coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडक सम्पर्कबाट जोमसोम विच्छेद

मुस्ताङमा कालिगण्डकी नदीको कटान। तस्बिर : सुशीलबाबु/नागरिक

पोखरा/मुस्ताङ - न्यून वर्षा हुने हिमालपारिको जिल्ला मुस्ताङमा अहिले दिनहुँजसो वर्षा भइरहेको छ। निरन्तरको वर्षाले हिमाली जिल्लमा बाढीपहिरो निम्त्याएको छ। वर्षासँग बढेको कालिगण्डकी नदीको बहावले किनारका बस्तीमा क्षति पु¥याउनुका साथै पुलपुलेसा बगाएको छ। वर्षाले मुस्ताङ पुग्ने सडकसमेत बगाएको छ।

कालिगण्डकी नदीले शनिबार राति सडक कटान गर्दा मुस्ताङको सदरमुकाम जोमसोम सडक सम्पर्कबाट अलग भएको छ । जिल्लाका तीनवटा गाउँपालिकाअन्तर्गत पर्ने जमिन र सडक कालिगण्डकीले कटान गरेको छ। एक्कासी बहुलाएर आएको कालीगण्डकीले ठाउँठाउँमा बाँध भत्काएर खेतीयोग्य जमिन समेत बगाएको छ।

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ गाउँपालिकाअन्तर्गतको जमिन नदीले कटान गरेको वारागुँ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख धारा गुरुङले बताए। उनका अनुसार वर्षाका कारण नदीले कृषि, सडक र बस्तीमा क्षति पु¥याएको छ । ‘निरन्तरको वर्षाले साह्रै नै दुःख दियो,’ उनले भने, ‘हिमाली क्षेत्रमा योपटक अधिक वर्षा भएको छ।’

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र शर्माले शनिबार राति कालिगण्डकीमा आएको बाढीले मुस्ताङ जोड््ने मोटरबाटो बगेको बताए। सदरमुकाम जोमसोम नजिकै स्याङ भन्ने ठाउँमा झन्डै १ सय ५० मिटर सडक बाढीले बगाएपछि सवारी आवागमन रोकिएको जनकारी उनले दिए। ठाउँठाउँमा गएको पहिरो पन्छाउने काम भइरहेको उनले बताए। शनिबार बेलुका करिब ६ बजेतिर ढुम्बा खोला बढेर आएपछि कालीगण्डकी नदीको बहाव थुनिएको थियो। त्यसपछि कटान सुरु भएको थियो। झन्डै सातादेखि दिनहुँजसो मुस्ताङमा वर्षा भइरहेको उनले बताए।

‘शनिबार रातिको बाढीले यहाँ वितण्डा मच्यायो। कालिगण्डकी नदीमा पानीको बहाव बढेको छ,’ उनले भने, ‘त्यही बहावले नदी आसपासका क्षेत्र कटानमा परे।’ उनका अनुसार उच्च हिमाली क्षेत्रमा योपटक रातिको समयमा बढी पानी परेको छ। ‘दिउँसो आकाश खुला भए पनि रातिको समयमा वर्षा बढी हुँदा बाढी निम्तिएको हो,’ उनले भने। शर्मामा अनुसार ढुम्बा खोला थुनिएर फुटेपछि कालिगण्डकीको सतह एक्कासी बढेको थियो। त्यसले आसपासका बस्तीमा क्षति पु-याएको हो।

उनका अनुुसार मुस्ताङमा करिब तीनदशकपछि बाढीले यति धेरै क्षति पु-याएको हो। ‘करिब तीनदशकपछि यति ठूलो बाढी आएको यहाँका बासिन्दाले हामीलाई भनेका छन,’ सहायक प्रजिअ शर्माले भने, ‘बाढीले घर, स्याउ बगैंचा र बाटोघाटोमा क्षति पु-याएको छ।’ नदी आसपासका दर्जन बढी घर जोखिममा परेको उनले बताए।

शर्माका अनुसार केही दिनअघि पनि वारागँु मुक्तिक्षेत्र अन्तर्गतको कागबेनी र तिरी जोड्ने एकमात्र काठेपुल पनि कालिगण्डकीले बगाएको थियो। तीन वर्षअघि त्यो पुल बनेको थियो। पुल बाढीले बगाएर आउजाउ रोकिएपछि बैकल्पिक पुल हालिएकोे छ।

शनिबारको बाढीले जिल्लामा बढी क्षति पु-याएको छ। कालीगण्डकी नदीले घरपझोङ गाउँपालिका–१ र २ स्थित छैरो र मार्फा गाउँको खेतीयोग्य जमिन बगाउँदा लाखौं रुपैयाँको नोक्सानी भएको स्थानीयले बताएका छन्। मार्फास्थित सितोष्ण बागवानी केन्द्रको सरकारी खेतीयोग्य जमिन पनि नदीले बगाएको छ। बाढीले खेतीयोग्य जमिन पनि कटान गरेको घरपझोङ गाउँपालिका प्रमुख आसबहादुर थकालीले बताए।

