coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरोको उच्च जोखिममा रसुवा

रसुवाको कालिका गाउँपालिका–५ घट्टेखोलामा गएको पहिरोमा यात्रा गर्दै। तस्बिर सौजन्य : केशवराज लामिछाने

रसुवा - साउन ९ गते गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा खाना खाएर सुतेका नौ जना कहिलै नबिउँझिने गरी निदाए। गुजारा चलाउन सवारीसाधन लिएर केरुङ जान लागेका चालक र होटल सञ्चालन गरिरहेका उनीहरूलाई मध्यराति आएको पहिरोले पु-यो। पहिरोमा अन्य १२ जना घाइते भए । प्रहरीको अस्थायी चौकी र स्थानीयका चार घर पुरिए।

त्यसको नौ दिन नबित्दै सोही गाउँपालिकाका–६, धुन्चेमा पहिरोबाट झरेको ढुङ्गा लागेर गोसाइँकुण्ड जान लागेका एक तीर्थयात्रीको ज्यान गयो । यी दुवै स्थान पहिरोको जोखिम सूचीमा थिएनन्।

उत्तरगया गाउँपालिका–४, पैरेबेंसीमा वर्षासँगै आएको पहिरोले गत वर्ष चार जनाको मृत्यु भयो । अविरल वर्षापछि राति पहिरो आएका कारण उनीहरू भाग्न पाएनन्। भोलिपल्ट बेलुकी चारै जनाको लास फेला प-यो। भूकम्पपछि निर्माण भएका पक्की तथा कच्ची गरी १४ घर पनि क्षति भए।

२०५८ सालमा जिल्लाको कालिका गाउँपालिका–१, राम्चेमा ठूलो पहिरो गयो। पहिरोमा परेर २५ जनाले ज्यान गुमाए । पहिरोमा परेर २० नेपाली सेना र पाँच स्थानीय गरी २५ जनाको मृत्यु भयो। पहिरोका कारण सेनाको व्यारेकसमेत विस्थापित भयो। नौकुण्ड गाउँपालिका–५, भोर्लेस्थित घट्टेखोलामा २०२१ सालमा ठूलो पहिरो गयो । पहिरोले भोर्लेका खाल्चेत, अम्बास, पाखो खोला र बडेरे क्षेत्रको जनजीवन प्रभावित भयो । पहिरोका कारण तीन जनाको मृत्यु भयो । दुई घर क्षति भए। पहिरोले २२ वटा पानीघट्ट र एक हल गोरु बगायो । साथै ८० हेक्टर खेतीयोग्य जमिनमा समेत क्षति पुग्यो । २०३४ सालमा आएको बाढीपहिरोबाट भोर्लेस्थित चौतारा टोलका पाँच जनाले ज्यान गुमाए। २०५८ सालमा धोवीखोलामा आएको पहिरोले १२ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ। २०६२ सालमा गएको पहिरोले चौतारा टोलकै एक घर विस्थापित भयो भने धेरै पशुवस्तु बगायो। २०६५ सालमा भोर्लेकै बेताङ, सिस्नेरी र कक्थलीमा पहिरोले खेतीयोग्य जमिन नष्ट ग-यो।

कालिका गाउँपालिकामा २०५६ सालमा गएको पहिरोले प्राङ्सेका पाँच जनाको मृत्यु भयो। पहिरोको उच्च जोखिममा रहेको यस क्षेत्रमा २०१९, २०५५, २०५६ र २०७३ सालसम्म लगातार पहिरो गए।

यी तथ्यले रसुवामा पहिरोको उच्च जोखिम छ भन्ने जनाउ दिन्छन्। हरेक साल पहिरोबाट क्षति हुने गरेको छ। जिल्लाका पाँचवटा गाउँपालिकाको डेढ सयभन्दा बढी स्थानमा सानाठूला पहिरो गएका छन्। भूकम्प, जथाभावी सडक विस्तार, रूख कटान लगायतका कारण पहिरोको जोखिम बढ्दै गएको हो।

जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले पहिचान गरेका क्षेत्रमा भन्दा नसोचेको स्थानमा पहिरो जान थालेपछि जिल्लाबासीमा त्रास छाएको छ।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाको गोल्जुङ र गत्लाङबाहेक अन्य स्थान पहिरोको मध्यम तथा उच्च जोखिममा छन्। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका लहरेपौवा, सरमथली, थुमन, चिलिमे, स्याफ्रु, धुन्चे र बृद्धिम पहिरोको मध्यम जोखिमयुक्त स्थानमा पर्छन्।

राम्चे, हाकु, धैबुङ, भोर्ले, डाडाँगाउँ, टिमुरे, लाङटाङ, ठूलोगाउँ र यार्सा पहिरोको उच्च जोखिमको सूचीमा छन्। २०५० साल पछिका दिनमा गाउँबस्ती र राजमार्गका विभिन्न स्थानमा गएका पहिरोले जिल्लाबासी कष्टकर जीवन बिताउन बाध्य छन्।

विशेषगरी राम्चे, मूलखर्क, घट्टे खोला र धोवी खोलाको पहिरोले वर्षाको समयमा आवतजावत गर्न कठिनाइ हुने गरेको छ। दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत यसले असर पु-याएको छ। जिल्लाको कालिकास्थानबाट जिबजिबेमा दैनिक जोखिमपूर्ण तरिकाले सामग्री बोकेर लान स्थानीय बासिन्दा बाध्य छन्।

एक हजारभन्दा बढी घरपरिवार जोखिममा
जिल्लामा एक हजारभन्दा बढी घरधुरी पहिरोको जोखिममा परेका छन् । तीन वर्षअघि गएको भूकम्प र वर्षाका कारण झरेका पहिरोले करिब एक हजार घर पहिरोको जोखिममा परेका हुन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार गत जेठसम्ममा जिल्लामा ८ सय ३६ घर पहिरोको जोखिममा रहेको देखाएको थियो। वर्षा सुरु भएसँगै थपिएका पहिरोका कारण थप बस्ती जोखिममा परेको स्थानीय तहले जनाएका छन्।

जोखिममा रहेको बस्तीको पहिचानपश्चात् सुरक्षित स्थानमा जग्गा खोजेर पीडितलाई राख्ने प्रयास गरिए पनि सफल हुन नसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाले जनाएको छ।

पहिरो जानुका कारण
पहिरोले जिल्लामा बर्सेनि मानवीय तथा भौतिक क्षति गर्दै आएको छ। पहिरो नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसक्दा बर्सेनि पहिरोको जोखिम बढ्दै गएको हो। पहिरो नियन्त्रणका लागि जिल्ला भूसंरक्षण कार्यालयले विभिन्न काम गर्दै आएको भए पनि सरकारी लगानी बालुवामा पानी सरह भएको छ । पहिरो नियन्त्रण हुनुको साटो पहिरो जाने क्रम बढ्दै गएको देखिन्छ । भिरालो जमिन, पहिरो नियन्त्रणमा उचित ध्यान नदिनु, जथाभावी सडक विस्तार गर्नु, रूख कटान गर्नु लगायतका कारण छन्।

पहिरो नियन्त्रणका लागि स्थानीय तहका योजना
जिल्लामा पाँचवटा स्थानीय तह छन्। जिल्लाका सबै गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन समिति गठन गरेका छन्। समितिहरूले विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएका छन्। समितिले दिएको जानकारीअनुसार वडागत रूपमा जोखिम क्षेत्र पहिचान गरिएको छ। जिल्लाको कालिका गाउँपालिकाले ९ लाख ८० हजार रुपैयाँको कोष स्थापना गरेको छ।

वर्षात्का बेला पहिरोको जोखिममा परेका क्षेत्रमा जाली वितरण गरिएको उपाध्यक्ष भवानीप्रसाद न्योपानेले बताए। ‘वर्षाको समयमा बाढी र पहिरोको जोखिममा परेका क्षेत्रमा अनुगमन गरिरहेका छौं,’ उपाध्यक्ष न्यौपानेले भने, अनुगमनपश्चात् जाली वितरण गरिएको छ।’

विपद् व्यवस्थापनका लागि नौकुण्ड गाउँपालिकाले १० लाख ८० हजार रुपैयाँको कोष स्थापना गरेको छ। वर्षाको समयमा बिग्रेका बाटा निर्माण गरिएको उपाध्यक्ष सिर्जना लामाले बताइन्। ‘गाउँपालिकामा गत वर्ष पनि बाढी र पहिरोले धेरै क्षति गरेको थियो,’ उपाध्यक्ष लामाले भनिन्, ‘यसपटक हामीले योजनावद्ध तरिकाले काम गरिरहेका छौं।’

गोसाइँकुण्ड गाउँपालिकाका अनुसार समितिले पहिरो नियन्त्रणको काम अघि बढाएको छ। पहिरोले मानवीय तथा भौतिक क्षति गरेको स्थानमा राहत वितरण लगायतका काम गरिरहेको समितिका संयोजक कैसाङ नुर्पु तामाङले जानकारी दिए।

प्रकाशित: २९ श्रावण २०७५ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App