coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

क्षतिपूर्ति नपाउँदा शोकमाथि सन्ताप

सर्लाहीको हरिपूर्वा नगरपालिका ९ वसन्तपुरका नरेन्द्र चौधरीका पाँच दाजुभाइ बस्दै अएको घर। नरेन्द्रको हाइभोल्टेजका कारण करेन्ट लागेर मृत्यु भएपछि उनकी पत्नी किसुनदेवीसहित तीन छोराछोरीको बिजोग भएको छ। तस्बिर : टंक/नागरिक

सर्लाही - ‘घर चलाउने मुख्य मान्छेको मृत्यु भएपछि हाम्रो बिजोग भएको छ। १३ दिने काजकिरिया पनि ऋण खोजेर जसोतसो ग-यौं। क्षतिपूर्ति पाउने भनेको छ तर खै कहिले हो।’ यो गुनासो हो हरिपूर्वा नगरपालिका ९ वसन्तपुरकी किसुनदेवी चौधरीको। उनका पति ३६ वर्षीय नरेन्द्र चौधरीको हाइभोल्टेजका कारण करेन्ट लागेर यही साउन ७ गते मृत्यु भएको हो। घटनामा नरेन्द्रसँगै सोही गाउँकी १४ वर्षीया सुनीता खत्वे मण्डलको मृत्यु भएको थियो। सोही घटनामा स्थानीय २० वर्षीया फूलोदेवी महतोलगायत ६ जना स्थानीय घाइते भएका थिए।

किसुनदेवीले क्षतिपूर्ति रकम नपाउँदा आफूहरुलाई जीवन गुजारा गर्न पनि गाह्रो भएको बताइन्। ‘घर चलाउने मुख्य मान्छे बितिहाल्नुभो, परिवार धान्न छोराले दैनिक मजदुरी गर्न थालेको छ’, चौधरीले नागरिकसँग भनिन्, ‘क्षतिपूर्ति पाए ससानो व्यवसाय वा अन्य केही उपाय गर्नुहुन्थ्यो। तर प्रहरीले बोलाउने र सहीछाप गराउनेबाहेक केही भएको छैन।’ श्रीमान्को मृत्युपछि एक छोरा र ससाना दुई छोरीसहितको परिवार धान्न निकै कठिन भइरहेको उनले बताइन्। दाइको मृत्युपछि भाउजूलगायत छोराछोरीको व्यवहार चलाउन निकै समस्या भएको नरेन्द्रका साइँला भाइ विमलेश चौधरीले बताए । उनीहरुका पाँच दाजुभाइ छुट्टिए पनि एउटै घरमा कोठा बेरेर बस्दै आएका छन्।

घटना भएपछि सुरुमा गाउँले तथा आफन्तसहितले मृतकका परिवारलाई कम्तीमा १५ लाख रुपैयाँको दरले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तथा परिवारका एकजनालाई रोजगारी उपलब्ध गराउनुपर्ने माग राखेर शव पोस्टमार्टम नै गर्न दिएका थिएनन्। मृतकका परिवारलाई कानुनबमोजिम पाउने क्षतिपूर्ति रकम नेपाल विद्युत् प्राधिकरणले तत्काल उपलब्ध गराउने र मलंगवा शाखाले थप राहतका लागि पीडितको निवेदन सम्बन्धित निकायमा पठाउने तथा पहल गर्ने, मृतकको परिवारका एक सदस्यलाई स्थानीय स्तरमा रोजगारी उपलब्ध गराउन सबै पक्षहरुले सहयोग पु-याउने, घाइतेहरुको उपचारमा लागेको खर्च भराउन विद्युत् प्राधिकरण मलंगवा शाखाले सम्बन्धित निकायमा लेखी पठाउनेलगायत ६ बुँदे सहमति भएपछि घटनाको तेस्रो दिन आफन्तले शव बुझेका थिए।

मोबाइल चार्जका लागि घरमा स्विच अन गर्ने क्रममा उनीहरुलाई करेन्ट लागेको स्थानीयले बताएका छन्। ११ हजार भोल्टेजको हाइटेन्सन लाइनको तार खसेर घरमा वितरण गर्ने २ सय ४० भोल्टेजको तारमा छोएका कारण उनीहरुलाई करेन्ट लागेको थियो।

विद्युत् प्राधिकरण मलंगवाका निमित्त प्रमुख विजयकुमार सिंहले प्राधिकरणको नियमानुसार अधिकतम क्षतिपूर्ति उपलब्ध गराउने गरी क्षेत्रीय कार्यालयमा सिफारिस गरिसकिएको जानकारी दिए। ‘हामीले क्षेत्रीय कार्यालय जनकपुरमा कागजात पठाइसक्यौं’, उनले भने, ‘क्षेत्रको सिफारिस पुगेपछि केन्द्रले छानबिन समिति गठन गर्छ र स्थलगतरुपमा बुझेपछि मात्र क्षतिपूर्तिबारेमा निर्णय हुन्छ।’ विद्युत् प्राधिकरणको नियमानुसार मृतकका परिवारलाई अधिकतम ५ लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउन सकिने व्यवस्था रहेको र थप क्षतिपूर्तिका लागि सबै पक्षले पहल गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले जानकारी दिए।

प्राधिकरणको लापरबाहीका कारण मृत्यु भएकाले पीडित परिवारलाई यथाशीघ्र अधिकतम क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग स्थानीयको छ। प्राधिकरणका निमित्त प्रमुख सिंहको भनाइअनुसार भने पीडित परिवारले बढीमा पाँच लाख क्षतिपूर्ति पाउने र त्यसका लागि पनि महिनौं कुर्नुपर्ने देखिन्छ।

प्रकाशित: २८ श्रावण २०७५ ०१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App