८ वैशाख २०८१ शनिबार
समाज

अधिकांश पीडक आफन्त र चिनजानका

इटहरी - इटहरीकी एक विवाहित महिलाको इलाम घर भएका २२ वर्षीय मनोज राईसँग वर्ष दिनदेखि चिनजान भएको थियो। मनोज मोरङ विराटचोकस्थित एक होटलमा काम गर्छन्। महिलाका पति विदेशमा छन्।

देखावटी रूपमा मनोज र महिलाबीच दाजुबहिनीको गाढा सम्बन्ध हुन थाल्यो। मनोजले ती महिलालाई फुर्सदमा डुलाउन लैजान्थे। दस दिनअघि मनोज ती महिलालाई डुलाउन लान तयार भए। पहिला उनीहरू इटहरीकै ग्रिनजोन होटलमा नास्ता खान गए। दुवैले कोठामा बसेर नास्ता खाने निर्णय गरे। नास्ता खाने निहुँमा कोठाभित्र छिरेपछि मनोजले ती महिलालाई जबरजस्ती गरे।

महिलाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिइन्। अहिले घटना अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बुद्धिप्रसाद चौलागाईंले बताएका छन्। साताअघि इटहरी ५ का सुदीप राईको घरमा गाउँकै विवाहित महिला आइन्। ती महिलाका पति पनि विदेशमा छन्। सुदीप र ती महिलाबीच केहीबेर दुःखसुखका कुराकानी भयो। हिँड्ने बेलामा कोही नभएको मौका छोपेर सुदीपले ती महिलालाई जबरजस्ती गरे। प्रहरीले सुदीपलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

शृंखलाबद्ध रूपमा हुने गरेका जबरजस्ती करणीका घटनामा आफन्त, शिक्षित, देशका रक्षक एवम् गाउँघरका भलादमीसमेत संलग्न हुने गरेका छन् ।

इटहरीको कोसी डेन्टल हस्पिटलमा असार २७ गते एक युवती दाँतको उपचार गर्न आइन्। पहिलोपटक उपचार गरेपछि चिकित्सक २९ वर्षीय धीरेन्द्र साहले दुई दिनपछि फेरि आउन सुझाए। असार ३१ गते १८ वर्षीया ती युवती दाँतमा सिमेन्ट भर्न भर्न सोही हस्पिटलमा गइन्। उनको सिमेन्ट भर्दा एकजना स्टाफ नर्स पनि थिइन्। तर, सिमेन्ट भरेपछि ती नर्सलाई बाहिर पठाएर साहले युवतीको शरीर सुम्सुम्याउँदै संवेदनशील अंगमा समाए  उनले ती युवतीको गालामा आफ्नो गाला पनि दले।

साहले त्यस्तो व्यवहार गरेपछि युवती जोडले कराइन् र इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिइन् । लगत्तै प्रहरीले साहलाई पक्राउ ग-यो। जिल्ला अदालत सुनसरीले साहलाई ५० हजार रुपैयाँ धरौटी लिएर रिहा गरेको छ।

यसरी शृंखलाबद्ध रूपमा हुने गरेका जबरजस्ती करणीका घटना आफन्त, शिक्षित, देशका रक्षक एवम् गाउँघरका भलादमी नै संलग्न हुने गरेको पाइन्।

इटहरी १३ मा गत चैत १३ गते खनारकी एक बालिका घरमा खेलिरहेका बेला गाउँकै दाजु पर्नेहरूले बोलाएर लगे। उनलाई तीनजना ‘दाजु’ को समूहले ५० रुपैयाँ दिने वचन दिए। दाजुहरूको प्रेममा अपराध रहेको उनले पत्तै पाइनन्। उनीहरूले बालिकालाई गुहँ खेतमा लगेर बलात्कार गरे।

पुस १६ गते प्रेमी र उनका साथी मिलेर इटहरी तरहराकी १६ वर्षीया किशोरीलाई बलात्कार गरे। घटना गुपचुपमा मिलापत्र गरियो। तर, गुपचुपमा मिलापत्र भएको घटना अन्ततः फर्दाफास भयो। महिना दिनपछि प्रहरीले सिनियर प्रहरी अधिकारीको नेतृत्वमा छानबिन समिति गठन ग-यो।

किशोरी बलात्कार गर्ने उनका प्रेमी धरान ८ का ३६ वर्षीय जोकम सुब्बा र जोकमका साथी विराटनगरका मनीष भनिने जीवन श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भए। घटनामा बिचौलियाको भूमिका निर्वाह गरेको भन्दै जनप्रतिनिधिसहित तीनजनामाथि प्रहरीले सार्वजनिक मुद्दा चलायो।

