coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शिक्षकको तलवमा अनियमितता

जुम्ला- जुम्ला तिला गाउँपालिकाका शिक्षकको तलवको २८ लाख रुपैयाँ अनियमिता भएको पाइएको छ। पुस महिनामा दोस्रो चौमासिकको तलब हाल्दा एउटै विद्यालयलाई २८ लाख रुपैयाँ बढि रकम हालिदिएको र हाल सम्म कुनै खोजी नभएकोले यो रकममा अनियमितता भएको हुनसक्ने आशंका गाउँपालिकाले गरेको प्रवक्ता सन्तविर रावतले बताए। उनले भने,‘पुस महिनामा बढि गएको रकमको खोजी खबरी नगरि शिक्षक तलब अपुग भएको भन्दै शिक्षा विभाग, मन्त्रालयमा तलब माग गर्दासम्म यो रकमको कुनै जानकारी दिइएन, यसैमा ठूलो रहस्य छ।’

असार ३ गते देखि शिक्षकहरुले तलब माग्दै आन्दोलन गरेपछि तलब भत्ता खुवाउन नसकिने अवस्था आएको थियो। शिक्षकले गाउँपालिकामा घेराऊ, धर्ना र तालाबन्दि गरेपछि कार्यवहाक अध्यक्ष विष्णु बुढासँग एक हप्ता भित्र तलब दिने गरि सहमति भएको थियो। प्रवक्ता रावतले भने,पछिल्लो समयमा तातोपानी गाउँपालिकाका लेखापाल र तिला गाउँपालिकाका कर्मचारीले मसिनो रुपमा केलाएर शिक्षक तलबको बारेमा खोजी गर्दा २८ लाख रुपैयाँ देउराली मावि जुम्लाकोटमा हालिएको फेला पारेको थियो। गाउँपालिकामा शिक्षकलाई अहिले आवश्यक रकम २७ लाख रुपैयाँ हो, तर एउटै विद्यालयमा २८ लाख रुपैयाँ हालिदा अभाव देखिएर मन्त्रालय, विभागमा तलबको लागि रकम माग गरिएको थियो। यो गाउँपालिकाको नियत माथि प्रश्नचिन्ह खडा भएको र मन्त्रालय र विभागले पनि गाउँपालिकाको कार्य सम्पदानमा शंका गर्न थालिसकेका छन्।

शिक्षक तलवको बारेमा गाउँ कार्यपालिकाको बैठकमा अहिलेसम्म कुनै जानकारी भएको थिएन, लेखापाल कार्यकारी र गाउँपालिका अध्यक्षको लापारवाही र गैरजिम्मेवारी पनका कारण यहाँका शिक्षकले धोका पाएको कार्यवहाक अध्यक्ष विष्णु बुढाले बताईन। उनले भनिन्, गाउँपालिकामा शिक्षक तलब माग्दै आन्दोलन गर्नु,अध्यक्ष रतननाथ योगीले गैर जिम्मेवार रुपमा जिल्ला बाहिर गएर वेवास्ता गर्नु र २८ लाख रुपैयाँ पुस महिनामा एउटा विद्यालयको खातामा हालिनु र अहिले सम्म खोजीखवरी नहुनुले पनि शंका उत्पन्न थालेको छ।’

श्री देउराली मावि जुम्लाकोटमा गएको २८ लाख रुपैयाँ एकै रातमा खातामा जम्मा भईसकेको छ। शिक्षकले पटक पटक रकम झिकेर गाउँपालिकावाट गएको रकम खर्च गरिसकेका छन। तर लेखापालको दवाव र प्रभावमा प्रधानाध्यापक रामभजन यादवले एकै दिनमा १६ लाख खातामा जम्मा गरेपछि गाउँपालिका भरी गाउँपालिका प्रति शंका उव्जीएको छ। कसरी रकम एकै विद्यालयमा यति ठूलो मात्रामा हालियो,किन लामो समय सम्म खोजीखवरी हुन सकेन, यसको छानविन गर्न शिक्षकहरुले माग गरेका छन्। गाउँपालिकाका लेखापाल मुनवहादुर खत्रीले भुलवस रकम विद्यालयमा गएको बताउँछन्। विद्यालयमा गएको रकमबारे गाउँपालिकालाई कुनै जानकारी छैन, लेखा र विद्यालयका प्रधानाध्यापकलाई मात्रै जानकारी छ।

विद्यालयमा गएको रकमबारे बेखवर भए जस्तो गरेर गत वर्षको फाटवारी कालेनिकामा बुझाउन नसकिएको भन्दै शिक्षकलाई तलव दिन आलटाल गर्नु निकै दुखद पक्ष रहेको वडा नं ७ का अध्यक्ष हस्तवहादुर बुढा बताउँछन। यो रकमका कारण गाउँपालिकाको नियतमाथि नै शंका हुन थाल्यो, उनले भने,‘ १८ नम्वर फारम भरेर रकम हुँदा हुँदै बजेटको माग गर्नु कति सान्दर्भिक होला। शिक्षक तलवको विषयमा शिक्षक विभाग, मन्त्रालय तथा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पहल भईरहेको व्यर्थ भएको छ।

प्रकाशित: २८ श्रावण २०७५ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App