coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय फुटबलमा सिल्भाको पूर्णविराम

म्यान्चेस्टर – म्यानचेस्टर सिटीका स्पेनिस विश्वकप विजेता मिडफिल्डर डेभिड सिल्भाले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन्। 

राष्ट्रिय टोलीबाट १ सय २५ खेलमा ३५ गोल गरेका ३२ वर्षीय सिल्भाले सोमबार सामाजिक सञ्जाल ट्वीटरबाट अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका हुन्।

स्पेनको यु–१६ टोलीबाट अन्तर्राष्ट्रिय खेल जीवन सुरु गरेका सिल्भाले यु–१७, यु–१९, यु–२० र यु–२१ टोली हुँदै राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेका थिए । १५ नोभेम्बर २००६ मा रोमानियाविरुद्धको खेलबाट सिल्भाले स्पेनको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए।  

त्यसयता सिल्भा टिमका नियमित सदस्य रहँदै आएका थिए । स्पेनले सन् २००८ मा युरोपियन च्याम्पियनसिप, सन् २०१० मा विश्वकप र सन् २०१२ मा युरोपियन च्याम्पियनसिपको उपाधि जित्दा सिल्भा टोलीका महत्वपूर्ण सदस्य थिए।
संन्यासको घोषणा गर्ने क्रममा सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट विदा लिने निर्णय गर्न निक्कै कठिन भएको बताए। 

‘स्पेनको राष्ट्रिय टोलीबाट खेल्दा धेरै नै गौरवको महसुस हुन्छ । किनकी यहाँ मैले उत्कृष्ट समय बिताएको छु । संन्यासको निर्णय गर्नु मेरो खेल जीवनकै सवैभन्दा गाह्रो क्षण बन्यो’ संन्यासपछि सिल्भाले भने, ‘टिमलाई सधै सम्झिरहने छु । संन्यास लिने निर्णयले मलाई केही दिन दुखित बनायो । टिममा रहँदा देशले मेरो व्यक्तिगत खेल विकासका लागि ठूलो सहयोग गर्याे, निकै आभारी छु।’

स्पेनिस टोलीका पूर्व प्रशिक्षक लुइस एरागोनेसप्रति सबभन्दा बढि आभारी रुपमा प्रस्तुत भएका सिल्भाले अत्यन्तै भावुक रुपमा विदा हुन लागेको प्रतिक्रिया दिए । ‘लामो समय स्पेनको टिमबाट खेल्दा एउटा खेलाडीका रुपमा मैले देखेका सबै सपना पूरा भएका छन् । त्यसैले देशको जर्सी लगाएर खेल्दाका सबै सहयात्रीहरुलाई जीवनभर विर्सन सकिने छैन।

एरागोनेसजस्ता महान प्रशिक्षकको नेतृत्वमा खेलेका स्वर्णिम क्षणहरु सधै सम्झनामा रहनेछन्,’ उनले थपे, ‘हामीले एउटा टिमका रुपमा धेरै उपलब्धि हासिल गरेका थियौं । उमेर सधै एकठाउँमा अडिदैन । मेरो पनि अब विदा हुने उपयुक्त समय आएको छ। टिमका प्रत्येक सदस्यप्रति आभार व्यक्त गर्दै म विदा हुँदैछु । स्पेनबाट खेल्दा समर्थकको ठूलो साथ पाएँ । त्यसका लागि समर्थकलाई पनि धन्यवाद दिन चाहन्छु।’

बार्सिलोनाका स्पेनिस रक्षक जेरार्ड पिकेले यसअघि शनिबार अन्तर्राष्ट्रिय करियरमा पूर्णविराम लगाउने घोषणा गरेका थिए । पिकेको संन्यासको दुई दिन नबित्दै सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्। 

 

प्रकाशित: ३० श्रावण २०७५ ००:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App