमरेड खड्गबहादुर विश्वकर्माको हातमा हत्कडी देखेपछि मेरो दिमाग भयानक चक्करायो । के उनी खुन गर्दागर्दै, पराईको घर–पसल फोर्दाफोर्दै, कसैमाथि मारपिट वा बलात्कारजन्य जस्ता जघन्य अपराध गर्दागर्दै, पक्डाउ परेका हुन् र हत्कडी लगाउनुप-यो ? भयानक तनाव महसुस भयो । डेरामा आउने २–३ थान पत्रिकामा उनी माथि लेखिएका समाचार टिप्पणी पढेँ, चित्त बुझेन । बाहिर पत्रिका पसल गएर उनका बारेमा छापिएका नयाँ ताजा साप्ताहिक र दैनिक अखबार पढेँ, ‘जघन्य फौजदारी काम–कार्यबाही’मा उनको संलग्नताबारे देखिएन । सारांशमा आरोप ‘७ करोड चन्दा उठाइएको’ भन्ने वाक्यांशभन्दा बढी केही थिएन।

चन्दा र राजनीति
अचम्म लाग्यो । किशोर, युवा हुँदै अधबैँसे उमेर पनि पार लाग्न खोज्दै गरेको यो जिन्दगीले त आजका नयाँ–पुराना सबै पार्टीहरू चन्दा उठाएरै यहाँसम्म आइपुगेको प्रत्यक्ष अप्रत्यक्ष अनुभव सँगालेको छ । राजनीतिक पार्टीहरू प्रतिबन्धमा थिए । सयौँ र कहिलेकाहीँ हजारौँको संख्यामा हिरासत र जेलमा गएका साथीहरूका नाममा हामी आफैँले सहरमा चन्दा उठायौँ । पसलेहरूबाट मात्रै होइन, बाटो हिँड्ने बटुवाहरूका अगाडि बर्को र तन्ना थाप्यौँ । अझ थपौँ आमसभामा भाषण सुन्न आएका मानिसहरूसँग सकेको सहयोग गर्नुस् भनेर आग्रह ग-यौँ । तर त्यसरी उठेको र उठाइएको रकम आफ्नो व्यक्तिगत काममा कहीँकतै खर्च गरिएन । किनकि गर्नुहुन्न भन्ने संस्कार वा तालिम हामीले अग्रजहरूबाटै सिकेका थियौँ । अझ पनि सम्झनाहरू ताजै छन् । हाम्रा अग्रज नेताहरू भन्थे, “राज्यकोषबाट पार्टी खर्च नबेहोरिने मुलुकमा जनताको प्रत्यक्ष चन्दा सहयोग नपाईकन पार्टी कसरी चल्न सक्छ र ? सर्वसाधरणबाट चन्दा नउठाउने पार्टी कसरी जनमुखी, जनउत्तरदायी हुन सक्छ ? चन्दा ‘स्वेच्छिक’ हुनुपर्छ, चन्दा सर्तरहित हुनुपर्र्छ । चन्दा पारदर्शी हुनुपर्छ र सर्तरहित ।” हाम्रा अग्रजबाट हामीले यही सिक्यौँ । प्रस्ट भाषामा भन्नुपर्दा यसको अर्थ चन्दा दिएको सर्तमा राजनीतिक पार्टीको नीति र कार्यक्रम प्रभावित हुनेछैनन् । नीति नियम र करका दरहरू प्रभावित हुनेछैनन् । चन्दा दिएकै आधारमा कसैलाई राज्यको नीति निर्माणमा प्रभाव पार्ने गरी कुनै राजनीतिक नियुक्ति गरिनेछैन । राज्यबाट कसैलाई पुरस्कृत र दण्डित गरिनु हुँदैन आदि।

आज कमरेड बादलको स्वामित्वमा रहेको हत्कडी र नेलकडी अर्को कुनै बहादुरको हातमा पुग्छ नै ।

