coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धुन्चे–गोसाइँकुण्ड पदमार्ग सुचारु

धुन्चे–गोसाइँकुण्ड पदमार्ग मर्मत गर्दै नेपाली सेना। तस्बिर: नागरिक

रसुवा – पहिरोको कारण अवरुद्ध भएको धुन्चे–गोसाइँकुण्ड पदमार्ग सुचारु भएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले बाटो मर्मत गरेर सञ्चालनमा ल्याएको हो।

यही साउन १८ गतेदेखि पहिरोको कारण मिनिगोसाइँकुण्ड क्षेत्रमा आवतजावतमा समस्या हुँदै आएको थियो। तीन दिनपछि सुरु हुने गोसाइँकुण्ड मेलालाई मध्यनजर गर्दै सेनाले करिब ३० मिटर बाटो मर्मत गरेको हो। सहायक सेनानी अशोक बुढा खाम्पाको नेतृत्वमा बाटो मर्मत गरिएको सेनाले जनाएको छ।

गोसाइँकुण्ड जाने तीर्थयात्रीमध्ये करिब ९० प्रतिशत यही पदमार्ग भएर जाने गर्दछन्। गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन्।

त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ। काठमाडौं–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो। काठमाडौंबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ । त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ।

त्यसपछि काठमाडौं–सुन्दरीजल/हेलम्बु–ठाडेपाटी बाटो आउँछ। धेरै कम यात्रुहरूले यार्सा गोसाइँकुण्डको बाटो प्योग गर्ने गरेका छन्। तर कुनैपनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइदैन्।

गोसाइँकुण्ड आउने पर्यटकहरूमा सबैभन्दा धेरै फ्रान्स, जर्मन, इजरायल, कोरिया, जापान र नेदरल्याण्डका छन्। गोसाइँकुण्डमा तीर्थ भर्न, सूर्यकुण्ड भञ्ज्याङसहितको साहसिक पदयात्रा र पर्वतारोहण गर्ने उद्देश्यले आउने गरेका छन्। जैविक विविधताको अध्ययन र भूगर्भशास्त्रको अध्ययनका लागि समेत गोसाइँकुण्डमा पर्यटक आउने गरेका लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।

 

 

प्रकाशित: २८ श्रावण २०७५ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App