६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

चोरी भएको विमान दुर्घटनामा

सियाटल (बिबिसी) – सियाटल विमानस्थलबाट चोरी भएको यात्रुवाहक विमान नजिकैको टापुमा दुर्घटनामा परेको छ।
एयरलाइन्स कम्पनीका एक कर्मचारीले सो विमान चोरेका थिए। उक्त विमान खाली थियो । विमान चोरी गरेका ती कर्मचारीले स्थानीय समयअनुसार शुक्रबार अबेर राति अनाधिकृत रूपमा विमान उडाएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

एयरलाइन्स कम्पनीका कर्मचारीले विमान चोरी गरेर अनाधिकृत रूपमा विमान उडाएपछि सियाटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमान चोरी भएपछि दुईवटा एफ१५ फाइटर प्लेनले उक्त विमानको खोजी गरेको थियो। पड्किएको आवाजसहित सो विमान दुर्घटना भएको बताइएको छ। विमान चोरी गर्ने मानिसको पनि मृत्यु भएको आशंका गरिएको छ । सुरक्षासम्बन्धी स्थानीय अधिकारीका अनुसार सो कार्य आतंकवादी घटना हैन। विमान चोरी गर्ने मानिस २९ वर्षका रहेको र स्थानीय भएको पनि उनले बताएका छन्। रमाइलो गर्नका लागि ती युवाले विमान चलाउँदा नराम्रो भएको स्थानीय सुरक्षाकर्मी पाउल पास्टरले बताएको एबिसी सेभेन न्युजले बताएको छ ।
के भएको थियो?

अलास्का एयरलाइन्सको भगिनी कम्पनी होराइजन एयरको दुईवटा इन्जिन भएको टर्बोप्रप बम्बार्डिएर क्यू४०० विमान सियाटल–टाकोमा विमानस्थलबाट शुक्रबार स्थानीय समयअनुसार राति ८ बजे उडेको थियो।

चोरी भएको विमान उड्ने बेलामा रनवेमा बेल स्काचटर थिए। ‘खत्तम भयो,’ उनले ट्विट गरेका छन्। ‘हाम्रो नजिकै रहेको विमानमा रहेका चालकले विमानस्थलको टावरको निर्देशन विपरित खाली विमानलाई जथाभावी रूपमा चलाएर लगे। टावरले रोक्न आदेश दियो र विमान चालकसँग सम्पर्क गर्न खोजिरहेको छ,’ उनले गरेको ट्विटमा जनाइएको छ।

चोरी भएको विमान धावनमार्गबाट उड्नेबित्तिकै खोजी कार्यका लागि दुईवटा फाइटर जेट परिचालन गरिएको थियो। ती दुई विमानले चोरी भएको विमान पछ्याइरहेको विभिन्न भिडियो बाहिरिएका छन्। भिडियोमा चोरी भएको विमान जथाभावी उडिरहेको देखिएको छ। विमान दुर्घटनामा कुनै पनि फाइटर जेटको संलग्नता नरहेको अधिकारीहरुले बताएका छन्। चोरी भएको सो विमान विमानस्थलबाट करिब ४८ किलोमिटर परको दक्षिणी क्षेत्रमा रहेको केट्रोन टापुको दक्षिणी क्षेत्रमा एक घण्टापछि तल आएको अधिकारीहरुले बताएका छन्। सुरक्षाकर्मीका अनुसार विमान चोरी गर्ने ती व्यक्तिको पनि सम्भवतः मृत्यु भएको छ।

विमान किन चोरी भयो ?
२९ वर्षीय ती युवकले विमान किन चोरी गरे भन्ने विषय तत्कालका लागि भने प्रष्ट नभएको बताइएको छ । यद्यपि एयर ट्राफिक कन्ट्रोलसँग भएको उनको अडियो रेकिर्डिङले होराइजन एयरका कर्मचारीले सो विमान चोरेर उडाएपछि के भएको थियो भन्ने विषयमा केही जानकारी भने दिएको छ।

विमानमा कति इन्धन छ भनेर ती व्यक्तिले चिन्ता गरिरहेको रेकर्डिङमा सुन्न सकिन्छ। उनले आफूले केही भिडियो गेम खेलेकाले आफैले विमानलाई अवतरण गराउन सक्ने बताएको पनि सुन्न सकिन्छ।

प्रकाशित: २७ श्रावण २०७५ ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App