नेपालगन्ज- मुस्लिम धर्मालम्बी बिपी चोकस्थित कादरी मस्जिदअगाडि बकर इदको रमझममा झुलिरहेका बेला मुस्तफा अहसन कुरैसी भने त्रिभुवनचोकको दक्षिणपूर्वमा रहेको आफ्नो निवासमा पाहुनालाई स्वागत–सत्कार र खानपिन गराउन व्यस्त थिए। उनका पाहुना थिए– हिन्दू धर्मालम्बी।
मुस्लिम धर्मालम्बीको दोस्रो ठूलो चाड बकर इद मनाउन उनी पनि मस्जिद नगएका होइनन् । पूmलबारी मस्जिदमा शुभकामना आदानप्रदान गरेपछि अरु सहधर्मी रमझममै व्यस्त भए । कुरैसी भने आफ्नो वर्षौंदेखिको परम्परा धान्नतिर लागे । आफ्नो चाडपर्वमा अन्य धर्मालम्बीलाई घरमै बोलाएर सद्भाव साट्ने अहसन कुरैसीको चलन नौलो होइन । झन्डै दुई दशकदेखि उनी यसरी नै आफ्नो पर्वमा अरुलाई सामेल गरेर सद्भाव विस्तार गरिरहेका छन् । ‘चाडबाड भनेकै एक–आपसमा शान्ति, सद्भाव र प्रेम साटासाट गर्ने माध्यम हुन्,’ उनी भन्छन्, ‘त्यही भएर मैले बर्सेनि इद र बकर इदमा अन्य धर्म मान्ने मित्रलाई घरमै बोलाउने गर्छु ।’
नेपालगन्जमा अहसन कुरैसीको पहिचान एक स्थापित सायर (गजलकार) को रुपमा छ । उनले ‘सोज–ए– दिल’ नामक गजल संग्रह प्रकाशित गरेका छन् । उनका अनुसार नेपालमा हिन्दी र उर्दू दुवै भाषामा लेखिएको एकमात्र सिर्जना हो । उनको सद्भाव साट्ने रहर साहित्य यात्राबाटै सुरु भएको हो । २०५३ सालदेखि जब उनी सायर लेख्न थाले, उनको मनमा लाग्यो– हामीले समाजमा शान्ति र सद्भावको लागि किन काम नगर्ने ? कुरैसीले त्यो सोचलाई सार्थक बनाउने अवसर देखे– चाडपर्व । ‘साहित्यमार्पmत मैले सार्वजनिक जीवन सुरु गरेपछि चाडपर्वमा सबै धर्मालम्बीलाई घरमै बोलाएर एकआपसमा सद्भाव बढाउने सोच बनाएको हुँ,’ उनी भन्छन्, ‘यसले नेपालगन्जमा राम्रो सन्देश पनि गएको छ ।’
इद र बकर इदमा अन्य धर्मालम्बीले उनलाई फोन गरेर शुभकामना दिनुअघि नै उनी आपैंm फोन गरेर घरमै आउने निम्तो दिन्छन् । र, विभिन्न परिकार अगाडि राख्दै स्नेहपूर्वक भन्छन्, ‘जति मन लाग्छ खानुस् है !’
नेपालन्जस्थित राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालयमा कार्यरत साहित्यकार पंकजकुमार श्रेष्ठ उनका नियमित पाहुना हुन् । करिब पाँच वर्षदेखि उनी इद र बकर इदमा कुरैसीको घरमा गइरहेका छन् । ‘आफ्नो पर्वमा हामीलाई अत्यन्त सम्मानका साथ घरमै पाहुना बोलाउनु मुस्तफाजीको विशेषता हो,’ उनी भन्छन्, ‘उहाँको यस्तो व्यवहारले विविध धर्म मान्ने समुदायलाई एकआपसमा जोड्ने काम गरेको छ ।’
गजलकारसमेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरे आफ्नो समुदायमा फरकखाले सामाजिक तथा मानवीय गुणयुक्त पहिचान बनाएका कुरैसीदेखि निकै प्रभावित छन् । गैरेले भने, ‘सद्भाव फैलाउन कुरैसीले गैरमुस्लिमलाई आफ्नो चाडपर्वमा सामेल गर्छन्, भावनाबाट चल्ने एक उर्दू साहित्यकारको यो भावनाले नेपालगन्जमा सद्भावको सञ्चार गराएको छ ।’ एक समय आफ्नो समुदायबाट गैरमुस्लिमसँग संगत गरेको आरोप खेपेका कुरैसीको व्यवहारबाट अहिले समुदाय नै दंग भएको उनले बताए ।
आफ्नो चाडमा अरुलाई बोलाउने कुरैसीलाई अरु धर्मालम्बीले कत्तिको सम्झिन्छन् त ? प्रश्न भुइँमा झर्न नपाउँदै उनले भने, ‘सम्बन्ध त दोहोरै हुन्छ नि, दसैं–तिहारमा पनि हामीले शुभकामना साटासाट गर्छौं,’ इदका नियमित पाहुना महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक हरिप्रसाद तिमिल्सेना भने । उनले तिहारमा मुस्लिम समुदायका इष्टिमित्रलाई आफ्नो घरमै बोलाउने गरेको र जान नपाए घरमै सेलरोटी पु¥याउने गरेको उनले बताए ।
प्रकाशित: २९ भाद्र २०७३ ०२:२९ बुधबार