८ वैशाख २०८१ शनिबार
खेल

कालुसालाई दुई वर्षको प्रतिबन्ध

लौसाने – विश्व फुटबल संघ (फिफा) ले जाम्बिया फुटबल संघका पूर्वअध्यक्ष तथा अफ्रिकी पूर्वफुटबलर कालुसा ब्वाल्यालाई घूस लिएको आरोपमा शुक्रबार दुई वर्ष प्रतिबन्धको सजाय सुनाएको छ। 

आर्थिक अनियमितता (घूस) प्रकरणमा मुछिएका ५४ वर्षे ब्वाल्यालाई फिफाले एक लाख अमेरिकी डलर जरिवानासमेत गरेको छ । ब्वाल्याले कतारका व्यापारी मोहम्मद बिन हमामसँग ‘उपहार र अतिरिक्त फाइदा’ लिएको फिफा अनुशासन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

फुटबलका पूर्वपदाधिकारी धनी बिन हमाम यसअघि भ्रष्टाचारमा संलग्न भएको भन्दै फिफाले आजीवन खेलकुद गतिविधिबाट प्रतिबन्ध लगाएको थियो । २०११ मा फिफा अध्यक्षका लागि उम्मेदवारी दिएका हमामले सेप ब्लाटरमाथि जित हात पार्न मत किन्ने प्रयास गरेका थिए । उनले मत किन्नका लागि पैसा बाँडेको आरोप लागेको थियो। 

ब्वाल्या १९८८ मा अफ्रिकी वर्षखेलाडी घोषित भएका थिए । साथै २००८ मा जाम्बिया फुटबल संघको अध्यक्ष पदमा निर्वाचित उनलाई २०१६ मा एन्ड्रिउ कामान्गाले प्रतिस्थापन गरेका थिए । फिफा अनुशासन समितिले २०१७ को फेब्रुअरीबाट अनुसन्धान थालेको थियो। 

 

प्रकाशित: २७ श्रावण २०७५ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App