पार्टी सदस्यले वार्षिक सदस्यता शूल्क (लेबी) बुझाउने र शत–प्रतिशत सो शुल्क केन्द्रमा पठाइने हुन्थ्यो । अञ्चल, जिल्ला, इलाका र गाउँस्तरीय कार्यालय सञ्चालन, अभियानमूलक जिल्लास्तरीय कार्यक्रम, निर्वाचनमा चाहिने मायक ब्याटरी खर्च, जिल्ला स्तरीय अधिवेशन खर्च आ–आफूबाटै आन्तरिक रूपमा सक्नेले, दोस्रो तहमा जिल्लामा रोजगारी भएका सदस्य साथीहरूबाट अतिरिक्त लेबीका रूपमा र अभियानमूलक काम केही भएमा साहु महाजनबाट केही सहयोगको अपेक्षा गरिन्थ्यो र स्वतन्त्र र स्वेच्छिक रूपमा नै लिइने गरिन्थ्यो । यी सबै चन्दाका विभिन्न स्वरूप थिए । यसमा कहीँ कसैको स्वार्थ थिएन । पार्टी पटक पटक सत्तामा जाँदा पनि चन्दादाताले सहयोगबापत अतिरिक्त लाभ लिन खोजेनन्, मागेनन् । एमाले पार्टी इन्चार्ज र जिल्ला सचिवको हैसियतले खोटाङ जस्तो विकट जिल्लामा एक दशक बिताएको मैले कहिले यस्तो गरिदेऊ र उस्तो गरिदेऊ भन्ने व्यक्तिगत दबाब महसुस गर्नु परेन । पुल, बाटो–घाटो, बैंकिङ सुविधा, कलेज, विद्यालय, खेलकुद, स्वास्थ्यालय जस्ता सामाजिक आवश्यकताका लागि  केही गर भन्नु अस्वाभाविक थिएन र होइन । ती सबै सामाजिक हक अधिकारसँग सम्बन्धित विषय हुन् । कतिपय विषयमा आवाजले केन्द्रीय महत्व पाए कतिपयमा नेतृत्वको चित्त बुझाउन सकिएन । किनकि समानुपातिक र सहभागितामूलक योजनबद्ध सामाजिक विकासका सन्दर्भमा मुलुकको नतृत्व तहमा कहिले पनि सुस्पष्ट विचार प्रस्फुटित भएको देखिएन।

राजनीतिमा हत्कडी
पञ्चायत निरंकुश एकदलीय तानाशाही व्यवस्था थियो । अर्को शब्दमा पञ्चायतका नाममा राजतन्त्रको स्वेच्छाचारी शासन थियो त्यो । ३० र ४० को दशकमा म आफैँ राजकाज अपराध ऐनअन्र्तगत तीन पटक र सार्वजनिक सुरक्षाअन्तर्गत तीन पटक गरी सात वर्ष नौ महिना जेल व्यतित गरेँ । ३४ देखि ४६ सालको १२ वर्षमा झन्डै २ सय पटक पक्डाउ पर्दा झन्डै सय पटक कुटाइ खाएँ होला । ९ महिना नरकतुल्य हिरासत वा खोरमा बास बस्न बाध्य तुल्याइयो । एकपटक जेलबाट अस्पताल जाँदा हत्कडी लगाउन खोजियो मैले प्रतिकार गर्दै जेलरलाई भने, “म राजनीतिक कार्यकर्ता हुँ, चोर, ज्यानमारा होइन । म मेरो राजनीतिक आस्थाको कारणले यो जेलमा परेको हुँ । म खुला राजनीतिबाट आएको हुँ । जेलमै राखिँदा पनि औषधी उपचार पाउने मेरो वैधानिक हक छ । मैले भाग्नुपर्ने कुनै काम गरेको छैन, पञ्चायतलाई राजनीतिक व्यवस्था नमान्ने मेरो घोषणा जारी रहेकाले म यहाँ छु । उपचार गर्न लैजान्नौ भने र तलमाथि केही भएमा तिमी जिम्मेवार हुनेछौ ।” यो सानो प्रतिकाररूपी प्रवचनपछि अस्पताल हत्कडी नलगाई लगियो । उपचारका क्रममा पनि बेडमा हत्कडी लगाउन खोज्दा मैले प्रतिकार नै गरेँ । पञ्चायतको पछिल्ला दिनमा पनि हत्कडी लगाउने दुष्प्रयत्न कुनै पनि प्रशासकले गरेनन् । राजनीतिको पहिलो दुई दशक यसरी नै बिते।

