८ वैशाख २०८१ शनिबार
राजनीति

नागरिकता विधेयक स्वीकृत

काठमाडाैं- प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री रामबहादुर थापाले सो विधेयक प्रस्तुत गरेका थिए। 

विधेयकमाथि सांसदले बसको टिकट जस्तो नागरिकता नबाँडियोस् भन्दै आमाको नामबाट नागरिकता पाउने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन जोड दिए। संविधानले महिला तथा पुरुषलाई समान हक दिए पनि नागरिकता लिन बाबुकै नाम र पहिचान चाहिने व्यवस्था विभेदकारी भएकाले यसबाट कैयौँले दुःख पाएको उल्लेख गर्दै उनीहरुले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ ले सो समस्यालाई समाधान गर्नुपर्ने बताए। 

नेपालीलाई नागरिकता–गृहमन्त्री थापा 

गृहमन्त्री रामबहादुर थापाले नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकता विधेयक ल्याएको बताए।   नागरिकताको विषयमा कुनै पनि प्रकारको भेदभाव र विभेद हुन नहुनेमा सरकार प्रतिबद्ध रहेको बताउँदै उनले यसमा समान अधिकार हुने स्पष्ट पारे। 

गृहमन्त्री थापाले नागरिकताको विषय राष्ट्रिय पहिचान, अस्मिता र सुरक्षासँग जोडिएको उल्लेख गर्दै गैरनेपाली र विदेशीले नागरिकता नपाऊन् भन्नेमा सरकार गम्भीर रहेको बताए। विगतमा रहेका कमजोरीलाई सच्याउने प्रयत्न गरिएको जानकारी दिँदै उनले सदनबाट प्राप्त हुने सुझावलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए। 

गृहमन्त्री थापाले आमाको नाममा नागरिकता दिने विषयलाई प्रस्तावित ऐनमा विशेष व्यवस्था गरिएको उल्लेख गर्दै विधेयकमा भएका कमीकमजोरीलाई परिमार्जन गरेर पारित गरिने बताए। रासस

प्रकाशित: २९ श्रावण २०७५ १६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App