सिँचाइको नहरमा अनियमितता

कमिसनमा चौथो पटकसम्म पेटी ठेक्का

बुधबार, ३० साउन २०७५, १० : ५१ रुद्र खड्का/अर्जुन ओली

झिझरी खोला (बाँके) – राष्ट्रिय गौरवको सिक्टा सिँचाइको मूल नहर पानी परीक्षणका क्रममा पटक–पटक भत्कनुको प्रमुख कारण कमिसनमा पेटी ठेक्काबाट गरिएको निर्माण भएको बताइएको छ।  

यो आयोजनमा विभिन्न कालखण्डमा आएका आयोजना प्रमुख र मूल ठेकेदार सिटिसिई कालिका कन्स्ट्रक्सनबीचको मिलेमतोमा पेटी ठेक्का लगाएर गुणस्तरहीन काम गराएको बताइएको हो । सिक्टा सिँचाइसँग तीन चरणमा (सन् २००९–२०१५ सम्म) ४२ किलोमिटर मूल नहर बनाउने ठेक्का सम्झौता गरेको सिटिसिई कालिकाले धेरैजसो काम पेटी ठेक्कामार्फत गरेको मूल नहर आसपासका स्थानीय बताउँछन्। 

राप्तीसोनारी गाउँपालिका, कचनापुरका बासिन्दा तथा पूर्वकृषिमन्त्री प्रेमबहादुर भण्डारीले कालिकाले गर्नुपर्ने मूल नहरको काम कमिसन लिँदै चौथो व्यक्तिसम्म पुगेको बताए । ‘एउटा कम्पनीले गर्नुपर्ने काम चौथोसम्म पुग्दा गुणस्तरीय काम हुने सबालै रहँदैन,’ राप्रपाका नेतासमेत रहेका भण्डारीले भने, ‘मूल नहरको काम गर्ने बेला यसो नगरौं (एउटा ठेक्का चारजनालाई दिने काम) भन्दा न मुख्य ठेकेदारले सुने, न आयोजना प्रमुखले नै । अहिले भटाभट नहर भत्किरहेको छ।’ 

स्थानीय गुणस्तरहीन निर्माणले परीक्षणको क्रममा मूल नहर भत्कने गरेको बताउँछन् । आयोजनाका कर्मचारी भने मूल नहर बनाउने ठाउँको माटो घुलनशील भएका कारण समस्या परेको दाबी गर्छन् । भण्डारीले केही स्थानको माटो घुलनशील भए पनि आयोजना र ठेकेदारले त्यस्तो माटो भएको ठाउँमा अन्यत्रबाट माटो ल्याएर मूल नहरलाई बलियो बनाउनुपर्ने बताए । ‘राष्ट्रल नै प्राथमिकता दिएको गौरवको यत्रो आयोजनामा माटो नराम्रो थियो, त्यसकारण मूल नहर कमसल बन्यो भन्नु लाजमर्दो र गुणस्तरहीन कामलाई लुकाउने प्रयास हो,’ उनले भने, ‘छानबिन टोलीले पनि माटोका कारण मूल नहरमा समस्यामा आएको ठान्छ भने त्यसलाई सर्वसाधारणले पत्याउने छैनन्।’ 

स्थानीयले कमसल निर्माणका लागि ठेकेदार र आयोजना प्रमुखहरु उत्तिकै दोषी रहेको बताए । ढकेरीकी शोभा ओलीले नहर बनाउँदा मापदण्डभन्दा निकै कम र गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको बताइन् । ‘सरकारसँग कालिकाले कति रकम लिएको थियो, त्यो थाहा भएन । तर पेटी ठेकेदारले तोकिएभन्दा निकै कम सिमेन्ट, छड प्रयोग गरेका हुन्,’ उनले भनिन्, ‘त्यतिबेला कुनै पनि पेटी ठेकेदारले राम्रोसँग काम गरेका थिएनन्।’ 

ओलीका अनुसार मूल नहर निर्माणको बेला एक बोरा सिमन्ेट बराबर ५–६ बोरासम्म बालुवा मिसाउनुपर्नेमा १४–१५ बोरासम्म मिसाइएको थियो । कालिकाले कमिसन खाएर सयौं व्यक्तिलाई पेटी ठेकेदार बनाएको स्थानीयको भनाइ छ । नहरको खण्ड–खण्ड काम मनलाग्दी तरिकाले पेटी ठेकेदारलाई दिँदा उनीहरूले पनि गुणस्तरीय काम गर्नुभन्दा जसरी नाफा हुन्छ त्यसरी नै काम गरेको स्थानीय बताउँछन्। 

