८ वैशाख २०८१ शनिबार
अन्य

साना र ठूला छोराछोरीलाई समान व्यवहार

सृजना पाण्डेय

व्यावहारिक झन्झट र तनावले दिक्क हुँदा हामी भन्छौँ केटाकेटी हुनु कति आनन्द ! यो भएन, त्यो भएन केही नचाहिने । बुबा–आमाले जसरी पनि पु-याएका छन्, खेल्यो खायो ढुक्क । हामीले मात्र होइन, ठूला–ठूला कवि–लेखकहरूले पनि बाल्यकाललाई सुखको जीवन भनेका छन् र आफू पुनः  बालजीवनमा फर्कन पाए हुन्थ्यो भन्ने अभिव्यक्ति पनि दिएका छन् । सामान्य दृष्टिले हेर्दा यो कुरा ठिकै हो तर बालजीवन पनि हामीले सोचेजस्तो सुखैसुखको जीवन चाहिँ होइन । त्यस अवस्थाका पनि आफ्नै समस्या हुन्छन्, अवस्थाअनुसारका आफ्नै तनाव हुन्छन् । अधिकांश समय हाँसीखुसी बिताए पनि उनीहरूलाई स–साना कुराले तनाव दिइरहेका हुन्छन् । यस्ता तनावबाट मुक्त राखेर हाम्रा नानीबाबुहरूलाई कसरी खुसी राख्न सकिन्छ भन्ने कुरा चर्चा गरौँ । 

परिवार विभिन्न उमेरसमूहका सदस्यहरू हुने संस्था हो । यसमा सानो उमेरदेखि पाको उमेरसम्मका फरक–फरक रुचि र फरक–फरक आवश्यकता भएका सदस्यहरू हुन्छन् । सदस्य सङ्ख्या थोरै भए पनि धेरै भए पनि उनीहरूका उमेरमा समानता हुँदैन । संयुक्त परिवारमा धेरै सदस्य हुने भएकाले एउटै उमेरका एकभन्दा बढी सदस्य हुन सक्छन् तर एकल परिवारमा भने यस्तो सम्भावना अझ कम हुन्छ । उनीहरूको उमेरअनुसारका जिम्मेवारी र आवश्यकता पनि फरक–फरक नै हुन्छन् । परिवारमा सानो उमेरका बालबालिकाको आवश्यकता के हो ? उनीहरूको रुचि के हो ? कस्तो वातावरणमा उनीहरूलाई हुर्काउने भन्ने कुरा प्रौढ सदस्यहरूले सोच्नुपर्ने कुरा हो । 

बच्चाको उमेर बढ्दै जाँदा उसका स्वभाव, बानीव्यवहार र रुचिहरू परिवर्तन हुँदै जान्छन् । अभिभावकले साना–ठूला नानीबाबुहरुका बानीव्यवहार बुझ्न आवश्यक छ । बालबच्चालाई आवश्यक परेका बेला अवस्था सुहाउँदो, सानो र ठूलो बच्चालाई मेल खाने समान व्यवहार गर्दा उनीहरू बढी खुसी हुन्छन् । हामीले समान व्यवहार गर्दा उनीहरुको चाहनाअनुसार, मिल्नेखालको, अवस्था र उमेरअनुसार, समान व्यवहार गर्दाका फाइदा बेफाइदा के–कस्ता हुन्छन् त्यसको विचार गरेर समान व्यवहार गरौं । 

बच्चालाई कसरी समान व्यवहार गर्ने ?

नेपालका सन्दर्भमा हिजोआज ठूलो र संयुक्त परिवारभन्दा एकल परिवारको बसाइ बढी देखिन्छ । यस्तो परिवारमा बुबा–आमा र दुई तीनजनासम्म छोराछोरी हुन्छन् । छोरा–छोरा होऊन् वा छोरा–छोरी जे भए पनि उनीहरूको उमेर फरक–फरक हुन्छ । उमेरअनुसार उनीहरूको स्वभाव, रुचि र आवश्यकता पनि फरक–फरक हुन्छन् । खास गरी खाने, लगाउने, खेल्ने, हिँडडुल र घुमघाम गर्ने, स्कुल जाने, घरको काम गर्नेजस्ता कुरामा बुबा–आमाले उनीहरूको अवस्था हेरेर सुहाउने खालको व्यवहार गर्नुपर्छ । समान व्यवहार भन्नाले बराबरको व्यवहार त हो नै यसो गर्दा उनीहरूका रुचि, आवश्यकता र क्षमताको बढी ख्याल गर्नुपर्ने हुन्छ । 

