coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

जुनसुकै बेला थिचिने डर

काठमाडौं महानगरपालिका–११, टेकुकी सुनिता शाक्य न्युरोडको एक मोबाइल पसलमा काम गर्छिन्। उनी सधैंजसो त्रिपुरेश्वर–सुन्धरा हुँदै न्युरोड पसलमा आउजाउ गर्छिन्। जब त्रिपुरेश्वरचोकको शालिकबाट मोडिएर सुन्धरातर्फ लाग्छिन्। तब उनको मनमा डर पैदा हुन्छ।

त्यसको कारण हो– त्रिपुरेश्वर चोकमा भूकम्पले भत्किएर क्षतिग्रस्त बनेको दशरथ रंगशालाको प्याराफिट र वर्षाैदेखि मक्किएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पर्खाल। त्रिपुरेश्वर चोकबाट आउँदाखेरि  उनले दाहिनेतर्फ भत्किएको रंगशालाको प्याराफिटको  सामना गर्नुपर्ने हुन्छ। त्यस्तै गरी देब्रेतर्र्फ भने केयुकेएलको धरापयुक्त पर्खालको सामना गर्नुपर्ने बाध्यता छ।

‘त्रिपुरेश्वरदेखि–सिसिटी मलसम्म कहिले पनि ढुक्क भएर आउजाउ गर्न पाइँदैन,’ सुनिताले भनिन्, ‘एकातर्फ रंगशालाको भत्किएको प्याराफिटले थिच्ला भन्ने डर, अर्काेतर्फ केयुकेएलको कोल्टे परेको पर्खालले पुर्ला भन्ने डरले सताउँछ।’

भूकम्पमा भत्किएर क्षतिग्रस्त बनेको दशरथ रंगशालाको प्याराफिट र वर्षाैदेखि मक्किएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पर्खाल त्रिपुरेश्वर–सुन्धारा हिँड्ने यात्रुका लागि धरापजस्तै छ।

सुनिता मात्रै होइन, त्रिपुरेश्वर–सुन्धारा आउजाउ गर्ने पैदल यात्रु धरापयुक्त भवनको सामना गर्दै ओहोरदोहोर गर्न बाध्य छन्।

सोही क्षेत्र भएर हिँडडुल गरिरहने साानोभ¥याङ स्वयम्भूकी नानी गड्तौलाले केयुकेएलको कार्यालयसँगै जोडिएको पर्खाल जीर्ण भएर जोखिम बढेको गुनासो गर्छिन् ।  ‘केयुकेएल कार्यालयको पर्खाल ढाड कुप्रेको मानिसजस्तो भ्वाक्क परेको छ । त्यसैले यी पर्खाल कुनै पनि बेला भत्किने सक्छ,’ उनले भनिन्, ‘पर्खाल भत्केसँगै फुटपाथमा हिँडिरहेका धेरै मानिसको ज्यान जान सक्छ, त्यसैले तत्कालै नयाँ पर्खाल लगाउनुपर्ने देखिन्छ।’

२०७२ सालको भूकम्पसँगै दशरथ रंगशाला र केयुकेएलको पर्खाल झनै चर्कियो। भूकम्पको बारम्बार पराकम्पनकै कारणले रंगशालाको प्याराफिट र केयुकेएलको पर्खाललाई थिलोथिलो पारिदियो। जसको कारणले अहिले सो क्षेत्र भएर आउजाउ गर्ने पैदलयात्रीले जोखिम व्यहोरेर नै हिँड्नपर्ने बाध्यता छ।

काठमाडौं महानगरपालिकाका वडा नं ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले दशरथ रंगशालाको प्याराफिट र केयुकेएलको जीर्ण पर्खाल भत्किए जुनसुकै बेला ठूलो मानवीय क्षति हुन सक्ने बताउँछन्।

