coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सविताका चित्रमा कपाल र काइँयो

काठमाडौं – कुनै निर्जिव वस्तुमा जीवन खोजिनु कन्टेम्पोरेरी चित्रको विशेषता हो । चित्रकार सविता डंगोल त्यस्ता वस्तुसँग मानवका सोच प्रत्यक्ष जोडेर आफ्ना फरक धार बनाउन सफल छिन्।

पुल्चोकस्थित जीजी मचानमा चलिरहेको चित्रकला प्रदर्शनीमा राखिएका उनका चित्रले पनि यही भन्छन् । उनले वस्तुलाई मानवसँग जोडेर जीवनमात्र दिएकी छैनन्,समाजका  संस्कार र संस्कृतिलाई टिपेर चित्रमा सजाएकी छिन् । ‘इन्टर कनेक्टेड एफेक्सन’ शीर्षकको उनको चित्रकलामा काइँयो र मानिसका जीवनका अन्तरसम्बन्ध प्रष्ट देखिन्छ । उनले काइँयोसँग जोडिने युवतीको कपालको संरचनासँग कलात्मक सुन्दरता रंगबाटै पोखेकी छिन्। 

‘जीवन जस्तै कपालको संरचना हुन्छ,’ उनको बुझाइ छ, ‘काइँयोलाई सिम्बोल अफ सोलुसनका रुपमा राखेको छु ।’ हिन्दु र बुद्ध दर्शनसँग जोडिएको अष्टमंगलका छापलाई उनले आफ्नो चित्रको थप आकर्षणका रुपमा प्रस्तुत गरेकी छिन्।  काइँयोमा नेवारी परम्पराका अष्टमंगल  बज्र, घण्टी, शंख, हात्ती, कलश, छाता, कमलको फूलआदि पर्छन् । साथै परम्परागत घरका टुँडालमा अंकित सांस्कारिक अलंकारलाई समेत उनले आफ्नो चित्रमा स्थान दिएकी छन् ।
‘सिम्बोइटिक लाइफ’ शीर्षकको चित्रमा दुई महिला पुरुष एउटा ज्योतिपुञ्जको उज्यालोमा ज्वाजल्यमान देखिन्छन् । यो चित्र उनको कला प्रदर्शनीको सबैभन्दा उत्कृष्ट चित्र हो।

काइँयो र कपाल उनका चित्रमा सन २०१३ देखि नै देखिन थालेको हो । तर २०१८ को सुरुवाती महिनाबाटै उनले चित्रमा अष्टमंगल समेट्न थालिन। 

‘प्रत्येक महिला र पुरुषमा आफ्नै शक्ति हुन्छ,’ डंगोल प्रष्ट्याउँछिन्, ‘यी दुई शक्ति एउटा ठाउँमा जोडिएपछि जीवन चल्छ ।’ उनले चित्रमा समाहित गरेको श्रीयन्त्र पनि महिला पुरुषको संकेत हो । त्यस्तै बज्र पुरुष हो भने घण्टी महिलाको संकेत मानिन्छ । यी अष्टमंगलका संकेतले सकारात्मक सोचको विकास गर्न र कार्य सफल बनाउन मानिसलाई सघाउँछ भन्ने धार्मिक मान्यता छ।

चित्रको पछाडि बनेका बर पिपलको पातको अर्थलाई हिन्दु दर्शनबाट हेर्दा विष्णु लक्ष्मीको प्रतीक मानिन्छ । जीवनमा अप्ठेरो पर्याे भने यी दुईको बिहे गरिदिएर अप्ठेरो फुकाउने चलन हिन्दु समाजमा छ । सतहको रातो रंगले रोमाञ्चक प्रेमको संकेत गर्ने उनी सुनाउँछिन् । पुरुषको निल वर्ण र महिला  गुलाबी वर्णको मान्यतालाई उनको चित्रले पुष्टि गरेको छ।

