८ वैशाख २०८१ शनिबार
विचार

सच्चा क्रान्तिकारी, अमूल्य ‘निधि’

सामान्य ठानिएको असामान्य क्रान्तिकारीको मृत्युपछि उसले समाजमा रहेको रूढिवादी व्यवहार बदल्न चालेका सशक्त कदमहरू धमाधम बाहिर आउन थालेका छन् । ऊ ढोंग र पाखण्डविरुद्ध आइकन थियो।

कर्तव्य निर्वाह गरेर मृत्युवरण गर्न पाएकाले हुुनुपर्छ, मृत्युपछि पनि सुखको अनुभूति उसको मुहारमा झल्किरहेको थियो ! अरू समयमा नदेखिने सन्तुष्टि मृत्युपछि उसको अनुहारमा देखिइरहेको छ। अठार वर्षदेखि मिर्गाैला लिएर संघर्ष गरिरहेको दाहाल यज्ञनिधिको जीवनले गएको शुक्रबार सधैँका लागि ‘जदौ’ भनेर नै विश्राम लिएको छ।

पूर्वी नेपालको खोटाङ जिल्लामा जन्मिएर काठमाडौँस्थित तीनधारा पाठशालामा संस्कृत पढ्न आएको एउटा निम्छरो ब्राह्मणले जिभ्रो काढ्नुपर्ने र शरीरभरि काँडा उमार्ने प्रभाव देशभर छोडेर बिदा भएको छ।

एकदमै सामान्य लाग्ने असामान्य व्यक्ति थिए, दाहाल यज्ञनिधि। प्रायः सडकमा मुखमा मास्क लगाएर हिँडिरहेको देखिने दाहालको मृत्युमा न कसैले रुनुप¥यो न त कसैले मुखमा दागबत्ती नै दिनुप-यो।  आफूलाई कम्युनिस्ट, समाजवादी र प्रजातन्त्रवादी भन्नेहरू ढलमती बनेकी बागमतीको झोल मुखमा पारेर आर्यघाटमा जलेपछि स्वर्गको आश गरि नै रहेका छन् तर दाहाल यज्ञनिधिले जीवित छँदै उद्घोष गरेका थिए– मलाई नालीको दुर्गन्धले असहज हुने घाटको चितामा घोचीघोची नजलाउनु। मेरो लासलाई त टिचिङ अस्पतालमा चिकित्सा विज्ञान पढिरहेका विद्यार्थीहरूलाई अध्ययन गर्न दिनु।

दाहाल यज्ञनिधि धेरै वर्षदेखि भनिरहन्थे, मेरो सम्मान दागबत्ती दिएर घाटेहरूलाई हरियो बाँस घोच्न लगाउँदै पोलेर होइन, मानव शरीरका रहस्यहरू पत्ता लगाएर मानवकै आयु लम्ब्याउन र स्वस्थ रहने उपायको खोजीमा अध्ययन र ध्याउन्नमा तपस्यारत चिकित्साशास्त्रका विद्यार्थीहरूलाई सघाउन पाएँ भने मेरो सफलता ठान्छु म। त्यसैले हे मेरा शुभचिन्तक र आफन्तहरू हो, मलाई मसानघाटमा जलाएर खरानी बनाउने होइन, अस्पतालमा राखेर अध्ययन अनुसन्धान गर्न सहयोग गर है!

आफ्नो मृत शरीर पनि चिकित्सा विज्ञानका विद्यार्थीहरूका लागि अध्ययन सामग्री बनोस्। यसो गर्छु भनेर म जीवित छँदै वचन दियाैँ भने खुसी मात्र होइन, प्रफुल्ल नै हुनेछु र मरेपछि पनि चरम आनन्द महसुस गरिरहनेछु, उनी दोहो-याइरहन्थे!