हत्कडीको एउटा नमीठो प्रसंग प्रजातान्त्रिक पद्धतिसँगै जोडिएर मेरो जीवनमा आयो । त्यो २०४८ सालकोे साउन १५ मा घटित घटनासँग सम्बन्धित छ । पहिलो आमनिर्वाचन मार्फत गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र शेरबहादुर देउवा गृहमन्त्रीमा आसिन थिए । त्यो १५ गते खोटाङ र अर्घाखाँचीमा दुईजना किशोर मारिए । खोटाङमा मनोज जोशीको हत्या मेरै सामुन्ने भएको थियो । खेत रोपी सिध्याएर बारीमा कोदो रोप्ने काम असरल्ल छोडेर म दुई दिन अघि मात्र सदरमुकाम दिक्तेल आइपुगेको थिएँ । प्रत्येक महिनाको १५ गते हाम्रो जिल्ला कमिटीको बैठक बस्ने गथ्र्यो । २–४ जना साथीबाहेक कोही आइपुगेका थिएनन् । हामी कोही पनि होलटाइमर थिएनौँ । त्यतिबेला १९ जनाको हाम्रो जिल्ला कमिटी थियो । म त्यतिबेला पार्टीको इन्चार्ज थिएँ तर सचिव कामरेडको अलिखित भूमिका पनि मेरै थियो।

जब आफैँले लडेर ल्याएको व्यवस्थाको सांग्लोमा अनाहक आफैँ दण्डित हुनुपर्दाको क्षणमा जुन अवस्था सृजना हुन्छ, त्यसबेला पीडाबोध झन् बढी दर्दनाक हुन पुग्छ।

१५ गते बिहानै दिक्तेल सिरानमा रहेको दिक्तेल सामुदायिक बहुमुखी क्याम्पस विद्यार्थी युनियनले आफ्ना थुनुवा साथी छोडिदे भनेर जुलुस निकालेछ । क्याम्पस युनियन अखिलको नेतृत्वमा थियो । म पार्टी इन्चार्ज भए पनि कर्मचारीसमेत रहेका विद्यार्थीहरू पक्डाउ परेको विरोधमा निकालिएको जुलुसबारे जानकारी थिएन । देशभर कर्मचारी आन्दोलित थिए । सरकार मुख्य प्रतिपक्षीले कर्मचारी उक्साएको आरोप लगाइरहेको थियो । जुलुस अपेक्षाकृत सानो र औपचारिक विरोधका लागि थियो । जुलुसपछिको कार्यक्रम सिडिओलाई ‘पक्डाउ परेका कर्मचारी–विद्यार्थी छोड्न’ ज्ञापनपत्र दिने थियो । ज्ञापन लेख्दालेख्दै मेरै अगाडि गोली चल्यो र लेखेको हेरिरहेका मनोज जोशी मारिए । घटना यत्ति थियो । जसले केहीबेर पछि भयानक रूप लिन सक्थ्यो । यत्ति मात्र भनौँ, हामी कार्यकर्ताहरू अत्यधिक खटेर, जिम्मेवार भएर सदरमुकामलाई जल्नबाट, आततायी हिंसात्मक घटना हुनबाट बचायौँ । अल्पशिक्षित र अशिक्षित उत्तेजित मासलाई शान्त पार्न गरिने एउटा सानो उपाय पटाक्षेप हुन नपाउँदै फेरि गोली चलाइयो र कर्पm्यू लगाइयो । भागाभाग हुनु अस्वाभाविक थिएन । नजिकका चौकीहरूबाट प्रहरी थपिएपछि यो खेल खेलिएछ । माहौल अलि शान्त भएपछि सदरमुकामसँग जोडिएकै गाउँमा आएका प्रहरीसमक्ष हामी स्वेच्छाले उपस्थित भयौँ । प्रहरीले पक्डाउपुर्जी थमायो र उनीहरू सँगै सदरमुकाम फर्कियौँ । थाना पुगुन्जेलसम्म पनि हत्कडी लगाइएको थिएन । तर हिरासतमा थुन्ने बेलामा डिएसपीको आदेश भनेर एउटा हत्कडीमा दुईजनाका दुई हात जोडिदिए । मैले विरोध गरेँ । तर सुनुवाइ भएन।

