coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धादिङमा पहिलोपटक स्क्रब टाइफसका बिरामी

धादिङ– धादिङमा पहिलो पटक स्क्रव टाइफसका बिरामी फेला परेका छन्। जिल्ला अस्पताल धादिङमा ज्वरोको उपचारका लागि आएका बिरामीहरुको रगत परीक्षणको क्रममा उनीहरुमा स्क्रव टाइफसको संक्रमण देखिएको अस्पतालले जनाएको छ। 

रगत परीक्षण गराउँदा ५ जना बिरामीहरुमा स्क्रव टाइफसको संक्रमण देखिएको र उनीहरुको पूर्ण उपचारपछि जिल्ला अस्पतालबाट डिस्चार्ज समेत भइसकेको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले जानकारी दिए। ‘पछिल्लो २ सातामा ५ जना स्क्रव टाइफसका संक्रमित बिरामीहरु भेटिएका छन्’ उप्रेतीले भने, ‘यसले महामारीको रुप लिन सक्ने तर्फ सचेत रहन सबैलाई सचेत गरिएको छ।’ अस्पतालमा उपचारका लागि आउने शंस्कास्पद बिरामीहरुको चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

मुसामा पाइने किर्ना माईट (ओरीएन्टा सुसुगामुसी) नामक ब्याक्टेरियाबाट हुने संक्रमणबाट स्क्रब टाईफस रोग देखापर्छ। मुसाको कानमा हुने परजिवी झाडीहरमा खस्ने र झाडीमा काम गर्ने मानिसहरुमा यो रोग सर्ने गरेकाले आफ्नो घर वरपर रहेका झाडीहरु बेलैमा सफा गर्न चिकित्सकहरुले सुझाएका छन्। उपचारमा आउने बिरामीहरु अधिकांशमा कडा ज्वरो आउने, लगातार टाउको दुखिरहने, पसिना आइरहने, खान मन नलाग्ने लगायतका लक्षण लिएर आउने गरेको उप्रेतीले जानकारी दिए। सामान्य ज्वरो आएमा पनि तत्काल स्वास्थ्य संस्थाहरुमा गइ चेकजाँच गराउन चिकित्सकहरुले आग्रह गरेका छन्।

नेपालमा केही वर्ष अघिदेखि नै यो रोगको संक्रमण देखा परेको भए पनि धादिङमा भने पहिलो पटक स्क्रव टाइफस रोगको संक्रमण देखा परेको हो। जिल्ला अस्पताल धादिङका अनुसार उच्च ज्वरोका कारण उपचारका लागि भर्ना भएका बिरामीहरुमा शंका लागि रगत परीक्षण गर्दा स्क्रव टाइफस भेटिएपछि उच्च निगरानीमा राखेर उपचार गरिएको थियो।

२०७२ सालको विनाशकारी भुकम्प पछि नेपालमा यो रोग देखा परेको थियो। यस रोगलाई महामारीको रुपमा फैलन नदिनका लागि आफ्नो घर वरपर फोहर र झाडी हुन नदीने तथा मुसाको नियन्त्रण गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको बताएका छन्। बर्षायामा लागेसंगै जिल्ला अस्पतालमा ज्वरोको बिरामीहरु बढ्दो मात्रामा उपचारका लागि आएका छन् भने नौला र अनौठा रोगका संक्रमितहरुपनि भेटिन थालेका छन्।

स्क्रब टाईफस भएका व्यक्तिको उपचार कम्तिमा पनि एक साताभित्र हुनुपर्ने चिकित्सकहरुले बताएका छन्। उपचार समयमा हुन नसकेमा संक्रमण फैलिने र शरीरका विभिन्न अंगले काम नगर्ने हुनुका साथै बिरामीको मृत्यु समेत हुने चिकित्सकहरु बताउँछन्।

प्रकाशित: २८ श्रावण २०७५ १५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App