७ वैशाख २०८१ शुक्रबार
खेल

एन्फा विशेष साधारणसभा चितवनको सौराहामा सुरु

चितवन – अखिल नेपाल फुटबल सङघ (एन्फा)को विशेष साधारणसभा आजदेखि सौराहामा शुरु भएको छ। 

विशेष साधारणसभा विधान संशेधनमा केन्द्रित हुनेछ। राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले विधान संशोधनको विषयलाई सूचीबाट हटाउन निर्देशन दिएपनि त्यसलाई एन्फाले पूर्णरूपमा स्वीकार नगर्ने देखिएको छ। देश सङ्घीय संरचनामा गएपछि त्यहीअनुसार आफ्नो ऐन–नियम बनाइरहेका कारण एन्फालाई तत्काल संरचनागत विषयमा कुनै निर्णय नगर्न राखेपले निर्देशन दिएको थियो। 

मंगलबार साँझ बसेको एन्फा केन्द्रीय समितिको बैठकले परिषद्को सुझावलाई ग्रहण गर्दै परिमार्जनसहितको विधान मस्यौदा साधारणसभामा प्रस्तुत गर्ने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिए। एन्फाले प्रदेश तदर्थ समिति गठन, जिल्ला, क्लबको मताधिकार, आर्थिक नियमावली, कर्मचारी नियमावली, एन्फा सञ्चालन नियमावली र एन्फाका अन्य अल्पकालीन र दीर्घकालीन योजना प्रस्तुत गर्ने तयारी गरेको छ।

विशेष साधारणसभामा ४५ जिल्ला सङ्घ, १४ ए डिभिजन क्लब, नौ बी डिभिजन क्लब, पाँच सी डिभिजन क्लबबाट महिला, खेलाडी, प्रशिक्षक, रेफ्रीलगायत ३०० प्रतिनिधिको सहभागिता छ।    (रासस)

प्रकाशित: ३० श्रावण २०७५ ०४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App