दुई दिनपछि थानामै सरकारी वकिल लिएर सिडिओ आए । मैले कडा शब्दमा हत्कडी लगाएकामा विरोध गरेँ । प्रशासनले म माथि ३९ वटा सार्वजनिक मुद्दा दायर ग¥यो । अरू साथीहरूलाई क्रमशः कम, कम । उमेरले सिडिओभन्दा कम भए पनि दुई विषयमा उत्कृष्ट नम्बरसहित पोस्ट ग्रयाजुयसन गरेको थिएँ । पञ्चायत विरोधी प्रजातन्त्र प्राप्तिको संघर्षमा लामो समय जेलनेल भोेगेको थिएँ । व्यक्तिगत रूपमा म बहुलवादमा विश्वास गर्थेँ र अझै पनि गर्छु । पार्टीहरूबीच सैद्धान्तिक, वैचारिक तथा कार्यक्रमिक भिन्नता हुन्छन् तर पनि एक प्रकारको राजनीतिक सम्बन्ध, समन्वय, सौहार्दता र शिष्टाचार पालन गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । राजनीतिमा स्वस्थ प्रतिस्पर्धाका लागि सीमा तय गरिनुपर्छ, छलफल र बहस आन्तरिक र बाह्य राजनीतिको मियो बन्नुपर्छ भन्ने सिकेको थिएँ । वास्तवमा कांग्रेसकै शीर्षहरूबाट जेलमा मैले यी कुरा सिक्ने अवसर पाएको थिएँ । जिल्ला कमिटीका मेरा अधिकांश साथीहरू राजनीतिको यो विशिष्ट मान्यताभन्दा बाहिर थिएनन् । पढेलेखेको मान्छे स्थानीय राजनीतिमा नहुँदा हुने प्रशासनिक हेलचक्र्याइँ र असहजता सबैलाई बिझेको विषय थियो । थुनामा बस्दा सिडिओसँग राजनीतिक शिष्टाचार सम्बन्धमा लामो बहस भयो तर उनले बुझे पनि निर्वाह गरेनन् । मानवअधिकारवादी संस्था इन्सेकका इन्चार्ज सुशील प्याकुरेल दिक्तेल पुगेपछि, ३६औँ दिनमा उहाँको रोहवरमा हामी हत्कडी मुक्त भयौँ । ३९ औँ दिनमा हिरासतबाट मुक्त । मैले छुटेको दिन भयानक पीडा महसुस गरे।

लयालु होटलको एउटा कोठामा एक्लै धुमधुम्ती बसेर मैले आफ्नो जीवनको राजनीतिक घटनाबारे समीक्षा गर्दै रात कटाएँ । प्रजातन्त्र प्राप्तिका लागि आफ्ना सारा संघर्ष, त्यसमाथिको आत्मगौरव, समग्र समाजका नाममा भोगेका कठिन दिनहरूको एकपछि अर्को घटनाहरू केलाएँ । अनि आफैँलाई प्रश्न गरेँ, यस्तै कथित ‘प्रजातन्त्र’का लागि मेरो संघर्ष थियो त ? १७ देखि ४७ सम्म अप्ठ्यारो भोगेका प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र ९ वर्ष जेल व्यतीत गरेका शेरबहादुर देउवा प्रमुख विपक्षमा उभिएका वामपन्थी पार्टीविरुद्ध भयंकर असहिष्णु देखिएका थिए । हजारौँ विपक्षीहरू या थुनामा थिए या झुटा मुद्दाको झमेलामा फसाइएका थिए । कांग्रेसमा प्रजातान्त्रिक पार्टीको संस्कार एक रती देखिएको थिएन । गिरीजा प्रधानमन्त्री भएपछि सत्ताको अहंकार अकासिएको थियो । राज्यको ढुकटी तथा बाहुबलका आडमा उनी दलभित्र र बाहिर निरंकुश हुँदै गइरहेका थिए।

