७ वैशाख २०८१ शुक्रबार
समाज

२१ दिन वित्दा समेत पत्ता लाग्न सकेनन् निर्मला हत्याकाण्डका दाेषीहरु

भिमदत्तनगर - ‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे ...’ । कञ्चनपुर सदरमुकाम भिमदत्तनगर बजारमा यतिबेला दिनहुँ यीनै शब्द गुञ्जिने गरेका छन्। तीन साताअघि बलात्कारपछि हत्या गरिएकी १३ बर्षीय निर्मला पन्तका हत्याराको खोजी गरी परिवारलाई न्याय र अपराधीलाई कार्वाहीको कठघरामा उभ्याउनु पर्ने माग राख्दै स्थानीय महिला घटनाको विरोधमा हरेक दिन सडकमा उत्रेका छन्। 

भिमदत्तनगर नगरपालिका २ उल्टाखामकी निर्मला, साउन १० गते वेपत्ता भईन्। कक्षा नौ मा अध्ययनरत निर्मला घरबाट आफ्नो साथीको घरमा पढ्न भनि निस्केकी थिईन्। अबेरसम्म घर नफर्केपछि परिवारका सदस्यले खोजविन गरे। तर, उनको कहि कतै पत्तो लागेन्। त्यसको दोस्रो दिन निर्मलाको शव अर्धनग्न अवस्थामा भिमदत्तनगर नगरपालिका १८ निम्बुखेडाको एक उखुबारीमा फेला पर्‍याे। 

बुधबार यो निर्मम घटना भएको ठिक २१ दिन पुगेको छ। तर, २१ दिन बितिसक्दा पनि प्रहरीले घटनाका दोषिलाई पक्राउ गरी सार्वजनिक गर्न सकेको छैन। उसो त कञ्चनपुर प्रहरीले घटनामा संलग्न रहेका आशंकामा ५० जना भन्दा बढीलाई पक्राउ गरी सोधपुछपछि छाडिएको जनाएको छ।  वास्तविक अपराधि यतिका समयसम्म प्रहरीले हिरासतमा लिन नसक्दा  स्थानीय र नगरवासीमा आक्रोस बढ्दै गएको छ। घटनापछि विरोधमा उत्रेका स्थानीय र महिला अधिकारकर्मी अहिले अपराधि पक्राउका लागि दबाव दिन दैनिक विरोधमा उत्रिएका छन्। उनिहरु कहिले जिल्ला प्रहरी कार्यालय त कहिले जिल्ला प्रशासन कार्यालयमा नाराबाजी सहित धर्ना दिदैं आएका छन्  चर्को घाम र साउने बर्षाको बेवास्ता गर्दै छाता ओढेर निरन्तर आन्दोलन जारी राखेका छन्।

बुधबार दिउँसो पनि स्थानीय महिला, महिला अधिकारकर्मी, आमा समुह, नेपाली काँग्रेसको संगठन महिला संघ लगायका संघसंगठनका सयौं महिलाले जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी गर्दैै धर्ना दिए। उनिहरुले घटनामा संलग्न अपराधि यथासिघ्र पक्राउ गरी कार्वाहीको दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै विरोध जनाएका थिए।

निर्मला हत्यापछि आन्दोलित महिला समुहले दवावमुलक संघर्ष समिति गठन गरि आन्दोलन थालेको छ। समितिकी संयोजक हेलन श्रेष्ठले अहिले आफुहरु शान्तीपुर्ण आन्दोलनमा रहेको बताइन। ‘यो एकदमै क्रुर र निन्दनीय घटना हो, यसमा संलग्नलाई प्रहरीले चाँडो भन्दा चाँडो पक्राउ गरि सार्वजनीक गर्नु पर्छ ’ संयोजक श्रेष्ठले थपिन्, ‘हामी पीडित परिवारले न्याय पाओस् भनि सडकमा उत्रेका छौं, वास्तविकता सार्वजनिक नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’

आन्दोलनरत समुहले निरन्तर प्रहरी कार्यालय र प्रशासन कार्यालयमा धर्ना दिनुका साथै भिमदत्तनगर बजारमा विरोध जुलुस निकाल्दै आएका छन्। सदरमुकाम भिमदत्तनगर बजार नजिकै यति ठुलो घटना दुर्भाग्यपुर्ण भएको महिला अधिकारकर्मीहरुले बताएका छन्। घटनापछि निर्मलाका परिवारका सदस्य अझै स्तब्ध छन्। छोरी गुमाएको पीडाले आमाबुबाको अनुहार मलिन रहेको छ। निर्मलाकी आमा छोरीलाई सम्झेर समय समयमा भक्कानो छोडेर रुने गरेकी छिन। 

स्थानीय प्रहरीले घटनाका बारे केहि दिनसम्म कुनै सफलता हात पार्न नसकेपछि अनुसन्धानकालागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबि) को तीन सदस्यीय टोली महेन्द्रनगर पुगेको थियो। तर पनि अपराधि पक्राउ नपर्दा घटना ढाकछोप गर्न खोजिएको स्थानीयले आशंका जनाएका छन्। घटनालाई दबाउन खोजेको र संलग्न अपराधिलाई बचाउन खोजेको प्रहरीमाथि आरोप लाग्न थालेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपि ज्ञानबहादुर सेठीले अहिले सम्म निर्मलाको घटनामा कुनै प्रगती नभएको बताए। ‘घटनामा संलग्नको आशंकामा धेरैलाई समात्ने र छोड्ने काम भएको छ। तर खासै प्रगती भएको छैन् ।’ उनले भने।

विगत एक महिनाको अवधिमा कञ्चनपुर जिल्लामा चार वटा बलात्कार र हत्या भएका छन्। जसमध्ये दुई घटनामा युवतीलाई वलात्कार गरी हत्या गरीएको छ। दुई घटनामा बलात्कारको प्रयास गरिएको छ। जसमध्ये तीन घटनाका आरोपिलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। 

प्रकाशित: ३० श्रावण २०७५ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App