७ वैशाख २०८१ शुक्रबार
अन्य

युवा को हो ? सधैँ युवा कसरी बनिरहने ?

सामान्य अर्थमा युवालाई उमेरअनुसार विभाजन गरेको पाइन्छ । हामीले युवा भन्नेबित्तिकै बाल्यावस्था पार गरेको तर वृद्धावस्थामा प्रवेश गरिनसकेको मानिसलाई युवा भन्ने सोच्छौँ । के युवा उमेर मात्रै हो त ?

अथवा अरू कुनै मापदण्ड पनि छ । त्यसमा नेपालको संविधानले पनि युवा १६ वर्षदेखि ५९ वर्ष सम्मकोलाई मानेको छ । हामी यस लेखमा युवा को हो ? कस्तो व्यक्तिलाई युवा भन्ने बारे चर्चा गर्नेछाैं । 

युवा को हो ?

विशेष गरेर युवालाई तीन भागमा छुट्याउन सकिन्छ । पहिलोमा क्रोनोलोजिकल जसमा क्यालेन्डरमा आधारित उमेर हुन्छ । हामी जन्मेको साललाई आधार मानेर उमेर छुट्याउने गर्छाैँ । अर्काे हुन्छ शरीरको उमेर जसलाई बायोलोजिकल उमेर भनिन्छ । बायोलोजिकल उमेर भनेको कोही मानिस धेरै वर्षको भइसक्दा पनि कम उमेरको देखिन्छन् भने कुनै मानिस  कम उमेरमै धेरै वर्षको जस्तो देखिन्छन् । यसैलाई एजिङ फ्याक्टर पनि भनिन्छ । तेस्रोमा साइकोलोजिकल एज रहेको छ । यो भनेको विलकुलै मनुष्यको सोचाइ, बोलाइ, काम गराइ, कुरा बुझ्ने क्षमता, जोस, जाँगर, उमंग, ऊर्जा कस्तो छ ? कुनै पनि नयाँ काम देख्नेबित्तिकै गर्न तम्सिहाल्ने, नयाँ वस्तु नयाँ प्रविधि देख्नेबित्तिकै त्यसैमा उत्सुकता जगाउने छ कि छैन यदि माथि उल्लेखित कुरामा सकारात्मक जुनसुकै उमेरको मानिसमा पनि पाउन सकिन्छ भने त्यो व्यक्ति युवा हो । युवा परिवतर्नशील हुन्छ । उसको सोच, व्यवहार पूरै नयाँ हुन्छ । 

सीमामा बाँधिदैन 

जो व्यक्तिमा युवा सोच, विचार र उमंग छ त्यो व्यक्ति कुनै पनि सीमामा बाँधिदैन । उसले आफूलाई खुला बनाउँछ । युवा भ्रममा बाँच्दैन, अनुमान गरेको कुरालाई आधार मानेर आफ्नो धारणा बनाउँदैैन, युवाले त निरन्तर खोज, अनुसन्धान तथा अन्वेषण गरेर सत्यतथ्य पत्ता नलागुञ्जेल कुनै पनि विषयमा आफ्नो धारणा बनाउँदैन । जो भर्खरको उमेर हुँदाहुँदै पनि भ्रममा बाँच्छ अनुमान गरेको कुरालाई आधार मानेर आफ्नो धारणा बनाउँछ ऊ वृद्ध हो ।

सधैँ सिकिरहन चाहन्छ 

हाम्रो यस धर्तीमा यति धेरै कुरा छन् । जुन यो ८०/१०० वर्षको सीमित अवधिमा आफूले चाहे जस्तो गर्न असम्भव छ । यदि सधैँ हामी युवा रहिरहन चाहन्छाैं भने सिक्ने चाहना, अभिलाषा, इच्छा, नयाँ कुराप्रति चाख लगाव भइरहनुपर्छ । निरन्तर सिक्ने चाहना भइरहनुपर्छ । जो व्यक्ति आफूले सिकेर सकियो, आफूले नजानेको केही छैन, नयाँ कुरा छ सानै भए पनि चासो देखाउँदैन भने त्यो युवा होइन । 

युवालाई हर कुरामा जिज्ञासा हुनु राम्रो आवश्यक छ । जिज्ञासा लागेपछि त्यसलाई सोधखोज गर्नेतर्फ ऊ लागिपर्छ, सत्य कुरा के रहेछ त ? भनेर खोज तथा अनुसन्धानमा जो लागिरहन्छ त्यो नै युवा चाहना हो । 

परम्पराबाट मुक्त

युवाले कुनै पनि रुढीवादी कुरालाई मान्दैन । चाहे त्यो सामाजिक, धार्मिक राजनीतिक, सांस्कृतिक अथवा अरू कुनै कुरा होस् । युवाहरु परम्परावादी सोचबाट मुक्त हुन्छन् । उदाहरणका लागि पहिले सूर्यले पृथ्वीलाई घुम्छ भन्ने मान्यता राखिन्थ्यो तर युवा मन भएको वैज्ञानिकले पृथ्वी आफैं घुम्छ भनेर प्रमाणित गरेर देखाइदिए । के त्यति बेलाका युवाले परम्परालाई मानेको भए यस्तो शास्वत सत्य कुरा बाहिर आउँथ्यो ?

विज्ञानमा धेरै कुराहरु पत्ता लागेका छन् । समाजमा विद्यमान धार्मिक मूल्य मान्यता, चलिआएका चालचलनहरु धेरै हुन्छन्, जुन कुरा युवा मनलाई पच्दैन युवाले जुनसुकै प्रकारका रुढिवादी अन्धविश्वासका कुरालाई मान्दैन । नमान्ने मात्र होइन, यो कारणले होइन भनेर तथ्यसहित प्रमाणित गरेर देखाउँछ । 

विश्वास र मान्यतामा युवा टिक्दैन । युवाले त्यस्ता विश्वास र मान्यताको पर्खाललाई भत्काइदिन्छ । आफ्नो जीवनमा त्यो कुरा भोगेपछि मात्र के ठिक के बेठिक भनेर छुट्टाउने कार्य गर्छ । 

जो हार्न डराउँदैन

डर, भय, त्रासमा जो छ, त्यो २५ वर्षको भए पनि त्यो वृद्ध हो । जो व्यक्ति जोखिम मोल्न चाहँदैन उसलाई अब हुन सक्ने घटनालाई सम्झेर डर, भय । सन्त्रासमा बाँच्छ त्यो कुनै हालतमा युवा हुन सक्दैन । 

यदि समाजमा चलिआएका संस्कृति, रीतिरिवाज लोप हुन्छ कि भन्ने ठानेर डराउने, नयाँ कुरा खोजी गर्न सक्दिैनजस्तो लाग्ने, धक मान्ने, कुनै पनि नयाँ काम आयो भने हुन्न कि, सक्दिन कि भन्ने व्यक्ति युवा हुन सक्दैन । युवामा जुनसुकै परिस्थितिसँग पनि जुध्न सक्ने र जे कामलाई पनि सकारात्मकताका साथ ग्रहण गरेर पूरा गर्न सक्छु भन्ने जोस जाँगर हुन्छ । पछि हुने नतिजामा के हुन्छ, कसो हुन्छ भनेर चिन्ता गर्दैन चिन्तन गर्छ ऊ नै युवा हो । वैज्ञानिकहरुले जति पनि आविष्कार गरेका छन् उनीहरुले चिन्ता, भय, डरले मुक्त भएर आविष्कार गर्न सकेका हुन् । विद्युत आविष्कार गर्ने वैज्ञानिकले पनि सयौं चोटी असफल भएर पनि अन्त्यमा सफलता हासिल गरेका हुन् । तसर्थ जति पनि आविष्कार भएका छन् ती आविष्कारहरु हार्न नजानेका कारण सम्भव भएका हुन् । अठोटले गर्दा नै भएका कामहरु सफल भएका हुन् । युवामा अठोट र काम गर्ने जाँगर पर्याप्त हुन्छ । 

स्वभावैले विद्रोही

अध्यात्मले के भन्छ भने युवा स्वभावैले विद्रोही हुन्छ । त्यस्ता व्यक्ति मुश्किलले केही मात्र हुन्छन् । युवाभित्र विद्रोहको आगो बल्छ । त्यो विद्रोह हामीले राजनीतिमा देख्ने गरेको जस्तो होइन । एउटा वाद फालेर अर्काे वाद ल्याउन गरिने काटमारलाई मैले विद्रोह भन्न खोजेको हैन । एउटाको सालिक फालेर अर्काको सालिक स्थापना गर्नेलाई विद्रोह भन्न खोजिएको हैन । 

युवा विद्रोह त्यस्तो हुन्छ जसले शान्तिको मार्गबाट आफूले सोचेको सत्यतथ्य कुरालाई लागू गराउन विद्रोहको विगुल फुक्छ । ऊ आफू पनि परिवर्तन हुन्छ र समाजलाई पनि रूपान्तरित गर्ने हैसियत राख्छ । महात्मागान्धीले भनेका छन्, जो व्यक्ति आफूलाई परिवर्तन नगरी अरूलाई परिवर्तन गराउन खोज्छ, त्यो मूर्ख हो, ढोगी प्रवृत्ति हो । त्यसकारण जो व्यक्ति परिवर्तन हुन चाहन्छ ऊ आफैँ रूपान्तरित हुन्छ । इतिहासमै सबैभन्दा युवा व्यक्ति भगवान् गौत बुद्धलाई लिन सकिन्छ । 

गौतम बुद्धको शरीर बुढो भएर ब्रह्मलीन हुँदा पनि उनी युवावस्थामै थिए । उनको सोच विचार र चिन्तनशीलतामा अलिकति पनि पहिलेको तुलनामा घटबढ भएको थिएन ।

आस गर्दैन

युवा कहिले पनि आसे हुँदैनन् । भगवान् गौतम बुद्ध दरबारमा जन्मिएर पनि दरबारको कुनै लोभ लालच नराखी जंगलमा गएर ध्यान गर्नुभयो । उहाँले न त सम्पत्तिको आस गर्नुभयो न त अरू कुराको । यसबाट के कुरा प्रस्ट हुन्छ भने युवाले आफैँमाथि आस राख्छ अरूप्रति होइन । युवाले आफूमा विश्वास राख्छ अरूमा होइन । ऊ आत्मविश्वासी हुन्छ । भगवान् गौतम बुद्धले आफैँ माथि विश्वास राखेर अझ हजार वर्षभन्दा बढी हुँदा पनि सबैको मनमा बस्न सफल हुनुभएको हो । 

सनातन र आधुनिकताको सेतु

युवाले पुराना मूल्य मान्यतालाई ठिक छ कि छैन भनेर सत्यतथ्यको खोजी गरेर यदि सत्य कुरा भेट्यो भने उसले मान्छ र नयाँ खोज तथा अनुसन्धानमा लागिरहन्छ । युवा सनातन र आधुनिकताको सेतु हो ।

युवा अरुले बनाएको बाटोमा हिँड्न जरुरी छैन । सबैलाई सम्मान गर्छ तर रुढीवादलाई मान्दैन । युवामा असीमित ऊर्जा हुन्छ । ऊर्जा भनेको खुट्टा हो । दृष्टिकोण भनेको, आँखा हो । अहिलेको युवासँग खुट्टा छ । आँखा छैन । अरुले जे गर भन्यो त्यही गर्छन् । त्यस्तो युवालाई पूर्ण युवा भनिँदैन । ऊ आधा युवा हो । खुट्टा भएको आँखा नभएको अर्थात् ऊर्जा भएको तर दृष्टिकोण नभएको हिजो आजका प्रायजसो युवामा उर्जा छ तर दृष्टिकोण छैन ।

यदि ऊर्जा र दृष्टिकोणको समागम भयो भने व्यक्तिमा बहुर्मुखी प्रतिभाको  विकास हुन्छ । तर के ठिक हो होइन भनेर जसले तराजुमा राखेर सबै कोणबाट हेर्छ सबै चिज हेर्छ त्यो व्यक्ति आध्यात्मिक हुन्छ । जसको जीवनमा कुनै पूर्वाग्रह हुँदैन, यो ठिक बेठिक भन्ने नै छैन । आफ्नो साधनाबाट व्यक्तिको मनमा जे आउँछ त्यो व्यक्तिलाई आध्यात्मिक मानिस भनिन्छ । यस्तो युवा आयो भने सबैलाई परिवर्तन गर्छ । परिवर्तनका लागि धेरै शक्ति शक्ति चाहिन्छ त्यो शक्ति त्यस प्रकारको युवामा हुन्छ । 

प्राध्यापक, पोखरा विश्वविद्यालय 
तथा जीवन विकास विशेषज्ञ

प्रकाशित: २९ श्रावण २०७५ ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App