coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

प्रियंका र आयुष्मानको स्वयंवर

काठमाडौं – केही दिनअघि इंगेजेमन्ट गरेका प्रियंका कार्की र आयुष्मानदेशराज जोशीले शनिबार साँझ स्वयंवर गरेका छन्। राजधानीको बत्तिसपुतलीस्थित द्धारिका होटलमा आयोजित नीजि समारोहमा आयुष्मानले प्रियंकाको औंलामा औंठी लगाइदिँदै स्वंयवर गरेका हुन्। कार्यव्यस्तताले दुवैले विवाह भने अर्को वर्ष मात्र गर्ने जनाएका थिए। 

दुवैको स्वयंबरमा फिल्म क्षेत्रबाट दीपक राज गिरी, दीपाश्री निरौला,  निश्चल बस्नेत, स्वस्तिमा खड्का, सन्जोग कोइराला र वर्षा राउत आदिले सहभागिता जनाएका थिए। स्रोतका अनुसार प्रियंकाले स्वयंबर भन्ने जानकारी नै नदिइ इंगेजमेन्टमा बोलाउन नपाएको भन्दै ती सेलिब्रेटीलाई द्धारिका निम्त्याएको स्रोतले बतायो।  

एक समय रातो बंगलामा फरक फरक कक्षामा पढेका प्रियंका र आयुष्मान ‘कथा काठमाडौं’का सेटबाट नजिकिएका थिए। त्यसयता दुवैले एक अर्काप्रतिको प्रेम खुल्लम खुल्ला अभिव्यक्त गर्दै आएका थिए। 

प्रियंकाको आयुष्मानसँगको दोस्रो विवाह हो। झण्डै आठ वर्षअघि उनले अमेरिकामा रोचक मैनालीसँग विवाह गरेकी थिइन्। अमेरिकामा पढ्न गएको बेला त्यही कम्प्युटर इन्जिनियरका रुपमा काम गरिरहेका मैनालीसँग सन् २०१० जुलाईमा भेट भएपछि विवाह भएको थियो। तर तीन वर्ष पछि प्रियंका र रोचकको डिभोर्स भएको थियो। 

सन् २००५ को ‘मिस टिन’ विजेता प्रियंकाले नेपाल आएर फिल्म ‘थ्री लभर्स’ मा अभिनय गरेपछि उनी फिल्म क्षेत्रमै व्यस्त रहिन्। फिल्म क्षेत्रमा सक्रिय रहँदा उनको नाम दयाहाङ राईसँग पनि जोडिने गरेको थियो।  

आयुष्मान भने प्रियंकासँग नजिक हुनुअघि  ‘चपली हाइट २’मार्फत अभिनयमा डेब्यु गरेकी परमिता राज्यलक्ष्मी राणा अफेयरमा थिए।  परमितासँगको सम्बन्ध टुटेपछि आयुष्मान र प्रियंका एकापसमा नजिकिए। उनीहरूको प्रेमको चर्चाले गसिप कोलममा स्थान पाइरहे पनि औपचारिक रुपमा दुवैले आफ्नोे सम्बन्ध कबोल गरेका थिएनन्।

तर  राजधानीमा आयोजित एक फिल्मी अवार्ड कार्यक्रममा उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएपछि स्टेजबाट ओर्लिएर दर्शक दिर्घामा रहेका आयुष्मानलाई सार्वजनिक रुपमै चुम्बन गरेपछि उनीहरूको प्रेम रहस्यबाट बाहिर आएको थियो। 

आयुष्मान र प्रियंकाले फिल्म ‘छक्का पन्जा २’मा स्क्रिन शेयर गरिसकेका छन् भने अर्को फिल्म ‘कथा काठमाडौं’ प्रदर्शनको तयारीमा छ। 

 

प्रकाशित: २७ श्रावण २०७५ ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App