७ वैशाख २०८१ शुक्रबार
खेल

अपरिवक्वता र विवाद धेरै

काठमाडौं – ‘सबभन्दा पहिला हामीले बोलेअनुसार लिगको घोषणा गर्ने काम गर्छौं । हामी परिवर्तनको नारा लिएर चुनावमा गएका थियौं । परिवर्तनको अनुभूति सोमबार कार्यसमितिको बैठक राखेपछि हुन थाल्छ । बैठकपछि हामी पत्रकार सम्मेलन गरेरै फुटबल विकासका दीर्घकालीन र अल्पकालीन योजना सार्वजनिक गर्नेछौं,’ वैशाख २२ गते शनिबार भएको अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनमा पूरै प्यानलसहित प्रचण्ड बहुमतले विजयी भएपछि अध्यक्ष कर्माछिरिङ शेर्पाले भनेका थिए।

शेर्पाको नेतृत्वको प्यानललाई निर्वाचित गराउँदै एन्फा निर्वाचन सम्पन्न भएको सोमबार १ सय दिन पूरा हुँदै छ । अर्थात् शेर्पा नेतृत्वको हनिमुन (मधुमास) सोमबारबाट सकिँदै छ । तर चार वर्षका लागि देशको फुटबल हाँक्ने जिम्मेवारी पाएपछि शेर्पा नेतृत्वमा रहेको कार्यसमितिको हनिमुन सोचेजस्तो सुखद र रोमाञ्चक बन्न सकेन । यस क्रममा एन्फा नेतृत्व चुनावका बेला गरेका वाचा पूरा गर्दै अगाडि बढ्नुभन्दा पनि बढी विवादमै अल्झिँदा नेपाली फुटबलले शेर्पाको प्रतिबद्धताजस्तो न दीर्घकालीन योजना बुन्न पायो न अल्पकालीन योजनामै रमाउन सक्यो।

अध्यक्ष शेर्पाले तीन दिनभित्र सार्वजनिक गर्ने भनेका अल्पकालीन र दीर्घकालीन योजना अझैसम्म एन्फाले प्रस्टसँग बताउन सकेको छैन । चार वर्षदेखि रोकिएको लिग असोज १३ बाट गर्ने घोषणा गरे पनि त्यो प्रतियोगिताले फुटबलको साँचो मर्मलाई बोक्ने छैन । रेलिगेसनको व्यवस्था हटाएर गरिन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिग साँचो अर्थमा राष्ट्रिय फुटबलको मेरुदण्ड बन्न नसक्ने स्वयम् एन्फाले पनि स्विकारिसकेको छ । त्यसैले एन्फा नेतृत्वले यसलाई वार्मअप लिग भन्दै अर्को वर्षदेखि रेलिगेसनको व्यवस्था राख्ने बताएको छ।

फुटबलको वास्तविक मर्ममा प्रहार गर्दै रेलिगेसनबिनाको लिग घोषणा गर्नु मात्र एन्फाको विवादको विषय बनेन । यसबीचमा नेपाली फुटबलमा सबभन्दा बढी उपलब्धि हासिल गरेका राष्ट्रिय पूर्वकप्तान राजुकाजी शाक्यलाई प्रशिक्षक पदबाट हटाउनु एन्फाको अर्को अपरिपक्वता रह्यो । खेलाडीका रूपमा, कप्तानका रूपमा र प्रशिक्षकका रूपमा गरी तीन पटक दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको फुटबलमा स्वर्ण पदक जितेका प्रशिक्षकलाई हटाउँदा नेतृत्व र नेतृत्व निकटले दिएका अभिव्यक्ति झनै निराशाजनक थिए । एन्फा अध्यक्ष शेर्पाले सुरुमा कर्मचारी नियमावलीअनुसार एउटै व्यक्तिले दुई ठाउँमा जागिर खान नपाउने कारण शाक्यलाई हटाउनुपरेको भन्दै दिएको प्रतिक्रिया सार्वजनिक भयो। तर शेर्पाको आरोपअनुसार शाक्य राष्ट्रिय खेलकुद परिषद्बाट अवकाश प्राप्त प्रशिक्षक रहेको थाहा भएपछि शेर्पाले त्यही टेलिभिजन अन्तर्वार्तामा आफ्नो प्यानलको मानिस ल्याउन शाक्यलाई हटाएको जस्तो विवादास्पद अभिव्यक्ति दिए । टेलिभिजन अन्तर्वार्तामा शेर्पा चुकेपछि उनको रक्षा प्रयासमा एन्फाका जिम्मेवार पदाधिकारी, प्रशिक्षक तथा अन्य खेलाडीहरू उत्रँदा फुटबल परिवार झनै विभाजित भएको देखियो । शाक्यलाई हटाउन गरेको निर्णय चौतर्फी आलोचित भएपछि एन्फा निर्णय सच्याउन बाध्य भयो । प्रवक्ता किरण राईले पत्रकार सम्मेलन गर्दै ‘उहाँलाई बर्खास्त गरेका छैनौं । जिम्मेवारी हेरफेर गरिएको मात्र हो’ भने।

