coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

हिलाम्मे सडकले पर्यटकलाई सास्ती

ठमेललाई पर्यटक आकर्षक केन्द्र मानिन्छ । यो क्षेत्र नेपाल आउने अधिकांश पर्यटकको रोजाईमा पनि पर्छ । तर, पर्यटक घुम्न आउने यो क्षेत्रमा बर्खायाम सुरु भएयता छिरिसक्नु छैन । यसको कारण हो– सडक हिलाम्मे हुनु । जसका कारण पर्यटकले सास्ती भोग्नुपरेको छ । त्यति मात्र होइन, घाम लाग्दा सडक धुलाम्मे हुने गरेको छ।

ठमेलसँगै बौद्धनाथ स्तूप घुम्न जाने पर्यटकले यस्तै समस्या झेल्नुपर्छ । गएको बुधबार ठमेल र बौद्ध क्षेत्रमा क्षेत्रमा पुग्दा पर्यटकहरू हिलोबाट जोगिँदै हिँडिरहेका देखिन्थे।

केही दिनअघि ठमेलमा भेटिएकी अमेरिकी नागरिक म्यारीले उपत्यकाका सडक बिग्रदा सास्ती पाएको सुनाउँछिन् । ‘नेपाल अत्यन्तै राम्रो ठाउँ भन्ने सुनेकी थिएँ, यहाँको अन्य कुरा राम्रो लाग्यो, घुम्ने ठाउँहरू पनि धेरै रहेछन्,’ उनले सुनाइन्, ‘तर, यहाँका सडक देख्दा नेपाल दिक्क लाग्यो।’

उनीजस्तै गुनासो पोख्छिन्, क्यानेडियन नागरिक रोडस् पनि । ठमेलमा भेटिएकी उनले भनिन्, ‘बौद्धनाथ स्तुपा एकदमै सुन्दर छ । तर, हिलाम्मे सडकले यसको सुन्दरता छोपिदिएको रहेछ, म नेपाल आउँदा ठमेलमा बस्छु । त्यहाँका सडक जहिले पनि हिलाम्मे देखिन्छन्।’

हिलाम्मे सडकले हिँडडुल गर्न सास्ती भोग्नुपरेको पर्यटकको गुनासो छ । यसले नेपालप्रति नकारात्मक सन्देश गइरहेको कतिपयको बुझाइ छ।

त्यसो त विदेशी पर्यटक मात्र नभई नेपाली पर्यटकहरू पनि सहर बिग्रदा मन दुखाउँछन् । धरानबाट काठमाडौं घुम्न आएका भीमन राईले ठमेलका सडक हिलाम्मे भएको दुखेसो पोखे । सरकारले नेपालको विकासका लागि केही गर्न नसकेको उनको गुनासो थियो।

अर्का पर्यटक टाँसी लामाले सडक मात्र नभई बौद्ध स्तुपमा ढल फुटेकाले घुम्न नसकेको बताए । उनले सबैभन्दा पहिले सडक व्यवस्थित पार्न सरोकारवाला निकायलाई सुझाए। ‘सबैभन्दा पहिले सरकारले यहाँका सडक बनाउनुपर्छ,’ उनले भने, ‘सडकको हालत नसुध्रिए विदेशीहरू आउन छाड्नेछन्।’

काठमाडौं महानगरपालिका–६ का वडाअध्यक्ष दीपेन्द्र लामाले बौद्धनाथ क्षेत्र धार्मिक आस्थाको केन्द्र रहेकाले पर्यटक घट्न नसक्ने दाबी गरे। उनले भने, ‘मेलम्ची खानेपानीका कारणले ढल निर्माण हुन नसकेको हो, ढलका समस्यालाई डाइभर्सन गरेर यो वर्षसम्ममा समाधान गर्छौ।’ उनले गुहेश्वरी ढल आयोजनासँग सहकार्य गरेर सकेसम्म ६० इन्चको ढल राख्ने बताए।

बौद्धनाथ क्षेत्र विकास समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा २ लाख ५२ हजार ३ सय ४ जना पर्यटकहरूले बौद्धनाथ स्तुपा क्षेत्रमा भ्रमण गरेका छन् । तीमध्ये सार्कबाट ८ लाख ७ हजार ३ सय २४ र अन्य देशका १६ लाख चार हजार ९ सय ८० पर्यटक छन्।

बौद्ध स्तुपा गेष्ट हाउसका म्यानेजर हुम बस्नेतले सिंगापुर, चीन, अमेरिका, रसिया, इजरायलबाट बढी पर्यटक आउने गरेको बताए।

बौद्धनाथ क्षेत्रमा घुम्न सार्कका पर्यटकलाई चार सय रूपैया र भारतीयलाई सय रूपैयाँ प्रवेश शुल्क लाग्छ।

ठमेलमा गेस्ट हाउस सञ्चालन गर्दै आएका अविनाप शाक्यले ठमेल क्षेत्र घुमिसकेपछि पर्यटकहरू आनन्दित हुने गरेपनि सडकको समस्या भएकोे बताए । उनका अनुसार ठमेलमा बढी मात्रमा युरोपियन देशका पर्यटकहरू बढी आउने गरेका छन्।

व्यवसायीहरुका अनुसार ठमेल क्षेत्रमा पर्यटकको लागि सार्वजनिक शौचालयको अभाव छ । सार्वजनिक शौचालय सरकारले बनाउनुपर्ने उनीहरूको माग छ।

प्रकाशित: २८ श्रावण २०७५ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App