१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारको काममा ढिलाई भयो भन्ने आलोचना जायज छ : मन्त्री ज्ञवाली

भक्तपुर– पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षले सरकारका बिरुद्ध कथाकथित अधिनायकवादको कृत्रिम हल्ला गरी भ्रम फैलाउने कार्य गरिरहेको बताएका छन्। 

रफत संचार क्लबद्वारा आइतबार आयोजित साक्षात्कारमा बोल्दै उनले तातो चियाको बाफ उडेजस्तै कृतिम हल्ला उडेको टिप्पणी गर्दै यस्ता हल्लाले सरकारलाई असर नपर्ने बताए। 

उनले सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको प्रष्ट्याउँदै देशमा शान्ति सुरक्षा कायम गर्न, सुशासनको प्रत्याभूति दिन र देशलाई समृद्धितर्फ लैजान सरकार लागिरहेको स्पष्ट पारे।

‘अघिल्लो सरकारले ल्याएको बजेट र समस्यालाई समाधान गर्नै सरकारलाई ५ महिना लाग्यो, अनि कसरी देखियोस सरकारका प्रभावकारी कामहरु, अब सरकारले नयाँ बजेट अनुसार काम सुरु गरेको छ, अब काम प्रभावकारी रुपमा अगाडि बढ्छ’

सरकारको काममा ढिलाई भयो भनेर आएका आलोचनालाई अाफूहरूले सुझावको रुपमा लिएको बताउँदै मन्त्री ज्ञवालीले भने, ‘अघिल्लो सरकारले ल्याएको बजेट र समस्यालाई समाधान गर्नै सरकारलाई ५ महिना लाग्यो, अनि कसरी देखियोस सरकारका प्रभावकारी कामहरु, अब सरकारले नयाँ बजेट अनुसार काम सुरु गरेको छ, अब काम प्रभावकारी रुपमा अगाडि बढ्छ।’ 

प्रतिपक्षको रुपमा काँग्रेसले विरोधका लागि विरोध मात्रै गरेको टिप्पणी गर्दै उनले भने, ‘सत्ताबाट बाहिरिनु परेको, पार्टी खुम्चेको पीडाले स–साना कुरामा पनि विरोध गरेर चर्चामा आउन खोजेको छ।’ उनले काँग्रेसलाई विरोध भन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे। 

सरकारले प्रभावकारी रुपमा कुटनीतिक प्रयास गरिरहेको बताउँदै उनले भारतसंग विश्वासको आधार निर्माण गरिसकेको, चीनसंग बृहत्तर विकास साझेदारीको खाका तयार पार्न सफल भएको दाबी गरे।

समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल पार्न सरकारले बाह्य सम्पर्क, सम्बन्ध असाध्यै राम्रो बनाएको जानकारी गराउँदै उनले आगामी तीन वर्षमा नेपाललाई अल्प विकसित राष्ट्रबाट माथि उठाउने र सन् २०३० सम्ममा देशलाई मध्यम स्तरमा देशलाई ल्याउन दाताहरुको सहयोग समेत जुटाउने कामका लागि लागिपरेको बताए।

मन्त्री ज्ञवालीले नेपालको व्यापार घाटा घटाएर सन्तुलित बनाउन र वैदेशिक लगानी अभिबृद्धि गर्न, आयातमा कर छुट गर्न र नेपालमा पर्यटक भित्र्याउन आफ्नो पहल भइरहेको बताउँदै अहिले परिपक्क, अनुकुल र राम्रो बाह्य सम्बन्ध विस्तार गरेको बताए।  

अघिल्लो सरकारले गरेको नियुक्ती बदर गर्दै प्रतिशोध साध्ने काम सरकारले नगरेको भन्दै मन्त्री ज्ञवालीले भने, ‘वर्तमान् सरकारले देउवा सरकारले गरेको नियुक्ती बदर गरेको होइन, देउवा सरकारले माओवादीका मन्त्रीहरुलाई विना विभागीय बनाएर सत्ताको दुरुपयोग गरी निर्वाचन आचारसंहिता विपरित निर्वाचनलाई नै प्रभावित पार्ने गरि गरेको नियुक्ती बदर गर्न खोजेको हो।’

सरकारले गरेको बदरलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट उल्टाउने प्रयास गरेपनि अन्तत: अन्तिम फैसलामा सरकारको निर्णयलाई सर्वोच्चले सदर गर्नेमा आफूहरु विश्वस्त रहेको उनको भनाई छ।

संविधानले नै प्रदेश र स्थानीय सरकारलाई पनि कर लगाउन अधिकार दिएको स्मरण गराउँदै उनले जनताले दोहोरो कर भने तिर्नु नपर्ने बताए। मन्त्री ज्ञवालीले भने, ‘दोहोर कर जनताले तिर्नु पर्दैन, त्यस्तो कर छ भने सरकारले हटाउँछ, करको दायरामा नआएकालाई दायरामा ल्याउन खोज्दा कतिपय समस्या आउँछन्, यद्यपी दोहोरो करको बारेमा सरकारले रिपोर्ट संकलन गरिरहेको छ, त्यस्तो पाईएमा त्यस्ता कर हटाउँछ।’

प्रकाशित: २७ श्रावण २०७५ ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App