८ वैशाख २०८१ शनिबार
खेल

एसियाली खेलकुदमा ७८ वर्षका खेलाडी

जकार्ता – इन्डोनेसियाका सबभन्दा धनी अर्बपति व्यापारी ७८ वर्षे माइकल बाम्बाङ हार्टोनोले जकार्ता र पालेम्बाङमा हुने १८औं एसियाली खेलकुदमा सबभन्दा बढि उमेरको खेलाडीका रुपमा सहभागिता जनाउने भएका छन्। 

बाम्बाङ हार्टोनोले एसियाली खेलकुदको यसै संस्करणबाट थप गरिएको खेल ब्रिजमा सहभागिता जनाउने अन्तरा न्युजले जनाएको छ । बाम्बाङ र उनका भाई बुडी हार्टोनो पछिल्लो १० वर्षदेखि लगातार फोर्बस म्यागजिनको सुचीमा इन्डोनेसियाका सबभन्दा धनी ५० व्यक्तिको सुचीमा परिरहेका छन् । डिजारुम क्लोभ चुरोट कारखानाका साथै बिसिए बैंकका मालिक हार्टोनो दाजुभाईको कुल सम्पत्ति ३४ अर्ब अमेरिकी डलरभन्दा बढि रहेको फोर्बसले जनाएको छ।

एसियाली खेलकुदको तयारीका लागि बाम्बाङ हार्टोनोले पछिल्लो दुई महिनादेखि लगातार ब्रिज खेल्नका लागि युरोप र अमेरिकाको भ्रमण गरिरहेका छन्।

‘स्मरणसक्ति राम्रो बनाउन म ब्रिज खेल्ने गर्छु । मेरो अर्को शौख भनेको ताई चीमा छ । त्यसले मलाई कुनै पनि कुरामा केन्द्रित हुन सघाउँछ,’ मध्य जाकार्तास्थित डिजारुम ब्याडमिन्टन सेन्टरमा उनले शनिबार पत्रकारहरुसँगको कुराकानी गर्ने क्रममा अमेरिकी व्यापारी बिल गेटस र चीनका दिभंगत नेता देङ  सियाओपिङले पनि ब्रिज खेल्ने गरेको प्रशंग कोट्याउँदै भने, ‘ब्रिजमा दाबी प्रक्रिया हुन्छ, त्यसले हामीलाई तथ्यको मुल्यांकन गर्ने कला सिकाउँछ । यो खेलबाट रणनीति बनाउन र सही निर्णय लिन पनि सहयोग पुग्छ।’

६ वर्षको उमेरदेखि ब्रिज खेल्न थालेका बाम्बाङ हार्टोनो इन्डोनेसिया ब्रिज संघको सुपरिवेक्षक बोर्डका अध्यक्ष पनि हुन् । त्यही बोर्डको विशेष प्रयासका कारण ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का अध्यक्ष अकमद अल फाहाद अल अहमद अल साबाह एसियाली खेलकुदको यो संस्करणमा ब्रिज समावेश गर्न सहमत भएका थिए। 

‘सुरुमा ओसिएले ब्रिज समावेश गर्न मानेको थिएन । ब्रिजको नामले यसलाई जुवा ठान्ने कारण ओसिएले अस्विकार गरेको थियो । तर हामीले पछि पाकिस्तान, इजिप्ट र बंगलादेशजस्ता मुस्लिम देशका विश्वस्तरीय ब्रिज खेलाडीको वारेमा जानकारी गराएपछि ओसिएले स्विकार गर्याे,’ बाम्बाङ हार्टोनोले भने।

‘अर्का वरिष्ठ ब्रिज खेलाडी बे्रट टोयर पोलीसँग मिलेर सुपर मिक्स टिम इभेन्टमा प्रतिस्पर्धा गर्न लागेका बाम्बाङ हार्टोनोले एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने अपेक्षा गरेका छन् । इन्डोनेसियाली सरकारले स्वर्ण पदक जित्ने सबै खेलाडीलाई डेढ अर्ब इन्डोनेसियाली आरपी नगद पुरस्कार दिने घोषणा गरेको छ । तर बाम्बाङ हार्टोनोले भने स्वर्ण पदक जिते उक्त पुरस्कार खेलाडीको प्रशिक्षण कार्यक्रमका लागि दिने घोषणा गरेका छन् । ब्रिजको प्रतियोगिता अगस्ट २१ देखि सेप्टेम्बर २ सम्म मध्य जाकार्ताको केमायोरानस्थित जी–एक्स्पोमा हुनेछ। 

प्रकाशित: ३० श्रावण २०७५ ००:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App