‘मूल नहरमा सिमेन्टको काम गर्दा नहरको तल्लो भाग र किनारा (स्लोप) मा राम्रोसँग माटो थिच्नुपर्ने हो,’ ओलीले भनिन्, ‘हतारमा काम सक्ने लोभले कसैले पनि माटोलाई राम्रोसँग थिचेर सिमेन्टको काम गर्ने ध्यान दिएनन् ।’ नहर बनाउँदा पेटी ठेकेदारले राति ८–९ बजेसम्म मजदुरलाई काममा लगाएको आफैंले देखेको उनले बताइन्।

मूल नहर बनाउँदा चुरे क्षेत्रको ढुंगा, गिट्टी संकलन गरेको कालिकाले पेटी ठेकेदारलाई निर्माण सामग्री भने आफैंसँग खरिद गर्न बाध्य पारेको एक पेटी ठेकेदारले बताए । तेस्रो खण्ड (३६–४५ किलोमिटर) मा मूल नहरको काम हुँदा ७० लाख रुपैयाँको काम गरेको बताउने एक पेटी ठेकेदारले सिक्टामा कालिकाले कमसल काम गरेरमात्र नभई बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको ढुंगा, गिट्टी बिक्री गरेरसमेत ठूलो रकम अनियमितता गरेको दाबी गरे। 

‘सिक्टाको मूल नहर बन्दै गर्दा कालिकाले कोहलपुर–राँँझा सडकको पनि ठेक्का लिएको थियो,’ ती पेटी ठेकेदारले भने, ‘मूल नहर आसपासका ढुंगा, गिट्टी उठाएर सडकमा हाल्दा नहर कमजोर भएको हो ।’ मूल नहरबाट निस्केका ढुंगा, गिट्टी सोही स्थान वरिपरि रहन दिएको भए नहर बलियो हुन सक्ने स्थानीयको अनुमान छ । सिक्टामा साढे ६ अर्ब रुपैयाँको मूल नहरको काम गर्दै गर्दा कालिकाले ९५ करोड रुपैयाँको कोहलपुर–राँझा सडकको पनि ठेक्का लिएको थियो। 

अधिकांश आयोजनामा ढिलाइ गरिरहेको बेला कालिकाले कोहलपुर–राँझा सडक तोकिएको अवधिभन्दा करिब आठ महिना पहिला सकेको थियो । ‘त्यतिबेला समयभन्दा अघि काम सकेका कारण कतिपयले कालिकाको प्रशंसा पनि गरे,’ कोहलपुरका खम्ब श्रेष्ठले भने, ‘तर, छिटो काम गर्नुको उद्देश्य नदीजन्य सामग्री दोहनका लागि थियो।’ 

कुमार नामक अर्को ठेकेदार कम्पनीसँग सहकार्य गरेर कालिकाले ठेक्का लिएको सिक्टाकै पूर्वी खण्डका नहर भने बेहाल अवस्थामा छ । पूर्वी खण्डमा ५३ किलोमिटर नहर बनाउने सम्झौता गरेको कुमार–कालिका कन्स्ट्रक्सनले सम्झौता गरेको एक वर्षमा तीन किलोमिटर मात्र नहरको काम गरेको छ । उसले पूर्वी खण्डको ५३ किलोमिटर नहर एक वर्षमा सक्नुपर्ने सम्झौता गरेको छ ।  ‘कालिकाको ठेक्काको काम छिटो सक्ने हैसियत भएको भए सिक्टाको पूर्वी नहरमा ढिलासुस्ती हुँदैन्थ्यो,’ फत्तेपुरका रामु थारुले भने।  

कोहलपुर–राँझा सडक बनाउँदा कालिकाले सिक्टा मूल नहरको आसपासबाट ढुंगा, गिट्टी, बालुवा एक रुपैयाँ खर्च नगरी उठाएको उनको भनाइ छ  । सिक्टाको मूल नहरमा काम हुँदै गर्दा कोहलपुर–राँझा सडक बनाउने ठेक्का लिएको कालिकाको ध्यान ढुंगा, गिट्टी, बालुवा संकलनमा गएको र पेटी ठेकेदारको भरमा मूल नहरको काम गरिएको स्थानीय बताउँछन्।

सिक्टाको मूल नहरनजिकै पर्ने ओभरीका भीमबहादुर खड्का कालिकाले घर बनाउने आइडिया नभएका व्यक्तिलाई समेत मूल नहर बनाउने जिम्मा दिएको बताए । ‘पेटी ठेकेदारसँग न प्राविधिक थिए न मूल नहर बनाउने आइडिया थियो,’ उनले भने, ‘राप्ती नदीको पानी चढाउने मूल नहरमा गरिएको खेलाँची देख्दा त्यतिबेला नै प्रश्न उठाएका थियौं।’ 