बुबा–आमाले कुनै पनि छोराछोरीलाई मलाई कम माया ग-यो उसलाई बढी माया ग-यो भन्ने नलाग्ने किसिमको व्यवहार गर्नुपर्छ । संयुक्त परिवारमा फरक–फरक आमा–बुबाका समानखाले धेरै केटाकेटी हुन्छन् । यस्तो अवस्थामा आफ्ना छोरा–छोरीलाई फरक र अरूका छोराछोरीलाई फरक व्यवहार गरियो भने बच्चाहरूले आपूmसँग गरिएको व्यवहारको भित्रभित्रै मूल्याङ्कन गर्छन् र अप्रिय व्यवहार भएमा खिन्न हुन्छन् । त्यसैले अवस्था, परिवेश ठाउँअनुसार समान व्यवहार गर्नुपर्छ । संयुक्त परिवारमा हजुरबुबा–हजुरआमाले पनि आफ्ना छोरा–छोरी र नाति–नातिनीमा समान व्यवहार गर्नुपर्छ । धेरै बालबालिका हुनेहरूले पनि केटाकेटीको उमेर र उनीहरूको स्वभावअनुसार मिल्ने खालको समान व्यवहार गर्नुपर्छ । 

उमेरअनुसारको समान व्यवहार

कसैको परिवारमा उमेरको अन्तर कम भएका बालबालिका हुन्छन्, कसैको परिवारमा बढी उमेर अन्तरका । हामीले उमेर, अवस्था, परिस्थिति, वातावरण हेरेर बालबालिकालाई समान व्यवहार गर्नुपर्छ । उमेरको कम अन्तर भएका बालबालिकालाई खानेकुरा पनि उस्तै–उस्तै किसिमको खुवाउन मिल्छ र खुवाउनुपर्छ तर धेरै उमेर अन्तरका बालबालिकामा खानेकुराको किसिम फरक हुन सक्छ । धेरै सानो बच्चा छ भने नरम खालको खानेकुरा खुवाउनुपर्छ । अलि ठूलो बच्चालाई अलि फरक खालको खानेकुराको आवश्यकता पर्छ । उनीहरुलाई कपडा किनिदिँदा पनि कस्तो रङ मन पराउँछन्, कस्तो डिजाइनको कपडा मन पराउँछन् त्यो कुरा बुझेर किनिदिँदा उनीहरू बढी खुसी हुन्छन् । कि त अभिभावक आफैंँले कस्तो परिवेशका लागि चाहिएको हो, कसलाई कस्तो सुहाउँछ र मन पर्छ त्यो बुझेर किनिदिनुपर्छ । साना–साना बालबालिका छन् भने एकै रङका कपडा किनिदिन पनि सकिन्छ । समान खालको किनिदिएन भने एकले अर्काको खोस्ने, उसलाई यस्तो मलाई यस्तो भन्ने र भित्रभित्रै उसलाई बढी माया गरेको र आफूलाई कम माया गरेको भनेर बेखुसी हुन्छन् । सकेसम्म उनीहरुलाई मन पर्ने रङ छानिदिनुपर्छ । नभए उनीहरुलाई सुहाउने, मिल्ने खालको रङको कपडा किनिदिनुपर्छ । घुमघाम र भेटघाटमा जाँदा सकेसम्म सबै छोराछोरीलाई सँगै लैजाने र खेल्ने बेला सँगै खेल्ने वातावरण बनाइदिनुपर्छ । यसले अरू थुपै्र किसिमका तिक्ततालाई बिर्साइदिन मद्दत पु-याउँछ । 

लैङ्गिक रूपमा समान व्यवहार

हिजोआज सहर र सहरोन्मुख क्षेत्रमा बसोबास गर्ने समाजमा लैङ्गिक समानताका विषयमा चेतनाको स्तर धेरै बढिसकेको छ तर देशैभरिको यही रूपमा मूल्याङ्कन गर्न भने मिल्दैन । परिवारमा छोरा र छोरीका बीच हुने विभेद पहिले जस्तो त अहिले छैन तर कतै कम र कतै बेसीरूपमा छोराछोरीबीच फरक व्यवहार पाइन्छ नै । घरमा आमा–बुबाले गर्ने व्यवहारले छोराछोरीको आत्मविश्वास विकासको कुरामा निकै प्रभाव पारेको हुन्छ । परिवारमा छोरालाई फरक र छोरीलाई फरक व्यवहार कदापि गर्नुहुँदैन । उनीहरूका रुचि, आवश्यकता र क्षमताको विचार गरी अभिभावकले छोराछोरीमा समान व्यवहार गर्नुपर्छ । अभिभावकको व्यवहारले छोरालाई म केटो हुँ, जे गर्न पनि स्वतन्त्र छु र मलाई सबैले बढी माया गर्छन् भन्ने घमन्ड नहोस् र छोरीलाई म केटी हुँ, म केटाहरूभन्दा बढी दबिनुपर्छ र मलाई केटालाई जति माया गर्दैनन् भन्ने हीनताबोध नहोस् । 

फरक व्यवहार गर्दा हुन सक्ने प्रतिक्रिया 

छोरो होस् वा छोरी परिवारमा सानालाई मात्र माया ग¥यो भने ठूलो बच्चाले अब बाबामम्मीले मलाई हेर्न छोड्नुभयो, सानो भाइ बैनीलाई मात्र माया गर्नुहुन्छ भन्ने नकारात्मक किसिमको मानसिक असर पर्न थाल्छ । त्यसको असर उसमा पछिसम्म पनि परिरहन सक्छ । यसको परिणाम ठूलो बच्चा बुबा–आमाले भनेको नमान्ने, भाइबैनीलाई केही कुरामा पनि मायाममताको भावना नराख्ने, झर्कोफर्को गर्ने, भाइबहिनीलाई कुटपिट गर्ने, बुबा–आमा भाइबैनीलाई बेवास्ता गर्ने हुन्छ । उसले बुबा–आमाले भनेको नमान्ने, एकाहोरो किसिमको व्यवहार गर्ने, टोलाउने, बाहिरबाहिर मात्र हिँडिरहने, साथीहरुको बढी सङ्गत गर्ने र उनीहरुले भनेको मात्र मान्ने हुन सक्छ । 

बच्चाहरु कस्तो व्यवहारको अपेक्षा गर्छन् ? 

बच्चाहरू आफ्ना बुबाआमाले सधैँ मलाई मात्र माया गरून्, अरूलाई जेसुकै गरून्; मिठो खानेकुरा पनि मलाई मात्र दिऊन् भन्ने चाहन्छन् । परिवार एकल होस् वा संयुक्त जति धेरै बच्चा होऊन् ती सबैलाई लाग्छ सबैलाई भन्दा मलाई नै माया गरून्, मेरो कुरा नै सुनिदिऊन् । अरुको पक्षमा नलागून् । मिठो खानेकुरा आफैंले धेरै खान चाहनु, सबैभन्दा राम्रो लाउन चाहनु, खेलमा आफ्नै जित चाहनु, घुमघाम र मनोरञ्जन गर्न चाहनु केटाकेटीको स्वभाव नै हो । आफ्ना बालबालिकाका यी सबै भावना बुझेर उनीहरूका चाहना समानरूपमा पूरा गरिदिनु अभिभावकको दायित्व हो । उनीहरूका चाहना पूरा गरिदिँदा समान व्यवहार होेस्, विभेद नहोस् भन्ने कुरामा अभिभावकले ध्यान पु-याउनुपर्ने हुन्छ। 

बालबालिकाको मानसिकता कसरी बुझ्ने ? 

घरमा सबै बच्चा बराबर हुँदैनन् । कुनै बच्चा सानो हुन्छ कुनै ठूलो । तिनीहरुलाई कसरी समान व्यवहार गर्नुपर्छ भन्ने थाहा पाउनका लागि अभिभावकहरुले सबैभन्दा पहिलो कुरा त उनीहरूको मानसिकता बुझ्नु जरुरी हुन्छ । यसका लागि बालमनोविज्ञानको अध्ययन सहयोगी हुन सक्छ । सक्नेले बालमनोविज्ञानका किताब नै पढ्दा राम्रो हुन्छ । नसक्नेले बालबालिकाले कस्तो व्यवहार गर्छन् र कस्तो व्यवहार मन पराउँछन् भन्ने कुरा राम्ररी ख्याल गर्दा उनीहरूको मनस्थिति बुझ्न सकिन्छ ।  बालमनोविज्ञानको अध्ययनले कत्रो बच्चाका रुचि कस्ता हुन्छन् ? बढ्दै जाँदा बच्चामा कस्ता परिवर्तन आउँछन् ? उनीहरूका आवश्यकता के हुन् ? भन्ने जान्न सहयोग पु-याउँछ । यसरी उनीहरूमा आउने परिवर्तन, चाहना र आवश्यकताको जानकारी भएपछि त्यही अनुसार बच्चालाई उमेर–अवस्था, रुचि र आवश्यकताअनुसार समान व्यवहार गर्न सकिन्छ । 

सानालाई कुन–कुन कुरामा बढी ख्याल गर्ने ?

समान व्यवहार भनेको विवेकविनाको समानता भन्ने होइन, समान माया–ममता दिनु भन्ने हो । बालबालिकाका आवश्यकता र रुचिअनुसारको व्यवहार हो । त्यसैले साना र ठूलालाई गर्ने व्यवहारमा केही फरक हुन्छ नै तर त्यस्तो फरक आवश्यकताअनुसारको हुनुपर्छ र माया चाहिँ समान हुनुपर्छ । सानाको खानेकुरा र ठूलाको खानेकुरामा पनि फरक पर्छ । सानालाई जाडो महिनामा चिसो लाग्छ भनेर घाममा राखेर तेल लगाइदिने, तातोतातो खानेकुरा खानदिने, घुमाउन लैजाँदा बोक्ने गर्नुपर्छ भने यस्ता काम ठूलाले आफैँ गर्न सक्ने हुनाले उनीहरूलाई त्यस्ता काममा प्रेरित र उत्साहित गरे मात्रै पनि पुग्छ । खेल्ने, खाने, बस्ने, कुरा गर्ने, सरसफाइ गर्ने, लुगा लगाउने, अभिवादन गर्ने, दाजुदिदीले उसलाई कस्तो व्यवहार गरेका छन् भन्ने जस्ता कुरामा सानालाई बढी ख्याल गर्नुपर्ने हुन्छ । 

ठूलो बच्चालाई कुन–कुन कुरामा बढी ख्याल गर्ने  

बच्चाहरू किशोरावस्थातिर बढ्दै जाँदा उसका आनीबानी, स्वभाव र चाहनामा पनि परिवर्तन हुँदै जान्छ । यो अवस्थामा केटाकेटीहरू बुबा–आमासँग नजिक हुन नखोज्ने, साथीहरू धेरै बनाउन चाहने, उनीहरूको कुरामा बढी विश्वास गर्ने हुन्छन् । अल्लारेपन बढ्दै जान्छ र बुबा–आमाले यसो गर्नुहुन्न भन्दा रिसाउने, झर्किने र बुबा–आमाका कुरा नसुन्ने हुन सक्छन् । यस उमेरका बच्चाले जसलाई पनि तुरुन्त साथी बनाउने हुनाले उनीहरूको सङ्गत कस्तो छ ? साथीहरू कस्ता–कस्ता छन् ? ती साथीहरूका क्रियाकलाप कस्ता छन् भन्ने कुरा बढी ख्याल गर्नुपर्ने हुन्छ । साथीहरूका कुरामा चाँडै विश्वास गर्ने र त्यस्ता कुरा चाँडै सिक्ने भएकाले साथीसँगीको ख्याल अभिभावकले गरिरहनुपर्छ । साथीहरूका माझमा आपूm कोहीभन्दा कम छैन भन्ने देखाउन उनीहरू सधैँ प्रयत्नरत हुन्छन् । त्यसैले उनीहरूको खानपान, लुगाफाटो, खेलौना, अन्य उपभोगका सामान, घुमफिर र त्यसबाट प्राप्त हुने जानकारी कसरी उसको खुसीका लागि र राम्रो बानी विकासका लागि हुन सक्छन् भन्ने कुरामा बढी ध्यान दिनुपर्ने हुन्छ । 

शिक्षकले साना र ठूला विद्यार्थीमा समान व्यवहार कसरी गर्ने

प्रथमतः शिक्षकले बालमनोविज्ञानसम्बन्धी आवश्यक ज्ञान आर्जन गर्नुपर्छ । बालमनोविज्ञानको अध्ययनले विद्यार्थीको उमेरअनुसार उनीहरूका इच्छा, रुचि र चाहना थाहा पाउन मद्दत मिल्छ । यसले गर्दा बालबालिकालाई सजिलैसँग आफ्नो अनुशासनमा राख्न सकिन्छ । उनीहरुलाई राम्रोसँग बुझाउन र शिक्षणसिकाइलाई प्रभावकारी बनाउन सकिन्छ । बुबा–आमाले जस्तै शिक्षकले पनि सानो र ठूलो विद्यार्थीलार्ई समान माया–ममता देखाउनुपर्छ । बच्चाको सिक्ने क्षमताअनुसार उनीहरुलाई सिकाउने तरिका, बुझाउने तरिका शिक्षकले अपनाउनुपर्छ । शिक्षकले बालबालिकाका रुचि र क्षमताको पहिचान गर्न सके भने मात्र उनीहरूलाई सिकाउन सही विधि अपनाउन सक्छन् । यसो गर्दा बच्चाले पनि चाँडै सिक्छ । शिक्षकले पनि झर्कोफर्को गर्नुपर्दैन । बच्चालाई शिक्षकको माया जति कमबेसी हुन्छ त्यति सिक्ने प्रक्रिया पनि कमबेसी हुन्छ । 

स्कुलबाटै बालबच्चाको बानी व्यवहार थाहा हुन्छ

अभिभावकलाई साना बालबच्चाको आनीबानी के कस्तो छ भनेर स्कुलबाटै रिपोर्ट कार्ड उपलब्ध भएको हुन्छ । रिपोर्ट कार्डमा स्पोर्टमा यति नम्बर, ड्रोइङमा यति नम्बर, डिसिप्लिनमा यति नम्बर, डान्समा यति नम्बर, सिङिङमा यति नम्बर भनेर अलग–अलग उल्लेख गरिएको हुन्छ । यस्तो रिपोर्ट आइसकेपछि अभिभावकले कुन विषयमा राम्रो छ, कुन विषयमा राम्रै छैन छुट्टाई कम नम्बर आएको विषयलाई पुनः राम्रोसँग सिकाउँछौँ र राम्रो नम्बर आएको विषयलाई निरन्तरता दिइरहन लगाउँछौं अनि स्कुलमा शिक्षक–शिक्षिकाहरुसँग पनि सल्लाह सुझाव आदान–प्रदान गर्छौं । 

 साना बच्चाको जस्तो ठूलाका लागि सबै कुराको रिपोर्ट बनाइएको हुँदैन । ठूला बच्चाका लागि शिक्षकले तपाईंको बच्चाको बानी यस्तो छ भनेर बताइदिन्छन्, पुग्यो । यसरी ठूलाका लागि बानीव्यवहारको स्कुलरिपोर्ट लिखितरूपमा नआए पनि मौखिक रिपोर्टलाई नै आधिकारिक मान्नुपर्छ । ठूला बच्चाको बारेमा स्कुलमा शिक्षकसँग राम्ररी कुराकानी गरेर उसको बानीव्यवहार थाहा पाउने अनि त्यही मौखिक रिपोर्ट र आफैंले अनुभव गरेका बानीव्यवहरको ख्याल गरी अभिभावक आफैँले रिपोर्ट कार्ड बनाउन सकिन्छ । यसो गर्दा कुन कुरामा बढी ध्यान दिनु जरुरी छ भन्ने कुरा प्राथमिकतामा राखेर व्यवहार गर्न सजिलो हुन्छ । 

हामीले मेरो बच्चा ठूलो भइसक्यो सानातिना त्यस्ता आनीबानीले खासै फरक पार्दैन भनेर कहिल्यै पनि भन्नुहुँदैन । मानिसमा पार्ने प्रभाव भनेकै उसको सानैदेखिको आनीबानीले हो । त्यसकारण हामीले मेरो बच्चा ठूलो भइसक्यो आफैैँ गर्छ भनेर छोड्नुहुँदैन । उसलाई पनि सानोलाई जसरी सम्झाउने, बुझाउने सिकाउने गर्नुपर्छ । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ सानैदेखिको बानीव्यवहारले ठूलो हुँदा धेरै प्रभाव पार्दछ । सानोलाई जस्तै ठूलालाई पनि समान किसिमले डिसिप्लिनमा राख्नुपर्छ । 

परिवार मानिसको पहिलो पाठशाला हो । यहीँबाट मानिसले जीवनका आधारभूत ज्ञान प्राप्त गर्दछ । बाल्यकालमा उसले जस्तो वातावरण पायो त्यसैअनुसार उसको जीवन विकसित हुँदै जाने हो । घरमा बाल्यकाल प्रसन्नतापूर्वक बिताउन पाउने बच्चा ठूलो हुँदा पनि प्रसन्न हुन्छ र सदा कर्मशील हुन्छ । यस्तो प्रसन्नताका लागि अभिभावकले घरमा सबै छोराछोरीलाई समान माया–ममता दिनु जरुरी हुन्छ । बाल्यकालमा पाएको यस्तो समान व्यवहारले ठूलो हुँदा उसमा आफ्ना अभिभावक र सहोदरप्रतिको मायाममता पनि बढ्दै जान्छ । खुसी र मायालु जीवन बिताउनका लागि नै मानिसले पारिवारिक संरचनाको परिकल्पना गरेको हो । सुखी समाज र देश बन्नका लागि यस्तै सुखी परिवारको आवश्यकता छ ।

प्रकाशित: २९ श्रावण २०७५ ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App