‘केयुकेएलको पर्खाल भत्किएर चिराचिरा परेको मात्रै छैन । कोल्टे परेर बसेको छ। त्यसैले पर्खाल जुनसुकै बेला भत्किने देखिन्छ,’ उनले भने, ‘वडा कार्यालयले केयुकेएलका महाप्रबन्धकलाई बारम्बार जीर्ण पर्खाल मर्मतसम्भार गर्न अनुरोध गरिसक्यौं । तर, अहिलेसम्म  सिन्को भाँच्ने काम समेत गरेका छैनन्।’

वडाध्यक्ष तण्डुकार सिसिटी मलसँगै रहेको पेट्राल पम्पदेखि त्रिपुरेश्वर चोकमा ढल सडकभरि छताछुल्ल हुँदासमेत केयुकेएलले बेवास्ता गरिरहेको बताउँछन्।

‘एकातर्फ ढल फुटेर चुवाहट भइरहेको छ । अर्काेतर्फ पर्खाल भत्किएर धराप भएको छ । तर, सम्बन्धित निकायले ध्यानै दिएनन्,’ उनले भने, ‘वडा कार्यालयले फेरि केयुकेएललाई पत्र काटेर नै जीर्ण पर्खाल मर्मतसम्भार गर्न निर्देशन दिने तयारी गरेका छौं।’

हाल त्रिपुरेश्वरको केयुकेएलको केन्द्रीय कार्यालयको भवन २०३० सालमा निर्माण गरिएको हो । तत्कालीन खानेपानी तथा ढल निकास समितिले २०३० सालमा निर्माण गरेको हो । भवन निर्माणसँगै उक्त पर्खाल सोही समयमा निर्माण भएको हुनसक्ने केयुकेएलका प्रवक्ता सुरेश आचार्यको भनाइ छ।

नेपाल खानेपानी संस्थानले यसअघि उक्त भवनको भोगचलन गर्दै आएको थियो । २०६४ सालमा नेपाल खानेपानी संस्थान फेरिएर उपत्यका खानेपानी लिमिटेड(केयुकेएल ) नामाकरण बन्यो । पछिल्लो समय केयुकेएलले  पर्खालको मर्मतसम्भार नगर्दा जोखिम बढेको हो।

राष्ट्रिय खेलकुद परिषद्ले भूकम्पले भत्किएको दशरथ रंगशालाको पराफिट मर्मतसम्भार गर्न थाले पनि केयुकेएलले भूकम्पले चर्किएको पर्खाल पुनर्निर्माणमा चासो नै देखाएको छैन।

केयुकेएलका प्रवक्ता सुरेश आचार्यले २०३० सालमा बनेको केयुकेएलको पर्खाल जीर्ण भएर जोखिम बढेको स्वीकार्छन् । ‘भूकम्पले कम्पनको कारणले पर्खाल हल्लिएको थियो । त्यसैले केही भागमा चिराचिरा परेको छ,’ उनले भने, ‘सरसर्ती हेर्दा पर्खाल बनाउनुपर्ने नै देखिन्छ । तर, हाम्रो कार्यालयले खानेपानीको अपरेटिङ सिस्टम मात्रै हेर्छ । त्यसैले पर्खाल निर्माणमा ध्यान नदिएका हौं।’  

प्रवक्ता आचार्यले केयुकेएल कार्यालय मातहत पर्खाल परे पनि त्यसको मर्मतसम्भार र पुनर्निर्माणको जिम्मा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड मातहत पर्ने दाबी गरे । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणा केयुकेएलको पर्खाल जीर्ण भएकोबारे आफू बेखबर भएको बताउँछन्। ‘केयुकेएलबाट पर्खाल जीर्ण भएको विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन,’ उनले भने, ‘जीर्ण पर्खालको अध्ययन गरेर मर्मतसम्भार गर्नुपर्ने भए त्यसको लागि बजेट निकासा गर्नेछु ।’ उनका अनुसार पर्खाल निर्माण तथा मर्मतसम्भारको जिम्मेवारी केयुकेएलले लिनुपर्ने हुन्छ।

प्रकाशित: २८ श्रावण २०७५ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App