coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एसपी हुँ भन्दै ठगी गर्ने पक्राउ

उदयपुर- आफुलाई एसपी, डिएसपी बताउँदै बजारमा कमिशन र घुस लिदै हिड्ने यहाँका एकजना पक्राउ परेका छन्। सदरमुकाम गाईघाट बजारका बिभिन्न होटल, पसल र झगडा गर्ने पक्षविपक्षसँग प्रहरीको शक्ति देखाउँदै अवैध रकम असुल्ने तथा कमिशन माग्ने काममा सक्रिय रहेको आरोपमा त्रियुगा नगरपालिका ४ असारीका ध्रव बस्नेत भन्ने चुडामिण बस्नेत पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ४१ वर्षीय बस्नेतलाई आईतबार साँझ गाईघाटस्थित नगर प्रहरी कार्यालयनजिकै रहेको परासर होटलमा एक सेवाग्राहीसँग दलाली गरिरहेका बेला पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका अपराध अनुसन्धान शाखाका असई नरेश कटुवालको टोलीले रंगेहात पक्राउ गरेर उनीमाथि अनुसन्धान थालिएको छ । कटुवालका अनुसार बस्नेतको बारेमा पटक पटक सर्वसाधारणले गुनासो गर्ने गरेपछि प्रहरीले उनीमाथि निगरानी राख्न थालेको थियो । दुई महिनादेखि निगरानीमा रहेका उनी मादक पदार्थ सेवन गरी सेवाग्राहीसँग दलाली गर्दै गरेको प्रमाणसहित फेला पारेपछि घट्नास्थलबाटै नियन्त्रणमा लिइएको असई कटुवालले बताए।

बस्नेतमाथि बजारका बिभिन्न व्यक्ति, होटल, पसल र सर्वसधारणसँग कतै एसपी हुँ, डिएसपी हुँ भनेर अनावश्यक रवाफ दिने गरेको, कतै एसपी र डिएसपीसँग मेरो राम्रो सम्बन्ध छ भन्दै सर्वसाधारणलाई धम्की दिदै हिडेको तथा बिभिन्न काम मिलाईदिन्छु भन्दै कमिशन र घुस माग्ने, रक्सी र मासु खाएको पैसा तिराउने गरेको आरोप छ । झैझगडा परेका पक्षविपक्षबीच विचौलिया भएर प्रहरीको तर्फबाट पैसा माग्ने, खर्च गराउने, प्रहरीलाई दिनुपर्छ भन्दै मोटो रकम असुल्ने, मिल्न लागेको मुद्धा मिल्न नदिने, सर्वसाधारण र व्यापारीलाई विना कारण दुख दिनेजस्ता आरोप पनि उनीमाथि लागेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले प्रहरी अधिकृतको हवाला दिदै बिभिन्न व्यक्तिलाई धम्की दिदै लामो समयदेखि ठगी धन्दामा रहेको खुल्न आएपछि निगरानी राख्ने क्रममा उनी पक्राउ परेको बताए। निगरानीभित्र रहेका उनलाई सादा पोशाकका प्रहरीले पिछा गर्दै जाँदा सेवाग्राहीसँग कमिशनबारे दलाली गर्दै गरेको रंगेहात भेटेपछि पक्राउ गरी अनुसन्धान कार्य थालिएको एसपी केसीले बताए । सामान्य चिनजानको सम्बन्धलाई गलत तरिकाले प्रयोग गर्दै सर्वसाधारणलाई ठगेकाले बस्नेतमाथि ठगी मुद्दा चलाउने तयारी भईरहेको प्रहरीको भनाई छ।

 

प्रकाशित: २८ भाद्र २०७३ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App