खोटाङ – खोटाङको ऐतिहासिक महुरेदेवीगढी पोखरीलाई आँखा आकारको आधुनिक पोखरीका रुपमा स्तरोन्नति गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेस्थित महुरेगढी नजिक किराती राजा भ्रमराजले १८३० सालमा निर्माण गरेको पोखरीलाई आँखा आकार दिइएको हो।
समुद्री सहतबाट २२ सय मिटरको उचाइमा रहेको महुरेगढीको पर्यटन प्रवद्र्धनका लागि मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गको संगमस्थलका रुपमा रहेको महुरेमा ५१ लाखको लागतमा ३२ मिटर लम्बाइको आँखा आकारको पोखरी निर्माण गरिएको हो। नगरपालिकाको ४३ लाख र स्थानीयवासीको आठ लाख बराबरको जनश्रमदानमा बीच भागमा ब्रिज डाइनिङ राखिएको पोखरी निर्माण गरिएको हो। पोखरी निर्माणमा पर्यटन मन्त्रालयको बजेटसमेत खर्च भएको छ।
उत्तरतर्फको हिमशृंखला, तराईका फाँट, प्राकृतिक दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास हुँदै गएको महुरेगढीको पर्यटन प्रवद्र्धनका लागि आँखा आकारको पोखरी निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश राईले बताए। हरेक वर्ष साउन २ गते ठूलो राँके मेला लाग्ने महुरेगढीमा बिजुलीबत्ती र डिजिटल बोर्ड सहितको पोखरी निर्माण भएपछि रमिता हेर्ने र सेल्फी खिच्नेको भीड लाग्न थालेको छ। पोखरी मेयर दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
सामाजिक सञ्जालमा विरोध र समर्थन
प्रतिपक्षी दलका नेताहरुले भने मापदण्ड मिचेर मध्यपहाडी लोकमार्गमै पोखरी निर्माण गरिएको भन्दै सामाजिक सञ्चालनबाट विरोध गरेका छन्। नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले गौरवको आयोजनाका रुपमा पोखरी निर्माण भए पनि मध्यपहाडी लोकमार्गको मापदण्ड मिचिएको बताएका छन्। ‘मध्यपहाडी लोकमार्गको सेन्टरबाट दायाँ–बायाँ ६२ मिटर कायम हुँदाहुँदै नगरपालिकाले मापदण्ड मिचेर पोखरी बनाएको छ,’ जोशीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गरिब जनतालाई मापदण्ड लाग्ने नागरपालिकालाई नलाग्ने?’ पोखरी निर्माणका क्रममा वडा कार्यालय नुनथलासँग भने समन्वय नभएको स्रोतले बताएको छ।
प्रकाशित: २८ श्रावण २०७५ ०५:०५ सोमबार