बाँकेको ४३ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्यसहित सुरु गरिएको उक्त आयोजनामा हालसम्म हेडवक्र्ससहित १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ । परीक्षणको क्रममा पटकपटक मूल नहर भत्कन थालेपछि स्थानीयले ठेकेकार र आयोजनाका कर्मचारीले मिलेमतो गरी व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै आएका छन् । ५० क्युमेक्स पानी बग्ने क्षमतामा बनाएको मूल नहरमा ४–५ क्युमेक्स हाल्दैमा मूल नहर भत्कने गर्छ। 

सिक्टामा गरिएको अनियमितता छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन टोली गठन गरेका छन् । अख्तियारको टोलीले फिल्डमा पुगेर छानबिनको काम अघि बढाए पनि मन्त्रालयले टोली कहिले फिल्डमा पुग्ने भन्ने पत्तो छैन । स्थानीयले छानबिन टोलीको काम औपचारिकता पूरा गर्नका लागि मात्र हुन नहुने बताएका छन्। 

अख्तियारको टोली र आयोजनाका कर्मचारीद्वारा सँगै अनुमगन
सिक्टा सिँचाइमा भएको अनियमितता छानबिनमा अख्तियारको सक्रियतालाई स्थानीयले सराहना गरिरहेको बेला उक्त टोली र सिक्टाका कर्मचारीसँगै मूल नहरको अनुगमनमा छन्। 

फिल्डमा पुगेको टोलीलाई सिक्टाकै कर्मचारीले मूल नहरमा पुर्याएकाले अनुसन्धान प्रभावित हुन सक्ने कतिपय स्थानीयको आशंका छ।

स्थानीयबासी, जनप्रतिनिधि गुणस्तरीय काम भएकाले मूल नहर क्षतबिक्षत भएको बताउँछन् भने कर्मचारी र ठेकेदार घुलनशील माटोलाई दोष दिन्छन् । अख्तियारको टोलीसँग सिक्टाका अधिकांश इन्जिनियरसँगै दुई दिनदेखि फिल्डमा रहेको सिक्टा स्रोतले जानकारी दियो। 

संसदीय उपसमिति नै स्वार्थको बन्दी
काठमाडौं – चार वर्षअघि संसदको एक उपसमितिका सदस्यहरूले सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षणपछि मूल नहर निर्माणमा गुणस्तरहीन काम भएको तथ्य फेला पारेको थियो। 

तर, संसदको अर्थ समितिको उक्त उपसमितिका सदस्यले स्थलगत निरीक्षणको वास्तविक अवस्थाबारे सरकार वा सम्बद्ध अन्य कुनै पनि निकायलाई केही जानकारी दिएनन् । यसको एकमात्र कारण थियो– उक्त उपसमितिका एक सदस्यको निहित स्वार्थ। 

उपसमितिका कम्तीमा एक सदस्य तथा समिति सचिवालयका दुई अधिकृतले आफ्नै आँखाले त्यति ठूलो कमजोरी देख्दा पनि मौन रहे । त्यसपछि अर्थ समितिमा यसबारे न कहिल्यै पनि छलफल भयो, न समितिले सरकारलाई कुनै निर्देशन नै जारी गर्याे। 

उपसमितिका संयोजक सिपी मैनाली, सदस्य विक्रम पाण्डेसहित एक दर्जन सभासद सिक्टा सिँचाइको मूल नहर निर्माणको स्थलगत निरीक्षण गर्न गएका थिए । समिति सदस्य पाण्डे मूल नहर निर्माणको ठेक्का पाएको कालिका कन्स्ट्रक्सन प्रालिका सञ्चालक हुन्। 

तत्कालीन अर्थ समितिको उक्त उपसमितिकी सदस्य कमला पन्तले नागरिकसँग कुराकानी गर्दै कालिका कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको मूल नहरको अधिकांश भाग भत्किएको स्थलगत टोलीले प्रत्यक्ष देखेर आएको जानकारी दिइन् । पन्तका अनुसार मूल नहर कम्तिमा वर्षको दुई पटक भत्किएको थियो । गत जुलाई २३ मा पहिलो पटक परीक्षण गर्ने क्रममा भत्किएको थियो।

समिति सचिवालयका एक सदस्यले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सभासद पन्तको दाबी स्वीकार गरे । स्थलगत निरीक्षणका क्रममा मूल नहरमा धेरै नै गुणस्तरहीन काम भएको भेटिए पनि समितिले यसबारे छलफल नगरेको, कुनै प्रतिवेदन तयार नगरेको र आफ्नो वार्षिक प्रतिवेदनमा पनि यसबारे उल्लेख नगरेको उनले जानकारी दिए। 

 








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad