coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘फोहोरबाट ऊर्जा उत्पादन गर्ने योजना बनाइरहेका छौं’

उपेन्द्र केसी, वडाध्यक्ष, सूर्यविनायक नगरपालिका– ९

जनप्रतिनिधि भएपछि जनताले महसुस गराउने के–के काम गर्नुभयो?
जनताको अपेक्षा धेरै छन् । हामीसँग सीमित स्रोत–साधन मात्रै छन् । तथापि भएको स्रोत–साधनलाई उपयोग गरी काम गरिरहेका छौं । यो क्रममा कहिले नखोलिएको सम्भव नै नभएको ठाउँमा बाटो खोल्न सफल भयौं । ठाउँ–ठाउँमा बाटोको नयाँ ट्रयाक खोलेका छौं । ती नयाँ ट्रयाकलाई प्राथमिकताको आधारमा व्यवस्थित गर्ने योजना बनाइएका छौं । त्यसरी नै खानेपानीको समस्या समाधानको क्रममा छौं । सिंगो वडालाई खानेपानी व्यवस्थित गर्न यसै वर्ष एक करोड ९० लाख बजेट छुटाएका छौं । यो बजेटमा थप गरी वडामा मिटरसहितको एक घर एक धारा वितरण गर्ने नीति अनुरूप अगाडि बढिरहेका छौं । बाटो, खानेपानी मात्रै होइन, शिक्षाको क्षेत्रमा पनि जनताले अनुभूति हुने गरी सार्वजनिक विद्यालयलाई कसरी राम्रो र गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिन्छ भन्ने योजनाका साथ त्यसको समेत व्यवस्थापनको जिम्मा लिएर हामी अघि बढिरहेका छौं । व्यवस्थापनको जिम्मा वडाले लिएपछि शिक्षामा केही सुधार देखिएको छ।  

वडाका मुख्य समस्याहरू के–के छन्?
सडक, खानेपानी, शिक्षाको कुरो त आयो नै । त्योसँगै फोहोर व्यवस्थापन समस्याको रूपमा देखिएको छ । खासगरी मेरो वडामा पर्ने अरनिको हाइवे दायाँबायाँ जगातीदेखि साँगासम्म ठाउँठाउँमा फोहोर फालिएको देखिएको छ।

सडकको फोहोर व्यवस्थापन कहिलेसम्म गर्नुहुन्छ?
वडाको फोहोर व्यवस्थापनको योजना बनाएको छु । यसको लागि नेप्सेम्याक नामको गैर सरकारी संस्थासँग सहकार्य गरी अगाडि बढिरहेका छौँ । त्यो संस्थाले अरनिको राजमार्गमा सडक एरियाको फोहोर उठाएर लग्ने गर्छ । अब ऊसँगको योजनालाई बृहत् बनाई अरनिको राजमार्ग छेउछाउबाहेक गाउँघरभित्रका पसल, चोकहरूका फोहोर उठाउन लगाउने योजना पनि बनाएका छौं । यसको लागि जनताले तिर्न सक्ने हिसाबले सदस्यता दिलाएर फोहोर व्यवस्थित गर्दै आएका छौं । यो अभियानमा जनतालाई पनि उतारेका छौं । आफनो ठाउँ आफैं व्यवस्थित गरौ भन्ने नाराका साथ काम अगाडि बढिरहेको छ।

अरनिको राजमार्गका ठाउँं–ठाउँंमा पनि फोहोर देखिएको छ, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ?
सूर्यविनायक नगरपालिका वडा नं ९ र १० को अरनिको हाइवे साँगादेखि जगातीसम्म फोहोर फाल्ने कामलाई निषेधित गर्न सूचना जारी गरिसकेका छौं । राजमार्गको काठमाडौं फनपार्क, पलाँसे, बाँसबारीमा सिसिटिभी जडान गर्ने योजनामा छौं । प्रहरीलगायत विभिन्न निकायहरूसँग समन्वय गरी कारबाही गर्ने योजना बनाएका छौं । यसको लागि पूर्वसूचना जारी गरिसकेका छौं । ठाउँठाउँमा बोर्ड पनि टाँगेका छौं, फोहार नफाल्न । सूचनाको अटेर गरेमा प्रहरीले पक्राउ गर्ने, सचेत गराउने, जरिवाना गर्नेलगायत कारबाही प्रक्रिया सुरु गरेका छौँ।

फोहोरको समस्यालाई समाधान गर्ने कस्तो दीर्घकालीन योजना छ ?
अहिले हामीसँग डम्पिङ साइड छैन । त्यसकारण यहाँबाट उठ्ने सबै फोहोर नुवाकोटको सिसडोलमै जाने गरेको छ । दीर्घकालीन समाधानको रूपमा फोहोरबाट ऊर्जा निकाल्ने बायोग्यास निकाल्ने योजनामा छौं । फोहोरबाट ऊर्जा उत्पादन गर्ने योजना बनाइरहेका छौं । बायोग्यास उत्पादन गर्न जग्गाको खोजी गरिरहेका छौं।

वडावासीको जीवनस्तर सुधारका लागि के योजना अघि सार्नुभएको छ?
मसँग पत्रकारिताको पनि अनुभव संगालेको छु । त्यसैले समाजमा रहेका समस्याको बारेमा परिचित छु । त्यही अनुभवको आधारमा केही फरक ढंगबाट समस्याको सम्बोधन गर्ने योजना बनाएको छु । वडालाई समृद्ध बनाउने सोचका साथ कामहरू अगाडि बढाइरहेको छु । खासगरी मेरो वडामा पर्यटन र कृषिको राम्रो सम्भावना भएको वडा हो । जगातीदेखि साँगासम्मको दक्षिणी पहाडी भागलाई पयर्टनको प्रचुर सम्भावना बोकेको ठाउँ छ । यसलाई पर्यटनमार्फत् विकास गर्ने योजना बनाएका छौं ।  सूर्यविनायक नगरपालिका वडा नं ७ देखि १० वडामा धेरै खाली भू–भाग अन्य वडाको तुलनामा धेरै छन् । खेतीयोग्य जनिम धेरै बाँंकी छन् । अरनिको राजमार्गसँग पनि जोडिएको छ । यस्तो अवस्थामा ती खाली जग्गामा व्यावसायिक अर्गानिक खेतीको विकास गर्ने योजनामा छु । अर्गानिक तरकारी फर्म बनाउने योजना छ, खाली जग्गामा । यसका लागि बजेट पनि छुट्याएका छौँ।

यसका साथै मेरो वडामा पर्ने क्राँक्राबारी सुन्दर ठाउँ छ । नगरकोट र त्यो एउटै रेन्जमा छ । त्यहाँको गढीडाँडामा भ्यु टावर बनाउने योजना छ । बन्दीपुरको जस्तो हावापानी भएको यो ठाउँमा बाख्रा पालन गर्ने योजना छ । पर्यटकीय हिसावले होम स्टे खोल्ने योजना छ । नगरकोटको ठिक अपोजितको यो ठाउँलाई अर्काे नगरकोट बनाउने योजनामा छु।

कसरी बन्छ क्राँक्राबारी?
अरनिको हाइवे भक्तपुरको पलाँसे चोकबाट १५ मिनेट गाडीमा दक्षिण हिँडेपछि त्यहाँ पुग्न सकिन्छ । साथै यहाँ पुग्ने विभिन्न बाटाहरू छन् । जस्तो कि साँगाबाट पनि आशापुरी हुँदै पुग्न सकिन्छ। पलाँसेबाट, जगातीबाट डोलेश्वर हुँदै पनि पुग्न सकिन्छ । साँगोको अग्लो महादेवको मुनिको खाेंंचबाट पनि जान सकिन्छ। पलासँेबाट पैयाँचौर हुँदै रातोमाटेसम्म सडकको स्तरोन्नति गर्न यसै वर्ष एक करोडको बजेट व्यवस्थापन गरिएको छ।

तपार्इँको वडा विकसित क्षेत्रमा पर्छ, त्यो हिसाबले त्यसलाई व्यवस्थित सहर बनाउन कसरी अगाडि बढ्ने योजनामा हुनुहुन्छ?
मेरो वडा सूर्यविनायक नगरभित्रको दुर्गम वडा भने पनि हुन्छ । अरु वडाको तुलनामा घना वस्ती पनि छैन यो वडामा। खेतीयोग्य जमिन धेरै बाँकी छन् । खुला ठाउँ पनि प्रशस्तै छ । यसकारण व्यवस्थित सहरीकरण गर्नेतिर पनि ध्यान छ।

अरुभन्दा पृथक योजना केही छन्?
पर्यटन र कृषि योजनालाई पृथक योजनाको रूपमा लिएको छु । अरनिको राजमार्गको जगातीदेखि साँगासम्म थुप्रै रिसोर्ट छन् । राजमार्ग आसपासका यी रिसोर्टहरूमा जिल्लाका मात्रै होइनन्, देशैभरिका मानिस आवतजावत गर्ने गर्छन् । यहाँ मात्रै अर्गानिक तरकारी बेच्न सके आयआर्जनको हिसावले ठूलो फड्को मार्ने सम्भावना छ । रिसोर्टमा आउनेहरूलाई त्यहाँबाट १५ मिनेटमाथि काँक्रावारीमा लाने योजना छ।

सूर्यविनायक नगरपालिकाको विकासको योजना कसरी बनाउनुभएको छ?
सूर्यविनायक नगरपालिका प्राकृतिक हिसावले अरनिको राजमार्गको दक्षिणमा छ । कोटेश्वर पूर्वदेखि साँगासम्मको दक्षिणमा यो नगरपालिका छ । यसकारण नयाँ नगरपालिकाको रूपमा रहेको यो नगरपालिका क्षेत्रभित्र ढल, खानेपानीको राम्रो बन्दोवस्त गर्ने योजना छ । समयसमयमा हुने बाढीपीडित समस्यालाई दीर्घकालीन समाधानको योजना छ । यसको लागि खोलाको बहावलाई प्राकृतिक रूपमै बहाव गति दिनेछौं।

यो नगरपालिका क्षेत्र एउटा यस्तो नगरपालिका क्षेत्र हो, जहाँ अस्पताल छैन । यसकारण अस्पताल खोल्ने योजनामा छौं । सम्भवतः जगातीको इँटा टायल कारखानामा रहेको जग्गामा अस्पताल खोल्न योजना नगरपालिकाले बनाएको छ । शैक्षिक हिसावले अरु नगरपालिकाभन्दा अगाडि बढाउने योजना छ । यसको लागि शिक्षाको क्षेत्रमा उदाहरणीय रूपमा काम गर्ने नगरपालिकासँग सहयोग, सहकार्य गर्नेछौ । उसबाट सिकेर अगाडि बढ्नेछौं । राम्रो कामलाई राम्रो भन्नुपर्छ हामीले चाहे त्यो जोसुकैले गरेको होस् । भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा राम्रो गरेको छ । यसकारण भक्तपुर नगरपालिकासँग समन्वय गरेर हामी पनि शिक्षा र स्वास्थ्यमा पनि राम्रो गर्ने योजनाका साथ अघि बढेका छौं।

प्रस्तुतिः रेणु त्वानाबासु

प्रकाशित: २८ श्रावण २०७५ ०६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App