त्यो घटना छानबिन गर्न प्रहरीको प्रदेश १ का तत्कालीन एआइजी पशुपति उपाध्यायले एसएसपी हरिबहादुर पालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेका थिए। घटनाका सम्पूर्ण फेहरिस्त सार्वजनिक भयो । प्रहरीकै कमजोरी औंल्याएर सुनसरीका तत्कालीन प्रहरी प्रमुख एसपी विद्यानन्द माझी र इटहरीका प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई निलम्बन गरियो। यतिबेला दुवैजनाको निलम्बन फुकुवा भइसकेको छ।

गत वैशाख २६ गते धरानका १७ वर्षीय नरेन लिम्बुले किशोरी साथीलाई जन्मदिन मनाउन बोलाए। किशोरी पनि साथीको जन्मदिन मनाउन भनेपछि घरमै खुसीसाथ आइन् । तर, उनको खुसी लामो समय टिकेन । ती किशोरीलाई नरेनले कोठामा लगेर जबरजस्ती गरे । त्यसपछि किशोरी नरेनबाट फुत्किएर घर पुगेपछि प्रहरीमा उजुरी प-यो।

कक्षा ८ मा पढ्ने १५ वर्षीया किशोरीलाई इटहरी १७ का नयन मियाँले जबरजस्ती करणी गरे। फागुन ७ गते इटहरी बजारमा भेट भएर होटलमा नास्ता खुवाउन लगेर जबरजस्ती करणी गरेको प्रहरीको रिपोर्टमा उल्लेख छ। उनले घटनाबारे साथीभाइ र घरपरिवारका आफन्त कसैलाई पनि सुनाउने हिम्मत गरिनन्। समय बित्दै गयो, किशोरीले गर्भ बसेको लक्षण देखापरेपछि घरपरिवारमा सुनाइन्। नभन्दै स्वास्थ्य परीक्षण गर्दा गर्भ बसेको पत्ता लाग्यो। किशोरीले उजुरी दिइन्। किशोरीलाई जबरजस्ती करणी गर्ने मियाँलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाइसकेको छ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा सुनसरी जिल्लाभर ६३ वटा जबरजस्ती करणी र ३६ वटा जबरजस्ती करणी उद्योगका घटना भए। आर्थिक वर्ष २०७३/०७४ मा ५६ वटा जबरजस्ती करणी र १८ वटा जबरजस्ती करणी उद्योगका घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७२/०७३ मा भने जिल्लाभर ४९ वटा जबरजस्ती करणीका घटना भएका थिए भने २० वटा जर्बरजस्ती करणी उद्योगका घटना भएका थिए।

जिल्ला अदालतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ मा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका गरी १०१ वटा मुद्दा दर्ता भएका छन्। यस्तै आर्थिक वर्ष २०७३/७४ मा ८५ र आर्थिक वर्ष २०७२/०७३ मा ६४ वटा मुद्दा दर्ता भएका छन्। जबरजस्ती करणीबाट पीडित भएका सबैभन्दा बढी १४ वर्षदेखि १६ वर्ष उमेर समूहका छन्।

सर्वसाधारणमा वृद्धि भएको चेतनाका कारण जबरजस्ती करणीमा पीडित भएकाले मुद्दा दायर गर्ने क्रम बढेको अदालतको ठहर छ। जबरजस्ती करणीजस्ता कुकृत्यका घटनामा वृद्धि भएसँगै दोषीलाई कारबाही गर्न मुद्दा दायर गर्ने क्रम पनि बढेको जिल्ला अदालतका स्रेस्तेदार नवराज आचार्यले बताए। पहिला–पहिला जबरजस्ती करणीका थुपै्र घटना गाउँमै मिलाउने गरिन्थ्यो। तर, सर्वसाधारणमा चेतना बढेकाले यस्ता घटनामा दोषीलाई उन्मुक्ति नदिनका लागि मुद्दा दर्ता गर्नेको संख्यामा बढोत्तरी भएको छ। समाजमा बढ्दै गएको दण्डहीनता, कानुन हातमा लिने प्रवृत्ति र अपराधको राजनीतिकरणले गर्दा महिलामाथि जबरजस्ती करणीका घटना बढेको हो। बलात्कारका अधिकांश मुद्दामा बढी शक्तिशाली पीडकहरू पीडितदेखि प्रहरी सबैलाई प्रभावमा पारेर अनुसन्धानलाई कमजोर बनाउने गरेका छन्। क्षतिपूर्ति दिने बहानामा बीचमै कुरा मिलाउनेदेखि पीडितका अगाडि इज्जतको सबाल उठाएर बयान फेराउने काम पनि हुने गरेको छ।

बलात्कारलगत्तै प्रहरीमा उजुरी र स्वास्थ्य परीक्षण गर्नुपर्ने लगायतका कुरा सबै पीडितलाई थाहा नहुँदा पनि बलात्कारका मुद्दामा प्रमाण नपुग्दा धेरैले सहजै उन्मुक्ति पाउने गरेका छन्।

प्रकाशित: २७ श्रावण २०७५ ००:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App