८ वैशाख २०८१ शनिबार
खेल

मुद्धा फिर्ता लिन निर्वाचित क्यानको सर्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) विवाद सुल्झाउन बनेको स्वतन्त्र टोलीले सोमबार अदालतमा विचाराधिन मुद्धा फिर्ता लिन आग्रह गरे पनि निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले एकतर्फी रुपमा मुद्धा फिर्ता लिन नसकिने बताए। 

स्वतन्त्र टोली गठन भएपछि सोमबार काठमाडौंमा बसेको पहिलो बैठकले अदालतमा रहेको मुद्धा फिर्ता लिन, राष्ट्रिय खेलुकद परिषद्(राखेप)ले बनाएको तदर्थ समिती भंग गर्न र २०१४ अघिका वित्तिय कारोबार मिलाउन भनेको थियो। 

‘मुद्धा फिर्ता धेरै अगाडीको कुरा हो । त्यसका पनि आफ्नै प्रकृया छन् । कुन समयमा लिने भन्ने हो । तर हामीलाई स्वतन्त्र टोलीको आधिकारिक पत्र आएको छैन,’ महासचिव प्याकुरेलले भने, ‘सबै कुरा सकरात्मक ढंगबाट अघि बढ्यो भने हामी यही मुद्धामा अल्झेर बस्ने कुरा हुदैन । तर एकलौटी ढंगले मुद्धा फिर्ता ली भनेर हुदैन । त्यो भन्दा अगाडी के के कुरा पूरा गर्नु पर्ने हो, त्यो हुनुपर्यो।’

वैशाख ६ गते सम्पन्न निर्वाचित क्यानको विशेष साधारण सभाले सल्लाहकार समितीले बनाएको संशोधित विधानलाई अक्षरस पारित गरेको थियो । उक्त विधानलाई राखेपले स्विकृत गरेपछि पाँच सदस्यीय स्वतन्त्र टोली बनेको थियो । स्वतन्त्र टोलीमा आइसिसीका तर्फबाट मोहम्मद अली अस्लाम, अमर शेख र नितिशा कोथारी तथा निर्वाचित क्यानको तर्फबाट ठाकुरप्रताप थापा र राखेपका तर्फबाट एलबी क्षेत्री छन्। 

स्वतन्त्र टोलीको वैठकले जिल्लाबाट आएको कागजात अध्ययन गरी १५ दिनभित्र सुझाव पेश गर्न कानुनी सल्लाहकार टोलीलाई जिम्मा दिएको थियो । त्यसअघि आइसिसीले सल्लाहकार समितिले बनाएको विधान निर्वाचित क्यानको साधारणसभाले अक्षरस पारित गरे प्रतिबन्ध फुकुवा प्रक्रिया सुरु गर्ने आस्वासन दिएको थियो।

‘हामीले उनीहरुले दिएको विधान हुबहु पास गरेको पनि ३÷४ महिना भइसक्यो । स्वतन्त्र कमिटीको बैठक बल्ल बल्ल बसेको छ,’ प्याकुरेलले थपे, ‘जिल्लाका विवादलगायत अन्य विषयमा सहमति निकाल्न बाँकी नै छन् । सबै कुरा सकरात्मक ढंगले अघि बढ्यो भने हामी पनि त्यही रुपमा अघि बढ्छौं।’ 

मुलपानीको जग्गा विवाद मिल्यो 
मन्त्रीपरिषद बैठकले मुलपानी क्रिकेट मैदानको विवादीत ५२ आना जग्गा सट्टापट्टा गर्न स्विकृति दिएपछि रंगशाला निर्माणमा रहेको जग्गा विवाद सुल्झिएको छ । रंगशाला निर्माण क्षेत्रमा व्यक्तिको जग्गा परेपछि भएको विवादका कारण मुलपानी रंगशाला निर्माण कार्य लामो समयदेखि रोकिएको थियो । ‘मन्त्रीपरिषदबाट जग्गा साट्ने निर्णय भएपछि समस्या सुल्झिएको छ । अब चाढै काम सुरु हुन्छ । दुई वर्षभित्र मुलपानी रंगशाला बन्नेछ,’ राखेपका प्रेस सल्लाहकार रोहित दाहालले भने।

 

प्रकाशित: ३० श्रावण २०७५ ००:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App