८ वैशाख २०८१ शनिबार
राजनीति

चार दिनपछि खुल्यो प्रदेश राजधानी हेटौंडा बजार

हेटौंडा बजारमा राखेको नो पार्किङ्ग । तस्बिरः नागरिक

मकवानपुर– चार दिनदेखि बन्द रहेको ३ प्रदेशको राजधानी हेटौंडा बजार आइतबार साँझबाट खुलेको छ। आन्दोलनरत मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा उपमहानगरपालिकाबीच सहमति भएपछि बजार खुलेको हो।

उपमहानगरपालिकाले ‘नो पार्किङ्ग’ लागू गरेपछि त्यसका विरुद्ध उद्योग वाणिज्य संघको आन्दोलनका कारण बजार बन्द रहँदै आएको थियो। सहमति अनुसार नो पार्किङ्ग लागु गरिएको सबै क्षेत्रमा सामान किनमेल गर्न जाँदा उपभोक्ता (ग्राहक)ले एकतर्फी रुपमा दुई पाङ्ग्रे सवारी रोक्न पाउने भएका छन्। तर नो पार्किङ्ग क्षेत्रमा व्यवसायी र घरधनीले भने पार्किङ्ग गर्न नपाउने र गरेमा १ हजार जरिवाना लाग्ने समेत सहमति भएको छ।

व्यवसायीका लागि समेत पार्किङ्ग गर्न नो पार्किङ्ग क्षेत्रकै केही फराकिलो स्थानमा व्यबस्था मिलाइने सहमति भएपछि आन्दोलन फिर्ता लिईएको मकवानपुर उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष माधब न्यौपानेले बताए। ‘उपभोक्तालाई सहज रुपमा पार्किङ्ग गर्न दिने भएपछि हेउमनपाले तोकेको स्थानमा मात्र पार्किङ्ग गर्न हामी सहमत भयौ,’ उनले भने। नो पार्किङ्ग क्षेत्रमा ब्यवसायीले समेत पार्किङ्ग गर्नसक्ने भएकाले उनीहरुको मोटरसाइकलमा स्टिकर टाँस्ने ब्यवस्था गरिने उनको भनाई छ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ब्यवसायीहरु सहमतिमा आएपछि हेटौंडाको सवारी चाप ब्यवस्थापन गर्न सहयोग पुग्ने बताए। दिनभर घर र पसल अगाडि सडकमा पार्किङ्ग गरेर सवारी चाप बढाउने कुराको अन्त्य गरेको बताउँदै उनले व्यवसायीहरुका लागि पार्किङ्ग व्यवस्था मिलाइने बताए।

सहमतिपछि हेटौंडा उपमहानगरपालिकाका ४ जना वडा अध्यक्षसहित मकवानपुर उद्योग वाणिज्य संघको टोली हेटौंडा बजारमा ब्यवसायीको लागि पार्किङ्गस्थल पहिचान गरिरहेका छन्। सोमबार हेटौंडा बजारको सबै पसलको चाबी बुझाउने तयारी गरिरहेको मकवानपुर उद्योग बाणिज्य संघले सहमति भएपछि आइतबार साँझ पसल खुल्ला गर्न अडियो सूचना माईकिङ्ग समेत गरेको थियो।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडाको राप्तीरोड तथा स्कूलरोडमा ‘नो पार्किङ्ग’ लागू गर्दा बिवाद भएपछि हेटौंडा बजारमा पर्ने राजमार्गको सबै सडक र स्कूलरोडमा उपमहानगरपालिकाले ‘नो पार्किङ्ग’ लागू गरेको थियो। सहमतिपछि पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ र कान्ती लोकपथसँगै बजारका अन्य सडकमा पनि घरधनी र ब्यवसायीले सवारी पार्किङ्ग गर्न नपाउने भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्तीपुलदेखि बुद्धचोकको बीच राप्तीरोडस्थित रक्त सञ्चार केन्द्रको दक्षिणपट्टिको खाली ठाउँ र बुद्धचोकको दक्षिणमा अवस्थित भीमसेन मिनी मार्केट क्षेत्रमा पार्किङ्ग क्षेत्र तोकिएको छ।

कान्तिलोकपथ क्षेत्रको पार्किङ्ग ओम भवन नजिक गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वीरेन्द्रकुमार ठाकुरले बताए। साथै बुद्धचोकदेखि बन बिज्ञान अध्ययन संस्थानसम्मको ४ चक्के सवारीसाधन हेटौंडा १० स्थित बसपार्कको खसी बजार र टिसिएनको खाली जग्जामा पार्किङ्ग गरिने उनको भनाई छ। त्यस्तै स्कुलरोडको पार्किङ्ग भैरवरोडमा, त्रिभुवन राजपथ अन्तर्गत बुद्धचोकदेखि चौकीटोलसम्मको पार्किङ्ग मकवानपुर उद्योग बाणिज्य संघ नजिक पुरानो मकवानपुर रोडमा गरिने उनले बताए।

प्रकाशित: २७ श्रावण २०७५ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App