coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

चौबाटोको नेकपा, कता हिँड्ने ?

विभाजन, घात–प्रतिघात र एक अर्काविरुद्ध उपयोग हुने घातक राजनीतिक दाउपेजहरूको खतरा टार्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एकातिर आफू सही लिकमा उभिँदैछ भने अर्कोतिर देशको मियोको भूमिकामा आएको छ।

करिब साठी वर्षअघि विखण्डनको शिकार भएको नेकपाको एकता प्रक्रिया अब लगभग पूरा भएको छ । नेकपाको यसपटकको एकता समानता र भाइचारामा आधारित छ । नत्र दुई वामघटक बीच एकता भयो भनेर झ्याली पिटिए पनि मिल्ने नाममा निल्ने गरिन्थ्यो । छलकपटरहित एकताले असल परिणाम ल्याएको तर अपमानपूर्ण स्वाभिमानहीन एकताले परिणाम नराम्रो आएको साक्षी इतिहास छ । नेकपाको यो पछिल्लो एकताको परिणाम आउन बाँकी नै छ। 

यो एकताले २०४७ सालमा माले र माक्र्सवादीबीचको एकताले जस्तै असल परिणाम दिने खालको हुन्छ वा २०५८ सालमा भएको माले एमाले एकता जस्तै मुखले ठिक्क व्यवहार र परिणामले दिक्क हुन्छ ? तटस्थ नजरले हेर्नु जरुरी छ । मदन भण्डारीले कसैमाथि खेलबाड गर्ने खराब नियत राखेर समीकरणको खेती नगरेका कारण एमालेले सुरुवातीमै उभिनलाई चाहिने बलियो जग पाएको थियो।

मदनको मृत्युपछिका दुई दशकभरि एमालेको चुलोमा व्यक्ति स्वार्थका रोटी खुबै सेकाइए । कुशल संगठकको फेटाधारीले नै संगठनलाई बियरलाईझैँ छचल्काउने, उमाल्ने र पोख्ने गरेर २०६४ सालमा एमालेलाई ताछे र यो वा त्यो ढंगले माओवादीको आगमनमा सुडेनीको भूमिका खेले । नेकपाका नेतात्रयले मदनको जस्तो चौडा छाती गरेमा नेकपाले न्याय पाउनेछ भने चलाखीपूर्वक एकअर्कालाई खसाल्न खोजे लाभ नेपाली कांग्रेसको पोल्टामा पर्नेछ। 

एउटा गल्लीमा हिँडिरहेको पथिक भन्दा चौबाटोमा उभिएको पथिक चारैतिरबाट खतरामा हुन्छ । सत्तारूढ दल नेकपा विचार, सिद्धान्त, कार्यक्रम, रणनीति, कार्यनीति र सरकारको सञ्चालनका हिसाबले समेत चौबाटोमा उभिएको बटुवाको अवस्थामा छ । यो अवस्थामा रहेसम्म नेकपा सबैको तारो भइरहनेछ । यसर्थ नेकपाले सुरुमै निष्ठा, नीति, नेतृत्व, नैतिकता, निर्णयको एकरूपता ल्याएर लिकमा रहन ढिलाइ गर्नु हुँदैन । लक्ष्य निर्धारण गरेर मात्र पुग्दैन । त्यसलाई कार्यकर्ताको अदालत र जनताको अदालतलाई आफ्नै सम्पत्ति ठानेर ग्रहण गराउन सक्ने इमान, जमान, तर्क र तथ्य आपूर्ति क्षमताको दरकार पर्छ । एउटा राम्रो काम गरेको कार्ड फालेर सयौँ गल्ती गर्दै जाने हो भने नेकपा २०५४ सालको एमाले र २०६४ सालको माओवादीझैँ आफ्नै उन्मादको शिकार हुनेछ । राम्रो गैरी खेत किन्ने तर खेतीपाती गर्ने बेला भांङ धतुरो छर्ने हो भने परिवार भोकमरीमा पर्नुको विकल्प हुँदैन। 

महाधिवेशन संस्कृति 
सरकारको मुहानका रूपमा रहेका दल आफू पूर्ण लोकतान्त्रिक अभ्यासका मियोको नियन्त्रण घेराबाहिर गएर स्वच्छन्द हुनुछैन । जनताको नाममा, समाजवादको नाममा, पार्टीको नाममा त्यसको एक नोकरशाही किस्साले पार्टी, साथी, जनता र देशलाई कब्जामा लिने अभ्यास गरेकाले पूर्वी युरोप र सोभियत संघ मोडलको समानवाद धराशयी भएको थियो।

कम्युनिस्ट आन्दोलनको त्यही गल्ती सच्याउँदै तत्कालीन नेकपा(एमाले)ले जनताको बहुदलीय जनवाद अवलम्बन गरेको गियो । अहिले प्रतिपक्षलाई बहानाबाजी बनेको अधिनायकवाद वा तानाशाही कम्युनिस्ट पार्टीबाट नजन्मिने कुराको सुनिश्चितता जबजले गर्दा मात्र सम्भव छ । जबज यसरी लोकतान्त्रिक एवं रूपान्तरणकारी विचार बन्न सक्नुको मूल आधार तत्कालीन नेकपा (एमाले)ले विकास गरेको महाधिवेशन संस्कृतिको विकास पनि एक थियो । वास्तवमा पार्टी महाधिवेशन पार्टीका आम कार्यकर्ताको अदालतको सर्वोच्चता अभिव्यक्त हुने वैधानिक थलो पनि हो।

कार्यकर्ता परीक्षणको विषय हुनु जस्तो जटिल तर अपरिहार्य लोकतान्त्रिक बाटो छल्नु भनेको कम्युनिस्ट पार्टीको नेतृत्व तानाशाही, अधिनायकवादी, आत्मकेन्द्रित, अनियन्त्रित, स्वेच्छाचारी र असहिष्णु हुने खतरा बढेर जानु हो । जननेता मदन भण्डारीले २०४७ सालमा पार्टी एकता, २०४८ सालमा आमचुनावको सामना र २०४९ सालमा स्थानीय चुनावको चटारोको बीचमा २०४९ साल माघमा नेकपा (एमाले) पाँचौँ महाधिवेशन सम्पन्न गरेर लोकतान्त्रिक जीवनशैलीको बालियो जगमा तत्कालीन नेकपा (एमाले)लाई उभ्याएको साक्षी इतिहास छ । त्यसपछि गृहयुद्धको चपेटाको बीचमा एमालेले २०५४ र २०५९ सालमा छैटौँ र सातौँ महाधिवेशन आयोजना गरेको थियो।

२०६५ र २०७१ सालमा सम्पन्न आठौँ र नवौँ महाधिवेशन एकएक वर्ष मात्र ढिलो गरी आयोजना गरिएका थिए । नेकपा जति जति यो संस्कृतिप्रति उदासीन देखिनेछ त्यति नै जोरिपारीबाट तारो भइरहने छ । पंखाको स्वीच बन्द गर्नु छोडेर हातले पंखाको गति रोक्नु सही काइदा नभए जस्तै व्यवहार लोकतान्त्रिक नगरी मौखिक प्रतिवाद समाधान होइन । नेकपाका हरेक व्यवहार लोकतान्त्रिक नभएसम्म कम्युनिस्ट अधिनायकवाद हाउगुजीरूपी नाङलो ठटाएर सत्ता पक्षरूपी हात्ती ठटाउन कांग्रेस जस्तो लामो इतिहास भएको प्रतिपक्ष चुक्नेवाला देखिँदैन।

अहिले तत्काल एक वर्षभित्र राष्ट्रिय चुनाव छैन । यस्तो अनुकूलता छोपेर नेकपाले यही वर्षभित्रै महाधिवेशन आयोजना गर्ने इच्छाशक्ति देखाइरहेको छैन । उल्टै नेकपाको आन्तरिक संवेदनशीलताले महाधिवेशनलाई पर धकेल्दै छ । टीकाप्रथा र खल्तीतन्त्रमा कांग्रेस पनि कम नभएर मात्र हो । नत्र महाधिवेशन नहुनु भनेको पार्टी विजेता रहनुपर्ने जनवाद र कार्यकर्ताको हार हो भने कार्यकर्तापंक्तिको अनुकम्पामा निर्भर रहनुपर्ने केन्द्रीयता र नेतृत्वको मनमौजी र तजबिजीको जित हो । परिस्थितिजन्य संवेदनाको आँकलनबाहेक कुनै पनि निहँुमा नेकपाले महाधिवेशन संस्कृतिको महत्व नबुझ्नु आफैँलाई कमजोर पारेको ठहरिनेछ र अधिनायकवादी भन्नेलाई आरोप लगाउनेलाई मौका प्रदान गरेको ठहरिनेछ।   