दाहाल यज्ञनिधिले आफू मरेपछि अबीर, फूल–माला नचढाउने उर्दी जीवित छँदै जारी गरेका थिए । तर पत्नीसँग अनुरोध गरेका थिए, तिमीले मेरो मृत्युपछि सिन्दुर नपखाल्नु, पोते नचुँडाल्नु। त्यसै अनुसार उनकी पत्नी सुधाले यज्ञनिधिको शरीर स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलको रोहवरमा त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण गरिन्।

शरीर हस्तान्तरण मात्र होइन, करिब पचास वर्षको दाम्पत्य जीवनमा पतिको निधन हुँदा उनी कंकलास्वर निकालेर न रोइन, न त आँसु नै बगाइन । मन त भक्कानिने नै भयो तर रुवाइको आवाज उनले मुखबाट निकालिनन्। जीवनसाथीका आग्रहलाई सम्मान गरिन्। त्यसैले दाहाल यज्ञनिधिको निधनमा कसैले पनि रोएर, होहल्ला गरेर, तडकभडकपूर्ण पैसा उडाएर उनको परलोकको यात्रालाई अवरोध पु-याउन पाएन।

तडक–भडकपूर्ण जन्म–मृत्यु संस्कारलाई इन्कार गरेर यज्ञनिधिले समाज सुधारकका रूपमा के चाहेका रहेछन् ? उनकी पत्नी सुधाले पालना गरेर साबित गरेकी छन्।

दाहाल यज्ञनिधिसँग घनिष्ट सम्बन्ध रहेका सामुदायिक एफएम रेडियो क्षेत्रका पत्रकार रघु मैनालीको विचारमा दाहालले परम्परागत ढर्रामा चलिरहेको त्यसबेलाको रेडियो नेपालमा नयाँ क्रान्ति नै ल्याए । रेडियो भाषाको क्षेत्रमा नयाँ ढोका खोल्ने जस उनलाई नै जान्छ । उनी नेपालको एकमात्र रेडियो, रेडियो नेपालका सफल प्रस्तोता मात्र होइनन्, उनले रेडियोमा चलिरहेको कुलीन भाषाको सट्टा जनजिब्रोको मीठो भाषालाई प्रस्तुत गरेर नयाँ ब्रेक थ्रु नै गरे । रेडियोको क्लिष्ट प्रस्तुतिलाई सलल बग्ने र सुनौँ सुनौँ पारे।

दाहालले नेपालको साहित्य समालोचनामा पनि धेरै ठूलो योगदान दिए । चलनचल्तीको कोठे समालोचनाको क्षेत्रभित्र जनताको जबर्जस्त दृष्टिकोण प्रस्तुत गरे । नेपाली जनजिब्रोको विम्ब, टुक्का र दृष्टान्तलाई यस्तो जीवन्त रूपमा प्रयोगमा ल्याए, पढ्ने र सुन्नेहरूले जिब्रो फड्कारी फड्कारी स्वाद लिए । नेपाली साहित्य लेखनमा डाँडापाखा, घाँसदाउरा, गोठालो जाँदा र मेलापात गर्दाका विम्बहरू समातेर निख्खरपन ल्याए । नेपाली भाषा यज्ञनिधिको ऋणी बन्न पुगेको छ।

यज्ञनिधि दरबार हाइस्कुलमा नेपाली पढाउने शिक्षक थिए । विद्यार्थीहरूसँग सधैँ घुलमिल हुन्थे । उनका सन्तान थिएनन्, त्यसैले सन्तानको माया पनि विद्यार्थीहरूमाथि नै खर्चिइरहे । नेपाली भाषामा तिनलाई अब्बल बनाउन दिलोज्यानले लागिरहे । उनका विद्यार्थी कोही फेल हुँदैनथे । धेरैले उच्च अंक ल्याउँथे । विद्यार्थीलाई घोकेर पढाउनुलाई अपराध भन्थे । कहिल्यै विद्यार्थीलाई घोकाउन दिएनन् । उनको विचारमा घोकाउनु अपराध थियो । हाकाहाकी भन्थे, मास्टर अल्छी भएकाले घोकाएका हुन् । नालायक मास्टरले घोकाएरै प्रतिभावान् विद्यार्थीहरूलाई लडाए।