बिपीको प्रजातान्त्रिक समाजवादी कांग्रेस हेर्दाहेर्दै घोर तानाशाही, विपक्षीप्रति असहिष्णु, भ्रष्ट चरित्रसहित पुँजीवादी बन्दै गयोे । नवउदारवादी बजारलाई आत्मसात् गरेपछि भयानक व्यक्तिवादी अहंकार व्याप्त भयो । अनेकन् कारणमध्ये कांग्रेसी अहंकार र असहिष्णुताले पनि माओवादी जनयुद्ध विस्तार हुने अवस्था बन्यो । निकट विगतको चुनावी आमसभामा “कम्युनिस्टको शासन आएपछि रुन पनि पाइन्न” भन्ने देउवाको भनाइमा मेरो मनले आफैँलाई व्यक्त गरेको सन्देश थियो, “तिम्रो शासनकालमा प्रतिपक्षमा बसेकाले मात्र होइन कुन नागरिकले शान्ति, अमनचैन, भष्ट्राचारविहीनता, नातावाद, क्षेत्रवाद, नश्लवादरहित प्रजातान्त्रिक समाजको सुगन्ध महसुस गर्ने वातावरण दियौ ? अनि कहिले पो हाँस्ने मौका दियौ मिस्टर देउवा ? हाम्रो सम्झनामा त्यस्ता दिन त कहिले आएनन्।”

लोकतान्त्रिक गणतन्त्रमा हत्कडी
कामरेड खड्गबहादुर विश्वकर्माको आफ्नै राजनीति होला । सर्वसाधारण नागरिकलाई भन्दा गृहमन्त्री रामबहादुर थापालाई नै उनको राजनीतिबारे बढी जानकारी होला । दशकौँ एउटै पार्टीमा बिताएका उनीहरू भर्खरै छुट्टिएका हुन् । आपसी सम्बन्ध गुरु चेलाको पनि हुनसक्छ । मेरो जानकारीमा आएअनुसार विश्वकर्मा कर्णालीका सिनियर जनयोद्धा थिए । उनका सहोदर दुइ भाइले प्रचण्ड नेतृत्वको ‘जनयुद्ध’मा सहादत प्राप्त गरेका थिए । प्रभावशाली नेता भएकैले जिल्लाबाट ठूलो मार्जिनसहित सभासद् निर्वाचित भएर दुईदुई पटक मन्त्री बनाइएका थिए । केही वर्षअघि मात्रैको कुरा हो, माओवादी फुट्यो वैद्य–बादलकै टिममा खड्गबहादुर होमिए । कुन्नि के मिलेन र, बादल प्रचण्डमा समाहित भए खड्गबहादुर विप्लवसँग । बादलसहितका प्रचण्डले एमालेसँग सहकार्य गरेर निर्वाचन लडे जिते र पार्टी एकतासँगै गृहमन्त्री छन्, शक्तिमा छन् । जनयुद्धका उनका एक सहयात्री विश्वकर्मा हिरासतमा हत्कडीमा उनिएका छन् । राजनीतिमा त्यस्तो हुन्छ । राजनीतिमा लागेपछि जेल, प्रवास कुनै नौलो कुरा होइन । खतरा बेगरको राजनीतिमा दम हुन्न भनिन्छ । राजनीतिमा बाउले छोरालाई र छोराले बाउलाई जेल हालेका अनेकन् उदाहरण छन् । सत्ता र शक्तिका बलमा वर्षौं वर्ष जेल राख्न सकिन्छ । जस्तो हाम्रा बहालवाला प्रधानमन्त्री खड्गप्रसाद ओली झापाकाण्डका साथीहरूसहित बस्नु भएको थियो । राजनीतिलाई हेर्ने दृष्टिकोण वर्गीय हुन्छ । एकथरीका लागि कुनै समूह र व्यक्ति प्रजातान्त्रिक, मुक्तिदाता (लिबरेटर) ठानिन्छन् र अर्काथरीका लागि त्यही शक्ति आततायी, ध्वंसात्मक र आतंककारी लाग्छन् । तर सत्तामा रहँदा विपक्षीसँग कस्तो राजनीतिक व्यवहार गर्ने भन्ने कुराले लामो समयसम्मका लागि राजनीतिमा कस्तो संस्कार र संस्कृतिको निर्माण गर्ने भन्ने भर पर्छ।