सामूहिक नेतृत्व र सहिष्णुता
कपट नगरी जनताको समर्थनमा गरिएको राजनीति मात्र दिगो हुन्छ । उत्कर्ष काल लम्ब्याउनु छ भने नेकपाले जनताको आड लिनुपर्नेछ । जनताको आड पाउन योग्य हुन राजनीतिक शक्ति आफू सत्य आडमा रहेको र आन्तरिक जीवन छलकपटले नभरिएको हुनुपर्छ । राजनीतिमा चलाखी, संकीर्णता र कपटले केही समय अरुलाई नोक्सान पारे पनि अन्ततः सिध्याउने कर्तालाई नै हो । जस्तो कि, नेपाली कांग्रेसले आफ्नो उत्कर्ष काल २०१५ साल, २०४८ साल, २०५६ साल र २०७० सालमा लोकतान्त्रिक शक्तिको विश्वास र साथ आर्जन गर्न र केन्द्रीय राजनीतिको मियो भूमिका निर्वाह गर्न चुक्यो।

२०१५ सालतिर नेकाले वामपन्थीविरुद्ध राजा र राजाविरुद्ध भारत जस्ता भद्दा राजनीतिक समीकरणको खेती ग¥यो र अन्ततः आफैँ उखेलिन पुग्यो । २०६६ सालमा माओवादीविरुद्ध एमालेको प्रयोग २०७२ देखि २०७४ सम्म एमालेविरुद्ध माओवादीको प्रयोग पनि अन्ततः कांग्रेसकै लागि घातक भयो ।  तसर्थ जनताको ठूलो अनुकम्पाले पाएको जनादेशको सदुपयोग गर्न नेकपाले जनताको मन कसरी जित्ने भन्नेतिर केन्द्रित हुनुपर्छ । विनयशील रहने राजनीतिक संस्कार विकास गर्न नेकपाले सक्नुपर्ने छ । जबज लिक

नेकपाले एकता घोषणामै जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई बहसमा लाने उल्लेख  गरेको छ । चुनावी गठबन्धनकै बेला साठी चालीसको अनुपात स्वीकार गरिएको हुँदाहुँदै दुई विचारमाथि बहसको ढोका खुला गर्न तत्पर हुनु तत्कालीन माओवादीले एकता गर्न गरेको त्याग र जनबप्रति देखाएको सदाशयताको प्रमाण हो।

शक्ति पृथकीकरण, आवधिक निर्वाचन, संसद्को उपयोग, संविधानको सर्वोच्चता, आवधिक निर्वाचन, बहुदलीय खुला समाज, बहुमतको सत्तापक्ष अल्पमतको प्रतिपक्ष, बहुलवाद, कम्युनिस्ट पार्टी र यसका नेता र कार्यकर्ता जनताको परीक्षणको विषय हुने तत्परता लगायतका मुद्दाहरूको कम्युनिस्ट पार्टीले गर्ने छलछामरहित प्रतिबद्धताको फहराएको झन्डाको अर्को नाम नै जनताको बहुदलीय जनवाद हो।

प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनमा अभिव्यक्त जनमतको मूल प्रकृति जबजमय छ । यो जनादेश जबजलाई गरिएको जनअनुमोदन थियो । नेकपाले चौबाटोमा उभिएर रणभुल्लमा पर्नुभन्दा जति चाँडो जनताको बहुदलीय जनवादी लिकको महत्व बुझ्नेछ, त्यति आफूमाथिको सन्दहेको छरा मेटाउन सक्नेछ।  

 

प्रकाशित: ३० श्रावण २०७५ ०२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App