यसैगरी थासाङ गाउँपालिका–३, धम्पू साघुँ नजिकै जमिन भाँसिदा कालीगण्डकीको बहावले बस्ती जोखिममा परेको स्थानीय महेन्द्र गौचनले जानकारी दिए। ‘दिनदिर्न नदी कटानले खेतीयोग्य जमिन भासिँदा स्थानीय त्रसित छन्, राति सुत्न सकेका छैनन्,’ उनले भने। घरपझोङ गाउँपालिका–३ स्याङ गाउँनजिकै कालीगण्डकी नदी थुनिँंदा ५ घरका बासिन्दा रातभर जाग्राम बसे।

निरन्तरको वर्षाले हिमाली भेगबाट आउने भेलले पनि हिँडडुलमा समस्या थपिएको छ। भेलले बाटो काटेको छ। ‘पहिला–पहिला पनि बाढी त आइराख्थ्यो तर यसपटक त अहिलेसम्मकै ठूलो हो,’ घरपझोङ गाउँपालिकाका प्रमुख थकालीले भने, ‘हिमाली भेगमा यसपटक बाढीले वितण्डा मच्याएको छ । उच्च हिमाली भेगमा वर्षा भएपछि हिउँ पग्लेर नदीको बहाव बढेको छ ।’ कम पानी पर्ने जिल्लामा अहिले क्षति नै पु-याउनेगरी वर्षा भएको उनले बताए।

उनका अनुसार कालीगण्डकीले बहाव पनि फेरेको छ। ‘बहाव फेरिएपछि मान्छे हिँड्ने बाटोमा नदीको बगेको छ,’ उनले भने, ‘यसले गाउँलाई उच्च जोखिममा पारेको छ।’ तत्काल नदी कटानबाट गाउँ जोगाउन जोमसोम हुँदै ठिनी र ढुम्बाबाट डोजर लगेर नदी नियन्त्रण गर्ने काम थालिएको उनले बताए।

‘कतिखेर फेरि बाढी आउने हो भन्न सकिन्न,’ स्थानीय चन्द्र थकालीले भने, ‘हामी त्यही बाटो भएर जोमसोम आउजाउ गथ्र्यौं, अहिले बाटोको निसान पनि छैन। कतै कतै बाटोमा कालीगण्डकी बगेको छ।’ गाँउपालिका प्रमुख थकालीले थप क्षति हुन नदिन सतर्कता अपनाउन जरुरी रहेको बताए । ‘दैवीप्रकोप जतिबेला पनि आइपर्न सक्छ । त्यसैले सजग हुन जरुरी छ,’ उनले भने।

कालीगण्डकी नदी कटानले घरपझोङ गाउँपालिका–१ छैरोका स्थानीयको स्याउको बगैंचा र जमिन बगाएको छ। रातभरी परेको बर्षा र कालीगण्डकी नदीले छैरो निवासी जितबहादुर रसाइली र कृष्ण गौचनको खेतियोग्य जमिन भासिएको छ । दुईजनाको गरि १० रोपनी भन्दा बढी जमिन बगाएको हो। रसाइलीले भने, ‘मेरो करिब ६ रोपनी खेतियोग्य जमिन खोलाले बगाएको छ, बर्षेनी लाखौको नगदे बाली र स्याउबाट आर्थिक जोहो गर्न पाइन्थ्यो। अब त्यति धेरै जमिन कहिल्यै फर्केर नआउने भयो।’ अर्का पीडित गौचनका अनुसार बेलैमा सम्बन्धित निकायले ध्यान नदिने हो भने क्षति अझै बढ्ने सम्भावना छ। क्षति बढ्दै गएर गाउँलाइ समेत धक्का पुग्ने उनले बताए। छैरो गाउँका करिब १० घरधुरीका खेत अहिले जोखिममा छ।

पोखरास्थित हावापानी कार्यालयका अनुसार शुक्रबार मुस्ताङको माथिल्लो क्षेत्र छोसेरमा २९ मिलिमिटर वर्षा भएको थियो । शनिबार जोमसोममा झन्डै १० मिलिमिटर वर्षा भएको थियो। कार्यालय प्रमुख राजाराम ढकालका अनुसार हिमाली भेगमा २९ मिलिमिटर वर्षा हुनु अधिक हो। ‘हिमाली भेगमा २९ मिलिमिटर वर्षा हुनु भीषण हो,’ उनले भने, ‘वर्षा भएपछि त्यहाँ चिसो बढ्ने र त्यसपछि हिमपातको सम्भावना रहन्छ।’

प्रकाशित: २८ श्रावण २०७५ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App