सामाजिक जीवनमा दाहाल भिन्नै खालका मानिस थिए । यिनी रूढिवादी संस्कारका घोर विरोधी थिए । सामाजिक व्यवहारहरूमा खर्चिला बिहे, व्रतबन्ध, काजकिरिया, मूर्तिपूजा र बिरालो बाँधेर सराद्धे गर्नुलाई बकवास भन्थे । देखावटी क्रियाकलापमाथि उनी झम्टिन्थे। उनी कुरीतिका कतिसम्म आलोचक थिए भने आफूलाई मन नपरेको कुरा अरूलाई पनि नमान भन्ने दबाब दिन्थे । खह्रो रूपमा उत्रि नै हाल्थे। सत्तोसराप गर्थे । जो उनका मान्यताको विरोध गथ्र्याे उसको सार्वजनिक रूपमै खेदो खन्थे । त्यसैले यिनको कोपभाजनमा परेका नामहरू थोरै छैनन्।

कतिपयले दाहाललाई हिन्दू धर्म–संस्कृतिका विरोधी हुन् भनेर दोषारोपण पनि गर्थे तर उनी भन्थे, म पूर्वीय ज्ञान, सम्पदा, संस्कृतिको विरोधी होइन । हाम्रो संस्कृतिका धेरै कुरा फैलाउनैपर्छ तर कर्मकाण्डी पाखण्डलाई त म मेरो छेउमा पनि ढिम्किन दिन्न । दलित भनेर आफ्नै सन्तानलाई छुवाछूत र विभेद गर्ने कुरा मैले कसरी सहने ? कुकुर जान पाउने ठाउँमा मानिसलाई रोक्ने ? विभेदकारीविरुद्ध उनी अरिंगालको गोलो बनेर खनिन्थे । डलर पचाएर छाउपडीको विरोध गर्ने तर आफ्नै घरमा छुवाछूत गर्ने, मानवले मानवलाई घरभित्र प्रवेश गर्न नदिने, पैसाको तुजुक देखाएर मानवीय अपमान गर्नेहरू सधैँ दाहालको लिस्टमा रहिरहे।

दाहालको राजनीतिक विचारबारे रघु मैनालीले हाँस्दै भने, धेरैलाई यज्ञनिधिजी खाँट्टी कांग्रेसी हुन् भन्ने परेको छ । तर मैले मेरो लामो संगतमा के थाहा पाएँ भने यिनी बीपी कोइरालावादी हुन् तर कांग्रेसका अन्ध समर्थक होइनन् । गलत कार्यलाई कांग्रेसका हुन् कि कम्युनिस्टका यिनले धुवाँ निक्लने गरी विरोध गरिरहे । त्यसैले यिनको रेडियो कार्यक्रमलाई गिरिजाप्रसादको शासनकालमा बन्द नै गरियो । यी गिरिजाप्रसादका क्रियाकलापलाई जनविरोधी भनेर सत्तोसराप गर्थे।

यज्ञनिधिलाई सांगोपांगो रूपमा भन्दा पनि केस्राकेस्रा पारेर यिनको व्यक्तिगत जीवन, आचरण–व्यवहार, परिवार, भाषा–साहित्य, सामाजिक सक्रियता, वनस्पति प्रेम, रेडियो क्षेत्रका कार्य, स्थानीय भाषा संस्कृति गरेर पाँच सात कोणबाट हेर्ने हो भने दाहाल यज्ञनिधि शारीरिक रूपमा मात्र अग्लो होइनन्, योगदानका हिसाबले त्यसभन्दा झन् अग्लो व्यक्तित्वका रूपमा देखापर्छन्।

उनी गलाको कौशल र संस्कृत पढेकाले अगाडि आएका मात्र हुन् भन्नेहरूले के बुझ्नु जरुरी छ भने आफ्नो गलाको सामथ्र्य थाहा पाएर मात्र यिनी चम्किएका होइनन् । त्यसलाई स्थापित गर्न कति अथक परिश्रम गरे धेरैले अझै थाहा पाउन सकेका छैनन् । भारतीय गायक किशोर कुमारको गीत र उनको स्वरमा रहेको जादुबाट प्रभावित नहुने कोही छैन । तर किशोरले त्यो स्वरको जादुगरीलाई प्रभावकारी बनाउन गरेको तपस्या जसरी प्रायः भारतीयहरूले थाहै पाएनन्, त्यसबारे किशोरको कृति प्रकाशित भएपछि मात्र आममानिसले थाहा पाए । किशोर आफ्नो स्वरलाई तिखार्न चिसो पानीमा घण्टौँ घण्टा डुबेर रियाज गर्ने रहेछन् । त्यसैगरी यज्ञनिधिको जदौ रियाज र मैझारोको खोजीबारे धेरैजसो अनभिज्ञ नै रहेका देखिन्छन् । वेद पढ्दैमा त्यो लय मिलाएर पाठ गर्न सकिँदैन । त्यसका लागि सीप र स्वर मिलाएर साधना गर्नुपर्छ । त्यसैगरी यज्ञनिधिले हरेक कार्यक्रमका लागि गरेको रियाज धेरैलाई थाहै छैन । जुन बोलीमा उनी गहिरा विषयवस्तु पस्कन्थे त्यसका लागि उनको रियाज लरतरो थिएन।

यज्ञनिधिको समय विशेष थियो । प्रथम निर्वाचित सरकारलाई राजाले अपदस्थ गरी नेता र स्वयं प्रधानमन्त्री, मन्त्री र सभामुखहरूलाई मात्र होइन, प्रतिपक्षी दलका नेताहरूलाई समेत कालकोठरीमा कोचेका थिए । संगठित पार्टीहरू तितरबितर भएर विदेशमा शरण लिन समेत पुगेका थिए । त्यो मुर्दा शान्तिको बेलामा तीनधारा पाठशालामा पूर्वी नेपालको खोटाङ जिल्लाबाट पढ्न आएको निम्छरो ब्राह्मण परिवारको एउटा वटुकले जे देख्यो, साथीभाइ सँगातीसँग जे विचार आदान प्रदान ग-यो, आफूलाई सचेत बनायो । उसले राजनीतिक विरोधीहरूले भन्दा भिन्नै माध्यम र तरिकाबाट जनताका कुरा जनतासमक्ष राख्ने मौलिक बाटो पहिल्यायो।

त्यतिखेर वामपन्थीहरू गाउँगाउँमा संगठन गरिरहँदा नेपाली कांग्रेस हतियार उठाउन लाग्यो, हवाई जहाज अपहरणसम्म गरेर पैसा लुट्दैथियो । वामयुवाहरू गाउँ गाउँबाट उठ...गीत गाइरहेका थिए । यस्तो बेलामा ओखलढुंगाको कांग्रेस विद्रोह र त्यहाँ भएको दमन देखे–सुनेका यज्ञनिधि दाहाल सत्ताले चलाएको रेडियो नेपालमा साहित्यिक कार्यक्रम सञ्चालन गर्न पुग्यो । त्यो अवसरलाई लोकभाषाका माध्यम अँगालेर मौलिक रूपमा प्रस्तुत भयो । साहित्यमार्फत देशमा पुनर्जागरण ल्याउन लाग्यो।

जनताको पक्षका भावना, धारणा र उठेका कुराहरूलाई कथा, कविता, गीत, कहावत, उखान, टुक्का, सामाजिक विभेदका विषयहरूलाई  ‘जदौ’ भनेर पस्कन थाल्यो । जदौ, विभेद गरिएका अछूतहरूले सामन्त र ठूलाबढाहरूलाई गर्ने सम्बोधन थियो। उनी भारदार र चाकरीबाजलाई लखेटिरहे । बक्स्योस् वा स्योस्का त यिनी छाला तर्दै युवा पुस्तामा समानता र समताको जागरण भरिरहे। गाउँठाउँमा रहेका लोकभाषा, लोकसंस्कृतिलाई दाहालले यसरी मूल प्रवाहमा ल्याइदिए कि जनबोली जनआवाज बनेर देशव्यापी बन्न पुग्यो।

देशमा प्रजातन्त्र पुनःस्थापना र परिवर्तन हुनुपर्छ भनेर ‘कन्भिन्स’ दाहालले बोल्न त के, स्वतन्त्र रूपमा हिँडडुल गर्न नपाइने निरंकुश कालमा रेडियो नेपाल जस्तो एक मात्र प्रभावकारी सशक्त माध्यमबाट निराश जनता र कार्यकर्ताहरूमा यसरी प्राण भर्ने काम गरे, त्यसको जति प्रशंसा गरे पनि पुग्दैन । त्यसैले गर्दा दाहालले छिटै ख्याति कमाए । लोकसाहित्य, भाषा, संस्कृति, समालोचनाका एउटा मियो नै बने।

देशमा प्रजातन्त्र आएको तीस वर्षको पूर्वसन्ध्यामा मात्र होइन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान बनेर समाजवाद ल्याउन कम्युनिस्टहरू शासनमा रहिरहेको बेलामा पनि यज्ञनिधि दाहालले सामाजिक विकृतिविरुद्ध मसाल बालेर महाप्रस्थान गरेका छन्।

बलात्कार, महिला हिंसा लगायतका विभेदविरुद्ध ‘आमा दिदी बहिनी हो...’ भनेर गीत गाउनेहरू शासनमा पुगेको बेला देशमा महिला हिंसा बलात्कारका घटना किन बढिरहेका छन् ? दाहालले बालेको मशालले तिनीहरूको दृष्टिलाई तिरिमिरि झ्याँइ पारिदिएको छ।

वामपन्थी शासनले रूढिवादी कुसंस्कारविरुद्ध जेहाद छेड्नुपर्ने हो, समाज रूपान्तरण हुनुपर्ने हो । तर त्यसो गर्नुको बदला महँगा ह्वीस्की र कन्याक खाँदै छोरी बहिनीको गीत भने गाउनेहरू देखेर जीवनबाट बिदा हुँदाहुँदै ‘जदौ’ले फेरि तिनलाई नांगेझार पारेका छन् । जनताको मुक्ति भन्दै सुख सुविधा, प्राडो पजेरो, करोडौँ बैंक ब्यालेन्स र सुन जम्मा गर्नेहरू कसरी विभेदलाई उन्मूलन गर्नुको बदला कुसंस्कारलाई बढावा दिइरहेछन् भन्ने औँल्याएर जानुपर्ने सही मार्ग देखाइदिएका छन् । बाहिर छाउपडीको विरोध गरी टोपल्ने र घरभित्रै छुवाछूत गर्ने, ढोंगी बाबा कहाँ लम्पसार पर्ने, फाइदा हुन्छ भनेपछि भैँसी पूजा गर्नेहरूका गालामा मरेर जाँदाजाँदै पनि दाहाल यज्ञनिधिले दह्रो चड्कन हानेका छन् । त्यसैले समाजका ढोंगी, पाखण्डीहरूको विरोधका आइकन हुन्, दाहाल यज्ञनिधि ! उनी आफू मरेर गए तर समाजलाई जिउँदो रहनुपर्छ भन्ने सन्देश दिएर गए।

प्रकाशित: ३१ श्रावण २०७५ ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App