७ वैशाख २०८१ शुक्रबार
समाज

सहरभित्र खोलाको वितण्डा

अविरल वर्षापछि बुधबार बिहान बागमती नदीमा अाएकाे बाढी पसेर डुबानमा परेकाे राजधानीकाे तीनकुनेस्थित मिलनबस्ती। तस्बिर : शिवहरि/नागरिक

काठमाडौं - काठमाडौं तीनकुनेमा गाईपालन गर्दै आएका कृष्णप्रसाद घिमिरे सधैंजसो मंगलबार बेलुकी पनि गाईबस्तुलाई दानापानी दिएर नजिकैको डेरामा सुत्न गए। उनी सुत्दा राति १० बजेको थियो। त्यतिबेला आकाशबाट सिमसिम पानी परिहेको थियो। राति तीन बजे एक्कासि जोडतोडले गाई कराएको सुनेपछि उनी ब्युँझिए। कोठाबाट बाहिर निस्किन लागे। घरको झ्यालबाट बाहिर चियाउँदा सबैतिर पानीमात्रै देखे । आफू बस्ने घरको भुइँतलासमेत जलमग्न भइसकेको थियो। चारैतिर डुबान देखेपछि उनले छिमेकी गुहारे । बिजुलीबत्ती नभएकाले सबैतिर अन्धकार थियो । कराइरहेका गाईलाई बचाउने आशामा उनी छिमेकीको सहारामा गोठतर्फ लागे । आधा शरीर डुबाएर गोठमा पुग्दा एउटा गाई मरिसकेको थियो। अन्य ७ वटा गाईको टाउको मात्रै देखिन्थ्यो । हत्तपत गोठको ढोका फोडे । त्यसपछि गाईलाई पानी नभरिएको ठाउँतर्फ सारे। ‘बाढी कसरी आयो थाहै भएन, यत्तिको पानी त वर्षायाममा परेकै हुन्थ्यो,’ बुधबार बिहान नागरिकसँग कुरा गर्दै घिमिरेले भने, ‘धन्न गाई कराएको आवाजले उठियो, नत्र सबै गाई मर्नेरहेछन् ।’ एक लाख रुपैयाँ हालेर किनेको गाई पानीमा डुबेर मरेपछि उनी निरास देखिन्थे।

तीनकुनेमै ‘वासिङ सेन्टर’ (ग्यारेज) चलाउँदै आएकी लक्ष्मीदेवीको टहरो पनि डुबानमा प-यो। बागमतीको भेल टहरोभित्रै पसेपछि राति तीन बजेपछि उनको परिवार सुत्न सकेन। बागमतीछेवैमा आधा टहरोमा बास र आधामा ग्यारेज सञ्चालन गर्दै आएकी देवीको परिवार सुतिरहेको ठाउँमा पानी पसेपछि ब्युँझिएका थिए। ‘टहरोभित्रै पानी भरियो, सबै डुब्ने हो कि भन्ने आसमा बाल्टिनले पानी बाहिरतिर फालेर बस्यौं,’ उनले भनिन्, ‘अहिलेसम्म यस्तो भएको थिएन।’

बुधबार बिहानपख काठमाडौंको बागमती, विष्णुमती, टुकुचा, धोबीखोला, च्यानेखोलालगायतमा आएको बाढीले वितण्डा मच्चायो।

बुधबार बिहानपख काठमाडौंको बागमती, विष्णुमती, टुकुचा, धोबीखोला, च्यानेखोलालगायतमा आएको बाढीले वितण्डा मच्चायो। तीनकुने, अनामनगर, घट्टेकुलो, शान्तिनगर, थापाथलीलगायत क्षेत्र डुबानमा परे। खोला किनारमा बस्दै आएका सुकुम्बासी र अन्य स्थानीयका घरटहरा डुबे। हिउँदयाममा सुक्खा देखिने काठमाडौंका खोलाको पानी करिडोर पार गर्दै घरभित्रै छिरेपछि स्थानीय त्रसित बने। भुइँतलामा पानी पसेपछि स्थानीयले प्रहरी र जनप्रतिनिधि गुहारे। बाढीले मानवीय क्षति नभए पनि सरसामानमा क्षति पुगेको छ। ‘राति सुतिरहेका थियौं, एक्कासि कोठामा पानी पस्यो, डेरामा भएको खानेकुरा सबै भिज्यो,’ देवीनगर बस्ने कुमार राईले भने।

बाढी आएपछि रातभर सुत्न नपाएको बूढानीलकण्ठ नगरपालिका–१३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिए। उनले १३ नम्बर वडामा ४३ घर डुबानमा परेको बताए। ‘राति १ बजेदेखि नै बाढीले सुत्न दिएन,’ उनले भने, ‘सबैतिर डुबान भएपछि स्थानीयलाई आवासको व्यवस्था वडाले गरेको छ।’ उनका अनुसार खोलामा बहावक्षेत्र साघुँरिएका कारण नदी भरिएर स्थानीयको घरघरमा पसेको थियो। ‘सबैतिर खोलाको जग्गा व्यक्तिगत बनाउने क्रम बढ्यो, जसका कारण सहरी क्षेत्र जलमग्न भयो,’ उनले भने, ‘अब पनि यसबारे ध्यान नदिने हो भने भविष्यमा ठूलो समस्या ल्याउन सक्छ।’

काठमाडौं महानगरपालिका–३१ वडाका वडाध्यक्ष नारायण भण्डारीले बागमती पुल र नदी अतिक्रमणका कारण बाढी आएको बताए। उनले खोलाले ओगटेको जग्गा हडप्ने प्रवृत्तिका कारण उपत्यकाका खोलाले ठूलो वितण्डा ल्याउन सक्ने बताए। ‘सबैतिर नदी ओगट्ने र संरचना बनाउने क्रम बढेको छ,’ उनले भने, ‘यसलाई पुरानै अवस्थामा पु-याउन सकिएन भने भविष्यमा ठूलो विनाश नल्याउला भन्न सकिन्न।’ उनका अनुसार वडा ३१ का ६० भन्दा बढी घर डुबानमा परेका छन्। तीनकुनेस्थित बागमती खोलामा पुल बनाउँदा नदीको क्षेत्रफल साँघुरो पारिएको वडा कार्यालयको निष्कर्ष छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहरी क्षेत्रमा यस्ता घटना हुनु दुःखद रहेको बताए। उनले यसको तत्काल समाधान खोज्ने र पीडितलाई सहयोग गर्ने बताए। ‘नागरिकलाई परेको समस्याको सम्बोधन गर्छाैं र सम्भावित क्षति पूर्वअनुमान गरेर त्यसलाई रोकथाम गर्छौं,’ उनले भने, ‘यसबारे चासो दिन सबै मातहतका विभागलाई निर्देशन दिएका छौं।’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले अविरल वर्षाका कारण उपत्यकाका धेरैजसो बस्ती डुबानमा परेको बताए। उनले भने, ‘होचो स्थान र नदीकिनारमा रहेका सबैजसो घर डुबेका छन्। डुबानले सडक तथा घरघरमा पानी पसे पनि ठूलो मात्रामा क्षति भने हुन पाएन। यसबारे हामीले दिर्घकालीन उपाय खोज्न जरुरी छ।’

प्रकाशित: ३१ श्रावण २०७५ ००:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App