८ वैशाख २०८१ शनिबार
कला

‘नेपाल हैन, नेपाली मात्र धनी भए’

वरिष्ठ पत्रकार तथा सामाजिक अभियन्ता भैरव रिसाल मंगलबारबाट ९१ वर्ष लागेका छन् । केही वर्षयता हरेक जन्मदिनको अवसरमा पुस्तक प्रकाशित गर्दै आएका रिसालको मंगलबार पनि नयाँ पुस्तक प्रकाशित हुँदैछ । थुप्रैखाले परिवर्तनका साक्षी रिसालले नागरिकका सामीप्यराज तिमल्सेनासँग नयाँ उमेरको उमंग र दीर्घ जीवनको रहस्यको बारेमा कुराकानी गरे।

उमेरको नयाँ कोसेढुंगामा प्रवेश गर्दै हुनुहुन्छ कस्तो लागिरहेको छ ?
गौरव नै लाग्दो रहेछ । सम्झँदा घरि घरि अपत्यारिलो पनि लाग्छ । तर यो उमेरभन्दा पनि अनुभव सँगाल्न पाउनु ठूलो कुरा होे जस्तो लाग्छ । धेरै कुरा देख्न पाइयो नी। 

जन्मदिन कसरी मनाउँदै हुनुहुन्छ ?
पुस्तक सार्वजनिक गर्दैछौं । विगत तीन वर्षयता जन्मदिनको अवसर पारेर किताब प्रकाशन गर्दै आएका छौं । भोलि पनि त्यही नै गर्छौं । तर योभन्दा अगाडि चैं मैले स्कुल पढ्दाका साथीहरू भेला गरेर एक अर्काको सन्चो बिसन्चोको बारेमा सोथ्यौं । परिवार, राजनीति, समाज सबै विषयमा कुरा हुन्थे । सँगैका साथीहरू कम हुँदै गएपछि भ्रष्टाचार नगरेका केही मान्छेसँग पनि सोही अनुसार कुराकानी गर्ने गथ्र्यौैं । पछि चाहीं किताब प्रकाशन गर्न लाग्यौं । योभन्दा अघिल्लो साल चैं ‘हात्ती’ शीर्षकको पुस्तक प्रकाशित गरेका थियौं । भोलि चाहीं ‘नेपालका मन्त्री र सांसदहरू’ शीर्षकको पुस्तक सार्वजनिक हुँदैछ। 

कस्तो पुस्तक हो यो ?
विश्लेषणात्मक पुस्तक हैन यो । विवरण मात्र समेटिएको पुस्तक हो । यसमा २०१५ सालदेखि अहिलेसम्मका मन्त्री सांसदको विवरण छ । यसमा पहिलो प्रधानमन्त्री माथवरसिंह थापादेखि अहिलेका प्रधानमन्त्री केपी ओलीसम्मको वृतान्त छ । त्यसैगरी सांसदको नाम पनि छ । यस्तो पुस्तक किन निकालियो भने, कहिँ कतै यसको रेकर्ड छैन । किताबमा डकुमेन्ट होस् भनेर हो। 

तपाईंले यो उमेरसम्म आइपुग्दा थुप्रै परिवर्तन देख्नु भयो ?  परिवर्तनको तुलनामा परिणाम कम छ भन्ने गुनासो छ । तपाईंलाई के लाग्छ ?
मलाई पनि त्यही लाग्छ । नेपालमा जुन स्तरको राजनीतिक परिर्वन आए, त्यो परिवर्तन हाम्रो जीविका, समाज र संस्कृतिमा भने देखिएन । नेपाली धनी भए, तर नेपाल धनी भएन । आर्थिक रुपमा त भएन नै सांस्कृतिक परिवर्तन नभएको देखेर पनि मलाई ताज्जुब लागेको छ। 

किन यस्तो भयो जस्तो लाग्छ ?
यही कारणले भनेर भन्न गाह्रो छ । तर भ्रष्टाचार यसको जड हो जस्तो लाग्छ । यसमा राजनीतिक भ्रष्टाचार मात्र होइन, मैले हाम्रो बानी बेहोराको पनि कुरा गरेको । देशमा इमान्दार मानिस पनि छन् । उनीहरूले राम्रो काम गर्न खोजिरहेका छन् । तर यस्ता इमान्दार माानिसको परिश्रम पनि भ्रष्टाचारको भिडमा कतै हरायो । नयाँ पुस्तालाई देशमा राख्न सकिरहेका छैनौं । हामीले यो देशमा केही हुन्छ भन्ने आशा नै जागृत गर्न सकेनौं । यही कारण हो जस्तो लाग्छ। 

अन्तिममा, तपाईंको दीर्घ जीवनको रहस्य के हो बताइदिनुस् न ?
चिन्ता । मैले कहिलै पनि भोलिको चिन्ता गरिन, यही कारण नै लामो जीवन बाँच्न सके भन्ने लाग्छ । सबै कुलतको जड भोलि के होला भन्ने प्रश्न हो । मैले कहिले पनि यो प्रश्न मनमा आउन दिइँन । त्यसैले मेरो २०४२ सालयता बैंकमा खाता छैन । जागिरबाट रिटायर भएपछि बैंकको खाता नै बन्द गरिदिएँ । कसैले नगद पुरस्कार दिइहाल्यो भने पनि एकाउन्ट पेइ हैन बियरर दिनुस् भनेर भन्छु । मलाई ठूलो बिराम लाग्ला भन्ने पनि लाग्दैन । यो भेन्टिलेटरमा राखेर जबर्जस्ती बचाउने कुराको पनि विरोधी हुँ । स्वभाविक मरण मौलिक अधिकार हुनुपर्छ भन्ने सोचको मान्छे हुँ । खान पानमा अनुशासित त हुर्नैपर्यो ?

तपाईंको आत्मविश्वासले अझै कति बाँच्छु जस्तो लाग्छ ? 
त्यो त यमराजलाई सोध्न पर्छ । आत्मविश्वासले मात्र त के बाँचिएला ? तर म मृत्युका लागि पनि तयार छु। 

प्रकाशित: २९ श्रावण २०७५ ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App