coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सुस्त गतिमा तयारी

मंसिरमा हुने भनिएको आठौं राष्ट्रिय खेलकुदको उदघाटन गर्ने तय भएको नेपालगन्ज रंगशाला ।   तस्बिरः नागरिक

बाँके – मध्यपश्चिमले दुइ वर्ष अघि आठौं वृहत राष्ट्रिय खेलकुद महोत्सव आयोजना गर्ने जिम्मेवारी पाउँदा मध्य पश्चिम क्षेत्र निक्कै उत्साहित भयो । वृहत राष्ट्रिय खेकलुदको नाममा मध्य पश्चिममा दीर्घकालसम्म काम लाग्ने थुप्रै पूर्वाधार बन्नेछन् भन्ने आशा थियो। 

तीन दर्जन हाराहारीका खेलमा देशभरका हजारौं खेलाडी र खेलकर्मीको जमघट हुँदा मध्य पश्चिमले गुमाउँनै लागिसकेको खेलकुद पहिचान पुन स्थापित हुने विश्वास थियो । समग्र मध्य पश्चिमको सर्वागिंण विकासमा यो वृहत महोत्सवले ठूलो योगदान गर्ने स्वभाविक आशा बाढिएको पनि थियो।

त्यसैले सुदूर पूर्वको धरान रंगशालामा आगामी संस्करण मध्य पश्चिममा हुने घोषणा भइरहँदा दीप बालेर मध्य पश्चिमवासीले यसको स्वागत गरेका थिए । मध्य पश्चिमका मुख्य सहरमा आठौं वृहत राष्ट्रिय खेलकुद महोत्सव हुने निर्णयले मध्य पश्चिम आफूमा रहेको सम्भावना उजागर गर्न उत्साहित बनेको थियो। 

शहरले यस्ता ठूला खेल महोत्सव आयोजनाको दावी गर्ने क्रममा त्यतिबेला नेपालगन्जको प्रतिद्वन्द्वी पोखरा थियो । तर पोखराको दावीलाई असफल पार्दै मध्य पश्चिमाञ्चल खेकुद विकास समितिका अध्यक्ष भिम ओलीले राष्ट्रिय खेलकुदको झण्डा उचाल्न सफल भए।

झन्डा उचाल्ने बित्तिकै उनीलगायत मध्य पश्चिमका खेल पदाधिकारीले प्रतियोगिताको तयारी सुरु भएको घोषणा गरेका थिए । आयोजनाको जिम्मेवारी पाउँदा उनीहरु पनि उत्साहित थिए । त्यसैले निर्धारित समय (२०७५ मंसिर)मै राष्ट्रिय खेकलुदको आठौं संस्करण सम्पन्न गर्ने उनीहरुले दावी गरेका थिए । प्रतियोगिताका लागि तोकिएको निर्धारित समय नजिकिँदै गर्दा यहाँका खेल पदाधिकारीको दाबी कमजोर बन्दै गएको छ। 

दुई वर्ष अघि घोषणा गर्दाको उत्साह त्यसयता तयारीमा नदेखिँदा समयमा राष्ट्रिय खेलकुद हुनेमै शंसय पैदा भएको छ । भइहाले पनि जुन भव्यताका साथ सम्पन्न गर्ने स्थानीयको आशा थियो, त्यो चाँही नहुने निश्चित छ । थुप्रै स्तरीय पूर्वाधार बन्ने मध्य पश्चिमवासीको आशा पदाधिकारीको टालटुले नीतिका कारण पूरा नहुने पक्का भइसकेको छ। 

महोत्सव उद्घाटन गर्ने योजनामा रहेको नेपालगन्ज रंगशाला निर्माणले गति लिन सकेको छैन । आयोजकले मंसिर २१  देखि २९ सम्म मध्य पश्चिमका बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा आठौं राष्ट्रिय खेलकुद गर्ने भन्दै पूर्वाधार निर्माण काम सुरु गरेको छ । तर चार महिनाभन्दा कम समयमा महोत्सव उदघाटन गर्नुपर्ने रंगशाला खण्डहरको गतिमा रहँदा राष्ट्रिय खेलकुद परिषद (राखेप) को भनाई मान्ने आधार देखिन्न। 

समयमा बजेट निकास नभएका कारण रंगशालाको निर्माण कार्य प्रभावित भएको मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओली बताउँछन् । उनका अनुसार पूर्वाधार निर्माणमा गत आर्थिक वर्षमा साढे १७ करोड रुपैयाँ खर्च भएको थियो । तर रकम भने निकासा भएको छैन। 

उद्घाटन हुने भनिएको नेपालगन्ज रंगशाला निर्माणको लागी सरकारले २५ करोड रुपैयाँ छुटयाएको छ । त्यसमा साढे ६ करोड ट्रयाक एन्ड फिल्ड र १९ करोड रंगशाला निर्माणमा खर्च गर्ने क्षेत्रीय अध्यक्ष ओलीले बताए । तर मुख्य रंगशाला निर्माण गर्ने रकम निकासा नभएपछि आठाैं राष्ट्रिय खेलकुद तोकिएको समयमा आयोजना गर्न अप्ठयारो बन्दै गएको हो । रंगशाला र ट्रयाक बनाउने ठेक्का सुनकोशी कन्स्ट्रक्सन र प्रजिल अभियान जेभीले पाएका छन । ठेक्का पाउने कम्पनीसँग केहि दिनमै सम्झौता हुने बताइएको छ। 

तमाम समस्याका बावजुद अध्यक्ष ओलीले आठाैं राष्ट्रिय खेलकुद समयमै हुने रट लगाउन छोडेका छैनन् । उनले भने, ‘आठाैं राष्ट्रिय खेलकुद समयमै हुन सक्दैन भनेर भन्नु अहिले हतार हुन्छ । हामीसँग करिव चार महिना समय छ । बजेट निकासा हुनेवित्तिकै काम तिव्र गतिमा हुनेछ।’

तोकिएकै समयमा गर्ने नेतृत्वको ढिट र तयारीमा समय कम हुँदै गएपछि पूर्वाधार निर्माणमा गुणस्तरीय काम नहुने र सबै टालटुले पारामा हुने नेपालगञ्जका एक खेलकर्मीले चिन्ता व्यक्त गरे । ‘ठूला प्रतियोगिता यस्तो पारामा तोकिएको समयमा गर्न कठिन हुन्छ । तर आठौं राष्ट्रिय खेलकुदको नाममा हुने पूर्वाधार गुणस्तरीय बन्नु पर्छ । नेतृत्व र प्रशासनलाई जसरी पनि काम गरेर कमिसन खाने लोभ हुन्छ। 

हतारमा काम गर्दा खेलकुदको पूर्वाधार कमजोर बन्न सक्छन । त्यस तर्फ नागरिकको चासो हुनु पर्छ,’ मध्य पश्चिमाञ्चल खेलकुद विकास समितिका ति पदाधिकारीले भने, ‘नेपालगन्जले चौथो राष्ट्रिय खेलकुद आयोजना गर्दा धेरै गुणस्तीय पूर्वाधार पाउँछ भन्ने विश्वास गरेको थियो । तर नेपालगन्जमा त्यतिबेला पनि गतिलो पूर्वाधार बनेन । त्यसको मार हामीले अहिले सम्म खेप्नु परेको छ । सरकारले राष्ट्रिय खेलकुद गर्न १ अर्ब भन्दा बढि रकम छुटयाउन थालेको छ । तर गुणस्तरीय काम हुन सकेको छैन।’

वर्षाका कारण अहिले नेपालगन्ज रंगशाला मैदानमा पानी जमेको छ । रंगशाला निर्माणमा सलग्न प्राविधिकका अनुसार पानी सुकेको १० दिनपछि मात्र काम सुरु हुन सक्छ । लगातार वर्षा भए भदौको अन्तिम सम्मपनि काम सुरु गर्न नसकिने उनले बताए । ‘नेतृत्वले जसरी पनि मंसिरमै गर्नुपर्छ भनेर हामीलाई दबाब दिइरहेको छ । तर भदौको अन्तिमसम्म काम गर्न मौसमले साथ दिँदैन । त्यसपछि एक महिना दशै र तिहारका कारण काम प्रभावित हुन्छ । त्यसैले कामको गुणस्तर कमजोर हुने पक्का छ,’ उनले भने। 

 

प्रकाशित: ३० श्रावण २०७५ ००:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App