पहिलो भियतनाम युद्ध (फ्रेन्च उपनिवेश विरुद्धको मुक्ति आन्दोलन) पछि भारत भ्रमणमा आएका राष्ट्रपति हो चि मिन्हलाई एउटा पत्रकारले सोध्यो, “तपाईं मृदुभाषी, सरल, शालीन हुनुहुन्छ किन गान्धीले जस्तो अहिंसात्मक आन्दोलनको सट्टा हतियारबन्द आन्दोलनमा होमिनुभयो ?” उनको एक वाक्यमा उत्तर थियो,  “विपक्षमा को छ भन्ने कुराले आन्दोलनको स्वरूप निर्धारण हुन्छ ।” कुरा राजनीतिक संस्कारको हो।

पञ्चायतमा प्रधानमन्त्री भइसकेका व्यक्तिहरू, सभामुख र मन्त्री भएका व्यक्तिहरू पटक पटक जेल बसे, ओहदाअनुसार विशिष्टता पहिचान गरेर तानाशाही भनिएको पञ्चायतमा पनि व्यवहार गरेको देखियो । कामरेड खड्गबहादुर विश्वकर्मा संविधानसभाको पूर्वमाननीय, पूर्वमन्त्री हुन् । बहाल भएको यो “लोकतान्त्रिक गणतन्त्र” बहालीमा उनको आफ्नो क्षेत्रबाटै ठूलै योगदान भएकैले उनको तत्कालीन पार्टीले सार्वजनिक व्यक्तित्वका रूपमा नेपाली समाजमा स्थापित ग¥यो । उनी  विप्लवका दाहिने हात मात्र होइनन्, नेपाली समाजले पत्याएका राजनीतिक सार्वजनिक व्यक्तित्व पनि हुन् । उनको हातमा ‘हत्कडी’ कुन राजनीतिक संस्कार बसाल्न लगाइयो ? थाहा भएन।

हामी सबैलाई थाह छ, स्थिरताको खोजी गर्दागर्दै हामी स्थिरताभन्दा निकै टाढा छौँ । सरकारको असल नियत नै होला, यद्यपि जनताको अपेक्षाअनुसार ‘डेलिभरी’ हुन सकिरहेको देखिन्न । अंश–अंशमा हेर्न नजानेर वा समष्टिमा योजना बनाउन नसकेर वा भएकालाई संस्थागत गर्न नजानेर वा नयाँ संस्था स्थापित गर्न नसकेर राज्यका कुनै पनि अंगले चाहे जस्तो उडान भर्न सकेका छैनन् । गाउँ देहात र सहरमा असन्तुष्टि चुलिँदो छ  । हिउँदको कुनै दिन सडकमा यो असन्तुष्टि पोखिन सक्छ । लाग्छ चक्र आवश्यकता भन्दा चाँडो घुम्दैछ । यो घुम्ने चक्रमा अहिले दाहिने देखिएका छिमेकी कुनै दिन देब्रे कोणमा देखापरे भने अस्थिरता तत्काल निम्तिन सक्छ । विगतमाझैँ सत्तामा रहेकाहरू बाहिर र काकतालीले बाहिर रहेकाहरू सत्तामा पुग्न सक्छन् । आज कमरेड बादलको स्वामित्वमा रहेको हत्कडी र नेलकडी अर्को कुनै बहादुरको हातमा पुग्न सक्छ । कुरा कस्तो राजनीतिक संस्कार र संस्कृति हुर्काउने भन्ने हो ? किनकि बहुदलीय व्यवस्थामा प्रतिपक्ष त अनिवार्य रूपमा फेरिइरहन्छन्।








यसमा तपाईको मत

अन्य समाचार

पल्सर डेयर भेन्चरले भोलि रंगशाला  सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि रंगशाला सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...

लिखु–एको भूमिगत काम सम्पन्न

लिखु–एको भूमिगत काम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...

मेडिकल एन्ड ल्याब एक्सपो हुने

मेडिकल एन्ड ल्याब एक्सपो हुने

इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad