coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खेलाडीले भत्काइदिए तरकारी पसल

पसलेहरूसँगको विवादपछि खेलाडीले भत्काएका पसल ।     तस्बिर : भीम/नागरिक

इलाम – इलाम बजारको सानो टुँडिखेलमा साविकको तरकारी बजार सारिएपछि खेलाडी र तरकारी पसलेबीचको विवादले उग्र रूप लिएको छ। आफूहरूले प्रयोग गरिरहेको जमिनमा बिना जानकारी तरकारी पसल सारिएको भन्दै खेलाडीले तरकारी बेच्न बनाइएका घर–टहरा सबै भत्काइदिएका छन्। 

मंगलबार बिहानै खेलाडीले पसलेहरूले तरकारी बेच्न बनाएका टहरा भत्काएर त्यो मैदानमा खेलकुद गरिरहेका छन्। इलाम बजारमा तरकारी हाट लाग्ने ठाउँ नै नभएपछि तरकारी पसलेहरू अन्योलमा छन् भने यहाँका सयौं उपभोक्ता तरकारी किन्नबाट वञ्चित भएका छन्। 

चोक बजारछेउमा रहेको साविकको तरकारी बजार भएको स्थानमा इलाम नगरपालिकाले व्यापारिक प्रयोजनको सिटी मार्ट भवन बनाउने तयारी गरेपछि करिब सयको संख्याका तरकारी पसले विस्थापित भएका हुन्। साविकको स्थानमा नयाँ भवन बनाउने भएपनि नगरले आफूहरूलाई वैकल्पिक स्थान नदिएको पसलेको भनाइ छ। इलाम नपाले नै आफूहरूलाई सुनगाभा चोकछेउको सानो टुँडिखेलमा तरकारी बजार सार्न लगाएको पसलेहरू बताउँछन्। तर, सँगै रहेको जिल्ला खेलकुद विकास समितिको कार्यालयसँग कुनै समन्वय नगरेको खेलाडी र खेल पदाधिकारीको गुनासो छ। 

गत शनिबार तरकारी पसलेहरूले सानो टुँडिखेलमा पसल सार्ने बित्तिकैदेखि पसले र खेलाडीबीच विवाद सुरु भएको थियो। तरकारी पसल राखिसकेको ठाउँमै खेलाडीले सोमबार र आइतबार खेल प्रदर्शन गरेपछि विवाद उत्कर्षमा पुगेको थियो। आफूहरूले बनाएका टहरा मंगलबार बिहान खेलाडीले भत्काएपछि अब पसल कहाँ राख्ने भन्ने अन्योल भएको तरकारी विक्रेता लक्ष्मण राईले बताए। ‘हामीले अब कहाँ बसेर तरकारी बेच्ने भन्ने पत्तो छैन, अन्योल भएको छ,’ उनले भने, ‘साविकको तरकारी बजारबाट विस्थापित भएका धेरै पसलेलाई आज (मंगलबार)देखि तरकारी बेच्ने स्थान छैन।’

इलाम नगरपालिकाअन्र्तगतको नगर खेलकुद विकास समितिले तरकारी बजार अहिलेको स्थानमा सारेपछि नगरपालिकामा डेलिगेसन गएर कि तरकारी पसलेलाई कि आफूहरूलाई वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको थियो। तर, नगरपालिकाले तरकारी पसलेहरूलाई सानो टुँडिखेलमा पसल सार्ने विकल्प नै नदिएको जवाफ पाएको समिति सचिव गणेश खतिवडाले बताए।

‘खेलकुदसँग नगरले समन्वय नै नगरी खेलकुद विकास समितिको आँगनमा तरकारी पसल राख्दा खेलाडीलाई असर पुगेको छ, उनीहरूले खेल्न पाएका छैनन्,’ खतिवडाले भने, ‘कि तरकारी बजारलाई कि खेलाडीलाई अस्थायी विकल्प दिनुपर्छ।’ उनले खेलाडी र पसले अहिलेसम्म केही संयमित रहेर मात्रै विवाद हात हालाहालमै परिणत हुन चाहिँ नपाएको बताए। ‘यो अन्योल खेलाडीलाई पनि हो र तरकारी पसलेलाई पनि,’ उनले भने, ‘नगरपालिकाले समन्वय गरेर उचित निकास निकाल्नुपर्छ।’ 

तरकारी पसलेहरूले इलाम नगरपालिका वडा ७ का अध्यक्ष नरेश श्रेष्ठकै आग्रहअनुसार आफूहरू सानो टुँडिखेलमा पसल राख्न गएको बताएका छन्। वडाध्यक्ष श्रेष्ठले पनि नगरपालिकामा शुक्रबार भएको सल्लाहअनुसार नै आफूले तरकारी बजार सानो टुँडिखेलमा सार्ने सल्लाह दिएको दाबी गरे। ‘नगरपालिकामा विस्थापित हुन लागेको तरकारी बजारबारे शुक्रबार छलफल भएको थियो। छलफलपछि सानो टुँडिखेलमै तरकारी बजार अहिलेलाई अस्थायी रूपमा राख्न सकिने विकल्प खोजिएको पनि हो,’ उनले भने, ‘बजारका अन्य स्थानमा पनि विकल्प खोजिएको तर नभेटेपछि सानो टुँडिखेललाई रोजिएको हो।’ तर, उनले मंगलबार–बुधबारतिर तरकारी पसलका लागि विकल्प खोज्ने तयारी भएको सुनाए। 

इलाम नगरका मेयर महेश बस्नेतले बजारको ग्रिन भ्यु होटलको पछाडिपट्टि तरकारी बजार राख्ने विकल्प खोज्दाखोज्दै खेलाडी र तरकारी पसलेबीच विवाद हुनु दुःखद् भएको बताए। ‘हामी तरकारी बजार राख्ने स्थानको विकल्प खोज्ने प्रयासमै थियौं, अझै १–२ दिनसम्म लाग्छ भनेर प्रस्ताव गर्दा पनि साथीहरू धैर्य हुन सक्नुभएको छैन,’ उनले भने, ‘आज–भोलिसम्ममा तरकारी बजारको विकल्प भेटिन्छ। खेलकुद पनि तरकारी पसल पनि हामी सबैलाई आवश्यक भएकाले दुवै पक्षलाई असजिलो नहुनेगरी वैकल्पिक व्यवस्था गर्न प्रयासरत छौं।’ 

प्रकाशित: २९ श्रावण २०७५ ०५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App