अर्को चित्र ‘कुलिङ द स्याडो’ले जीवनको संकट मोचन गर्ने बाटो सुझाउँछ । जसरी हामी  घामपानीबाट बच्नको लागि छाता प्रयोग गर्छौ । त्यसैगरि जीवनको संकटबाट बच्नको लागि केही न केही सुरक्षाको बाटो मानिसले अपनाउँछन् भन्ने भाव चित्रले बोल्छ । उनले भगवान गणेशलाई ओढाउने रातोमा सुनौलो किनारा भएको छाता चित्रमा प्रयोग गरेकी छिन् । जुन रोग व्याधी र समस्याको समाधान गर्ने उपायका रुपमा स्थानीय समाजमा सांस्कारिक प्रयोग गरिन्छ।

‘ग्लोरियस लाइफ’ शीर्षकको अर्को चित्रले मानिसको जीवनमा सहजता ल्याउन धन र भाग्यमाथिको विश्वास बलियो बनाउन खोज्छ । महिला र पुरुषको बीचमा रहेको कलश सम्पन्नताको संकेत हो । नेवारी संस्कृति अनुसार कलशको अर्थ भाग्य र धनको सकारात्मक उर्जा हो।

‘सबलाइम लभ’ चित्रले भने निस्वार्थ माया गर्नुपर्छ भने प्रेरणा दिन्छ । ‘इन्टर ट्विस्ट एफेक्सन’ चित्रमा एकले अर्काको विचार बुझ्ने र सहकार्य गरेर अघि बढे हरेक समस्यासँग लड्न सकिन्छ भन्ने बताउँछ ।  काइँयो र कपाल उनका चित्रमा सन २०१३ देखि नै देखिन थालेको हो । तर २०१८ को सुरुवाती महिनाबाटै उनले चित्रमा अष्टमंगल समेट्न थालेकी हुन्। 

हरेक चित्रमा नयाँपनका लागि पनि उनले यसरी अष्टमंगललाई नयाँ साधनको रुपमा प्रयोग गरिन् । ‘नेवारी संस्कृतिको छाप चित्रमा किन नपार्ने भन्ने सोच आयो,’ उनले भनिन्, ‘थांका पौभामा प्रयोग भएको संस्कार संस्कृतिलाई आधुनिक चित्रमा प्रयोग गर्न खोजेकी हुँ ।’ बुद्धिष्ट र नेवारी सभ्यतामा अष्टमंगल चित्रलाई ढोका तथा घरका भित्तामा राखेर सकारात्मक उर्जाको आव्हान गरिन्छ।

सन २०१३ मा चित्रमा कपाल बनाउन थालेकी उनले त्यसपछि कपालसँग जोडिने हरेक वस्तुलाई चित्रमा स्थान दिन थालिन् । उनले कपालमाथि शोधपत्र पूरा गरेकी छिन् । जस अनुसार कपालको सम्बन्ध मानिसको मस्तिष्कसँग हुन्छ । ‘हामीलाई दुख कष्ट पर्दा कपाल दुख्ने अनि झर्ने गर्छ,’ उनले थपिन्, ‘अझ हरेक मानिसको कपाल व्यक्तिपिच्छे फरक हुने गर्छ।’

उनका अनुसार एउटा मानिसको वंशाणु गुण फरक भएजस्तै हरेक मानिसको कपालको प्राकृतिक संरचना भिन्न हुन्छ । त्यसैले गर्दा पनि एउटा मान्छेको सोच अर्को मानिससँग मिन्दैन । त्यही भिन्नता दर्साउन उनले बनाउने हरेक चित्रको कपालको आकार र धार फरक  बनाउँछिन्।

कला प्रदर्शनीमा राखिएका १३ वटा चित्र उनले दुई वर्ष लगाएर तयार गरेकी हुन् । जसमा उनले एक्रेलिक रंगमा कुची खेलाएकी छिन् ।  इटालियन कुटनीतिज्ञ तथा नेपाल व्रिटेन सोसाइटीकी अध्यक्ष प्रतिमा पाण्डेले उनको कला प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । साउन २१ ग्ते सुरु भएको उनको कला प्रदर्शनी भदौ २० सम्म चल्ने छ। 

प्रकाशित: ३० श्रावण २०७५ ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App