प्रशिक्षक परिवर्तन नितान्त रूपमा एन्फाको अधिकारको विषय हो । यसअर्थमा शाक्यलाई बर्खास्त गर्ने अधिकार एन्फामा थियो । तर त्यसका लागि प्रतिशोध साँध्ने तरिकाको सट्टा प्रक्रिया पु-याएको भए कसैले प्रश्न गर्न पाउँदैनथ्यो। तर एन्फा त्यसमा परिपक्व हुन सकेन । जसका कारण बदनामी मात्र बेहोर्नुप-यो।

विधि र विधानको पक्षमा वकालत गरेर नेतृत्वमा पुगेको वर्तमान एन्फाले विभिन्न समिति र मानार्थ पदहरूमा व्यक्ति नियुक्तिमा पनि प्रक्रिया पु-याउन सकेको देखिँदैन । पहिलो बैठकमै मानार्थ अध्यक्ष नियुक्ति प्रक्रिया विवादित बन्नु, मानार्थ अध्यक्ष, उपाध्यक्ष र सदस्य मात्र रहने गरेकोमा विधानमै व्यवस्था नभएको मानार्थ वरिष्ठ उपाध्यक्ष नियुक्त गर्नु, विभिन्न व्यक्तिलाई कार्यसमिति बैठकमा निर्णय नगरी विभिन्न पदमा नियुक्त गरेको आरोप पनि एन्फा नेतृत्वलाई लागेको छ । नेतृत्वले असार १२ को बैठक भनेर सबैखाले नियुक्ति गरे पनि एन्फाकै वरिष्ठ पदाधिकारी भने कुनै पनि व्यक्तिको विषयमा बैठकले निर्णय नगरेको बताउँछन्।

जर्मन नागरिकता लिएका नवीन पाँडेलाई फिफा कंग्रेसमा देशको प्रतिनिधित्व गराउनु, रूसमा गत महिना सम्पन्न विश्वकपका लागि नेपाललाई प्राप्त २ सय ५० टिकट बिक्री प्रक्रियाको हिसाबकिताब सार्वजनिक नगरेको लगायतका विषयमा पनि विरोधीले एन्फा नेतृत्वसँग प्रश्न गरिरहेका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएर अन्तिम समयमा चुनाव बहिस्कार गरेका मणि कुँवरले शुक्रबार मात्र युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा यीलगायत पाँचबुदे ज्ञापनपत्र बुझाएर एन्फामाथि छानबिनको माग गरेका छन्।

