coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टर्कीले अमेरिकी विद्युतीय सामान बहिस्कार गर्ने

अंकारा – वासिङ्टनले दण्डात्मक रूपमा अंकारामाथि प्रतिबन्ध लगाएपछि टर्कीले पनि अमेरिकी विद्युतीय साम्रगी बहिस्कार गर्ने भएको छ। 

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो देशले अमेरिकी विद्युतीय साम्रगी बहिस्कार गर्ने बताएका हुन् । 
‘अमेरिकासँग आइफोन छ भने अर्कोतर्फ सामसुङ पनि छ,’ एप्पल र उसको दक्षिण कोरियाली प्रतिस्पर्धी सामसुङलाई उद्धृत गर्दै टर्कीका राष्ट्रपति एर्दोगानले बताएका छन्। 

टर्कीको जेलमा रहेका अमेरिकी धर्मगुरुलाई अमेरिका सपुदर्गी गर्न टर्कीले अस्वीकार गरेपछि अमेरिका आयात हुने टर्कीको सामानमा लाग्दै आएको करको दरलाई वासिङ्टनले गत साता दोब्बर बनाएको थियो । अमेरिकी कदमका कारण टर्कीको कमजोर मुद्रा लिरामा २० प्रतिशत गिरावट आएको बिबिसीले उल्लेख गरेको छ । टर्कीले देशको अर्थतन्त्रलाई स्थायित्व दिने प्रयास गरिरहेको र विदेशी मुद्रामा लगानी गरेर सो कार्य शत्रुलाई दिन नसकिने राष्ट्रपति एर्दोगानले बताएका छन्। 

टर्कीको भ्रमणमा निस्कन लागेका रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले अंकारामाथि लगाइएको अमेरिकी प्रतिबन्ध गैरवैधानिक नीति भएको मंगलबार पत्रकार सम्मेलनमा बताएका छन् । अमेरिकाले विश्व व्यापारमा अनुचित ढंगले प्रतिस्पर्धात्मक फाइदा लिन खोजेको आरोप पनि लाभरोभले लगाएको बिबिसीले उल्लेख गरेको छ। 

यस वर्षको सुरुदेखि नै टर्कीको मुद्रामा गिरावट आइरहेको छ । जनवरी महिनादेखि हालसम्म अमेरिकी डलरको तुलनामा टर्कीको मुद्रा लिरामा ३४ प्रतिशत गिरावट आएको बताइएको छ । जसका कारण दैनिक रूपमा प्रयोग हुने साम्रगीको मूल्यमा वृद्धि भइरहेको छ । राष्ट्रपति एर्दोगानले देशको मुद्रा स्फिति र ऋणको तहलाई घटाउने बताउँदै आएका छन् । उनले देशको मुद्रा लिरामा भइरहेको गिरावट विदेशी शक्तिले नेतृत्व गरेको अभियानको नतिजा भएको समेत बताउने गरेका छन्।

शुक्रबार टेलिभिजनमार्फत् गरिएको सम्बोधनमा राष्ट्रपति एर्दोगानले लिराका लागि विदेशी मुद्रा र सुन सटही गर्न टर्कीका नागरिकलाई आग्रह गरेका छन् । उनले पछिल्लो अवस्था ‘आर्थिक युद्ध’ भएको भन्दै यस्तो आरोप गरेको बिबिसीले जनाएको छ । लगातार रूपमा लिराको मूल्यमा भइरहेको गिरावटपछि पछिल्ला केही दिन भने केही सुधार देखिएको बताइएको छ। 

लिक्विडिटीबाट ग्रस्त बैंकलाई सहयोग गर्ने टर्कीको केन्द्रीय बैंकले प्रतिबद्धता व्यक्त गरिसकेको छ । देशको पछिल्लो आर्थिक अवस्थालाई लिएर राष्ट्रपति एर्दोगानका ज्वाइँ एवं अर्थमन्त्रीले बिहीबार टेलिकन्फरेन्समार्फत् हजारभन्दा बढी अन्तर्राष्ट्रिय लगानीकर्तालाई पुनः आश्वासन व्यक्त गर्ने तालिका रहेको बिबिसीले उल्लेख गरेको छ । अमेरिकाको विद्युतीय सामग्रीलाई बहिस्कार गर्ने राष्ट्रपति एर्दोगानको घोषणाले दुई देशबीचको तनाब थप वृद्धि हुनसक्ने बिबिसीले जनाएको छ । राष्ट्रपतिको घोषणापछि अमेरिकी राष्ट्रपति ट्रम्पको कस्तो प्रतिक्रिया आउने हो भनेर टर्कीस् नागरिक शंशकित रहेको बिबिसीले जनाएको छ। 

अमेरिकासँगको पछिल्लो टकरावका विषयमा बोल्दै राष्ट्रपति एर्दोगानले अमेरिकाले टर्कीलाई धर्मगुरु (पास्टर)का विषयमा चेतावनी दिएर घुँडा टेकाउन खोजेको आरोपसमेत लगाएको बिबिसीले जनाएको छ । अमेरिकाले भने लामो समयसम्म टर्कीमा बसेका धर्मगुरु एन्ड्रयु ब्रनसन जसले सानो इज्मिर रिसरेक्सन चर्च चलाउँछन् उनी अनुचित र गैरकानुनी पक्राउमा परेको दाबी गर्दै आइरहेको छ । उत्तरी क्यारोलिनाका सुसमाचारी ब्रनसन टर्कीको जेलमा कम्तीमा दुई वर्षदेखि रहिरहेका छन् । उनले गैरकानुनी रूपमा सञ्चालित कुर्दिस्तान वकर्स पार्टी र गुलेनवादी आन्दोलनलाई समर्थन गरेको आरोप टर्कीले लगाउँदै आएको छ।

गुलेनवादी आन्दोलनले सन् २०१६ को असफल सैनिक ‘कू’ सञ्चालन गरेको अभियोग टर्की सरकारले लगाउँदै आएको छ । पास्टर ब्रनसनले केही गलत गरेको बारे कुनै प्रमाण नदेखिएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सेक्रेटरी साराह सान्डेर्सलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ब्रनसनले आफूमाथि टर्कीले लगाएको जासुसीको आरोप अस्वीकार गर्दै आइरहेका छन् । उनीमाथि टर्की सरकारले लगाएको  जासुसीको आरोप प्रमाणित भए उनले कम्तीमा ३५ वर्ष जेल सजाय भोग्नुपर्नेछ।

अमेरिका र टर्कीबीचको टकरावका कारण भारतीय मुद्रा रुपैयाँसहित अन्य देशका मुद्रामा समेत प्रभाव परेको बिबिसीले उल्लेख गरेको छ । लिरामा आइरहेको गिरावटले विकासोन्मुख राष्ट्रहरुलाई समेत प्रभाव पार्न सक्नेतर्फ लगानीकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् । डलरको तुलनामा भारतीय मुद्रामा अहिलेसम्मकै गिरावट आएपछि सर्वसाधारण नागरिकलाई नआत्तिन भारत सरकारले मंगलबार आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ । गत साता रुस, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र मेक्सिकोले पनि आफ्ना मुद्रामा गिरावट आएको अनुभव गरेका थिए। 

 

प्रकाशित: ३० श्रावण २०७५ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App