७ वैशाख २०८१ शुक्रबार
खेल

सुजना बनिन् महिला फिडे मास्टर

काठमाडौं– अजरबैजानको बाकुमा जारी ४२ औं चेस ओलम्पियाडमा दसौं चरणको खेलमा जित हासिल गर्दै सुजना लोहनी नेपालको पहिलो महिला फिडे मास्टर भएकी छन्।

प्रतियोगितामा आठौं खेलमा आवश्यक पर्ने ६ अंक पूरा गरेकी सुजनाले १० औं चरणमा लेसोथोकी मानयेली माहलाउलीलाई पराजित गरेकी थिइन्। अन्तिम चरणमा अरुवाकी ज्याकोबलस एनेलिनसँग प्रतिस्पर्धा गर्नेछिन्।

१४८८ रेटेड सुजनाले फिडे मास्टर हुनुले आफूलाई गौरवान्वित बनाएको बताएकी छन् । गोल्डेनगेट कलेजमा ११ कक्षामा अध्ययनरत उनले नागरिकसँग भनिन्, ‘चेसमा लागेर फिडे मास्टर हुनु मेरा लागि गर्व गर्ने क्षण हो । अब रेटिङ सुधार गर्नेतिर ध्यान दिनेछु।’

नुवाकोटकी उनी तीन वर्षदेखि चेसमा लागेकी हुन्।

मंगलबार दसौं चरणको खेलमा नेपालकी सिन्दिरा जोशीले लेबोइला माबोलोकोमाथि विजय हासिल गर्दा मोनालिसा खम्बुले हाटाने टिसेट्सोसँग अंक बाँडिन्। यसैगरी शान्ता थापाले लिकेट्सेङ एनगाटानेलाई नतिजा सुम्पिइन् ।

अन्तिम चरणमा सिन्दिराले स्टासी काटोनसँग खेल्नेछिन् भने अस्मिता अधिकारीले मारिया डियाज तथा मोनालिसाले आर्बोना एभिला जाइलीसँग प्रतिस्पर्धा गर्नेछन्।

पुरुषतर्फ १० औं चरणमा नेपाली टोली चाइनिज ताइपेईसँग ३–१ ले पराजित भयो । नेपालका क्षितिज भण्डारी र सजिन महर्जनले बराबरी खेले भने केशव श्रेष्ठ र भूपेन्द्र निरौला पराजित भए । क्षितिजले पो येन मिन तथा सजिनले अस्टिन याङ चिङ वेइसँग अंक बाँड्दा केशव रेमन्ड सङ तथा भूपेन्द्र येह याङ लिउसँग पराजित भए । नेपालले अब इराकसँग प्रतिस्र्धा गर्नेछ । अन्तिम चरणमा केशवले नामिर मोहम्मद इस्माइलसँग खेल्नेछन् भने सजिनले जोजेक सालाह मोहम्मद, क्षितिजले अराज बसिम मोहम्मद तथा विलमलाल श्रेष्ठले अहमद अब्दुल्साटरसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २९ भाद्र २०७३ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App