प्रवक्ता राई भने आफूहरू निर्वाचित भएयता देशको फुटबल गतिविधि चलायमान बनाएको भन्दै यति छोटो समयमा इतिहासमै सबभन्दा बढी काम भएको दाबी गर्छन् । ‘यसबीचमा हामीले ललित स्मृति यु–१८, महिला राष्ट्रिय लिग छनोट, महिला राष्ट्रिय लिग, विभिन्न ठाउँमा रेफ्री सेमिनार तथा सबै सातै प्रदेश र क्लबहरूका बीचमा छलफलहरू गरेका छौं । एन्फालाई सांगठनिक रूपमा अगाडि बढाउने खाका तयार गरेका छौं । यही साउन ३० गते हुन लागेको साधारणसभामा त्यसलाई पेस गर्नेछौं,’ राईले भने, ‘एन्फा सञ्चालनका लागि थुप्रै नियमावली आवश्यक थिए । त्यो बनाउने कामलाई तीव्र गति दिएका छौं । आर्थिक पारदर्शिताका लागि धेरै काम गरेका छौं । हामीले असल नियतले काम गरिरहेका छौं । केही गल्ती भएका हुन सक्छन् । तर त्यसमा अल्झिनुभन्दा पनि फुटबल विकासमा गल्ती सुधार्दै अगाडि बढ्ने हो।’

राईले सफाइ दिन खोजे पनि रेलिगेसनबिनाको लिग, राजुकाजी शाक्य प्रकरण तथा उनैले बयान गरेको महिला लिगमा पाँच टिम मात्र खेलाउनु र एक सातामा लिग सक्नुमा भने एन्फाले फुटबलप्रेमीको चित्त बुझाउन सकेको छैन । साथमा साधारणसभाअघि चुनाव सकिएको तीन दिनभित्र चुनावमा गरेका खर्च विवरण सार्वजनिक गर्ने भनेर शेर्पाले घोषणा गरे पनि अहिलेसम्म त्यो हुन सकेको छैन । अझ चुनावअघि आफूहरू जिते लिगमा रेलिगेसनको प्रावधान नराख्ने भनेर एन्फा नेतृत्वले क्लबसँग मत मागेको कुरा सार्वजनिक भएपछि त्यो थप विवादको विषय बनेको छ।

‘हामी काम गरेर भन्दा पनि अघिल्लो नेतृत्वको आलोचना गरेरै यहाँसम्म आएका हौं । पक्कै पनि हामीलाई संघ चलाउने अनुभव छैन । हामी पहिला आन्दोलनकारी थियौं, अहिले पनि कतिपय अवस्थामा हामीमा त्यही बेलाको जस्तो व्यवहार देखिन्छ । अब धेरै दिन यही भनेर हामीले पनि सुख पाउँदैनौं । काम गरेर देखाउनुपर्छ,’ एन्फाका एक जिम्मेवार पदाधिकारी स्विकार्छन्, ‘रेलिगेसनबिनाको लिगले फुटबलको मर्म बोक्दैन भन्नेमा म पनि सहमत छु । पूरा एन्फा सहमत छ । तर यसपालि हाम्रो बाध्यता यस्तै भयो । अर्को वर्षबाट लिगमा रेलिगेसनको प्रावधान हुन्छ।’

एन्फाको वर्तमान नेतृत्वसँग संघ चलाउने अनुभव नभएको साँचो हो । पहिलो १ सय दिनमा भएका विवाद र कमजोरीलाई त्यही अनुभवहीनताको नतिजा मान्ने हो भने अबका दिनमा सच्चिने ठाउँ पर्याप्त छन् । राईले भनेजस्तो नियतमा प्रश्न नभए यही कमजोरीबाट पाठ सिक्दै एन्फा नेतृत्व आगामी दिनमा चल्नुपर्छ । एन्फाको कार्यकाल अझै ३ वर्ष ९ महिना बाँकी रहेकाले पहिलो १ सय दिनबाट आत्तिनु पर्दैन । तर बिहानीले दिनको संकेत गर्छ । एन्फाको सुरुआत विवादपूर्ण भए पनि यस अवधिको अनुभवलाई पाठ सिक्ने अवसरका रूपमा लिइयोस । त्यसो हुन सके आगामी दिनमा नेपाली फुटबलले सही दिशा लिने आशा गर्न सकिन्छ।

प्रकाशित: २८ श्रावण २०७५ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App