coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उपत्यकामा इन्द्रजात्राको उल्लास

काठमाडौं-राजधानीको बसन्तपुर दरबार स्क्वायरमा मंगलबार इन्द्रध्वजासहितको लिंगो ठड्याएर इन्द्रजात्रा सुरु भएको छ। वर्षाका देवता इन्द्रको प्रतीक ३२ हाते लिंगो बिहान ९ बजेको साइतमा ठड्याइसकेपछि विपरीत दिशामा ढल्दा २ जना घाइते भएका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर लिंगो ठड्याएका थिए । लिंगो ठड्याउँदा गुर्जुको पल्टनले विशेष बाजागाजासहित तोप पड्काएको थियो । ७ दिन मनाइने इन्द्रजात्रामा ठड्याउन भक्तपुर चित्तपोलको जंगलबाट केही दिनअघि नै लिंगो ल्याइएको थियो ।

राष्ट्रप्रमुख, सरकारप्रमुखलगायत विशिष्ट व्यक्तित्वले जीवित देवी कुमारीको दर्शन गरेपछि गणेश, कुमारी र भैरवको दैनिक रथयात्रा गर्ने परम्परा छ । जात्रामा काठमाडौँका विभिन्न स्थानमा भिन्न किसिमका लाखे नाच गरिन्छ ।

इन्द्रजात्रा व्यवस्थापन समितिअन्तर्गत नेपाल रेडक्रस, नेपाल स्काउट, सामुदायीक विपद् व्यवस्थापन, शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन समन्वय समिति संयोजक गणपतिलाल श्रेष्ठले प्राविधिक गडबडीले लिंगो विपरीत दिशामा ढलेको बताए ।

लिंगो ढल्दा घाइते हुनेमा हाल चमती बस्ने सिन्धुपाल्चोकका पुष्प लामा र धादिङ कटुन्जे–७ घर भइ बन्दोबस्ती कार्यगण कालिकास्थानमा कार्यरत नेपाली सेनाका हुद्दा ४५ वर्षीय भूमबहादुर गुरुङ छन् । गुरुङको छाउनीस्थित सैनिक अस्पतालमा र लामाको वीर अस्पतालमा उपचार भैरहेको छ ।

लिंगो ठड्याइएसँगै सहरको रक्षा गर्न काठमाडौंका चार कुनामा अष्टमातृकाको प्रतीक लाकासी पनि ठड्याइएको थियो । मानन्धर संघका केन्द्रिय सदस्य मोहनकृष्ण मानन्धरका अनुसार यसपल्ट गणेश, भैरव र कुमारीको रथयात्रा कुमारीघरबाट मरुटोल, चिकंमुगल, जैसीदेवल, जयबहाल, लगन, गोफल, ब्रह्मटोल, वनदेव, ह्युमत, कोहिटी, भीमसेनस्थान, प्याफल, यट्खा, नरदेवी, बांगेमुढा, असन, इन्द्रचोक, मखन, किलागल, भेडासिंह र हनुमानढोका हुँदै कुमारीघरमा टुंगिन्छ । रथयात्रापछि कुमारीले राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री, उच्च पदाधिकारीदेखि सर्वसधारणलाई टीका लगाउने प्रचलन छ । विगत ४ वर्षयता अन्तिम दिन महिलाले मात्र रथ तान्ने प्रचलन चलेको मानन्धरले बताए ।

इन्द्रजात्रामा बालकदेखि वृद्धसम्मले दिवंगत भएकाका परिवारजनका सम्झनामा शान्तिपाठ, स्तोत्रपाठ गरी जात्रा मनाउने चलन छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रामा वर्षाका देवता देवराज इन्द्रको पूजा आराधनाका साथै जात्रा अवधिभर भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशावतार पुलुकिसी नाच हुने गर्छ ।

इन्द्रजात्राभर हनुमानढोका परिसरस्थित स्वेतभैरवको ढोका खोल्ने गरिन्छ भने मंगलबार राति सबै मन्दिर सजाएर इन्द्रचोकमा इन्द्रका दश अवतारको नाच प्रदर्शन गर्ने प्रचलन रहेको मानन्धरले बताए ।

प्रकाशित: २९ भाद्र २०७३ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App