७ वैशाख २०८१ शुक्रबार
विचार

आयुर्वेद औषधि प्रवर्धन

नागरिक दैनिकको अग्रेजी भगिनी प्रकाशनले २४ मार्च २०१६ को अनर्लान संस्करणमा आयुर्वेदिक उपचार सम्बन्धमा अनुसन्धानात्मक खबर छाप्यो। ललितपुर जिल्लाको लुभूका कृष्णप्रसाद पोखरेलले आयुर्वेदिक पद्धतिमार्फत विभिन्न रोगीको इलाज गरेर निको पारेको समाचार आयो। रोग सन्चो भएका मानिसको ठामठहरसहितको सन्देश भएकाले आधिकारिकताका विषयमा शंका गर्ने ठाउँ देखिएन। आयुर्वेदाचार्य पोखरेलको औषधिले धेरै अशक्तलाई सकुशल बनाएकोे तथ्य सार्वजनिक भएपछि औषधि विज्ञानको क्षेत्रमा अध्ययन/अनुसन्धानको नियन्त्रक संस्था नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले उनलाई मुख्य अनुसन्धानकर्ता नियुक्त गरी हेपाटाइटिस बि र हेपाटाइटिस सिको क्लिनिकल ट्राइल गर्ने अनुमति दिएको देखियो। त्यसको मतलव अबउप्रान्त उनले विधिवत्रूपले कलेजोका बिरामीलाई आफूले पहिल्याएको ओखतीमूलो गर्न पाउने भए। आधुनिक अंग्रेजी औषधिलाई निको पार्न हम्मे पर्ने कलेजोका रोगलाई ठीक पार्नुका अतिरिक्त औषधि विज्ञानकै च्यालेन्जका रूपमा देखिएको क्यान्सर  तथा एड्स, एचआइभी रोगीको समेत इलाज गरेर आयु लम्ब्याएको दाबी गरेका छन् पोखरेलले। सबै परिस्थिति सकारात्मक दिशामा गए उनले पत्ता लगाएको जडीबुटीले अन्तर्राष्ट्रिय बजारमा औषधिको रूप लिन सक्ला त? मेडिकल साइन्सको क्षेत्रमा यस पंक्तिकारले गरेको अनुसन्धान तथा अनुभवका आधारमा आयुर्वेदिक विज्ञानलाई आधुनिक अंग्रेज उपचार विधिसँग कसरी तालमेल गर्न सकिन्छ भन्ने विषयलाई सम्बोधन गर्नु नै यस आलेखको लक्ष्य हो।

आयुर्वेदमा रोग निदानका लागि महत्वपूर्ण भूमिका खेल्ने प्राथमिक तत्व पहिचान गर्न सके आयुर्वेदिक ओखती र अंग्रेजी औषधिको सेतु कायम गर्न सकिन्छ।

धर्मग्रन्थ रामायणमा भगवान राम र रावणको युद्धमा घाइते भइ मरणासन्न अवस्थामा पुगेका लक्ष्मणलाई पुनर्जीवन दिन संजीवनी बुटीको खोजीमा हनुमानले द्रोणागिरी पर्वत उठाएर ल्याएर इलाज गरेको कथनले आयुर्वेदिक इलाज वैदिक कालदेखि चल्दै आएको देखिन्छ। सदियौँदेखिको इलाज भए पनि आधुनिक औषधि विज्ञानको क्षेत्रमा आयुर्वेद पद्धतिको स्थान छँदै छैन भन्दा पनि हुन्छ। अधिकांश जडीबुटी हिमालयको गर्भमा रहनु अनि आधुनिक औषधि विज्ञानको सुरुआत पश्चिमी मुलुकमा हुनुुले आयुर्वेदिक उपचार विधि पछि पर्‍यो। तर जडीबुटीमा रहेको मेडिसिनल गुणलाई संसारका भिन्न अनुसन्धानमूलक संस्थाले उपयोग गरेको देखिन्छ। उदाहरणका लागि क्यालिफोर्नियाको लस् एन्जलस काउन्टीमा रहेको सिटिअफ होप क्यान्सर अस्पतालमा हजारौँ हर्बल बिरुवाको झोल उपलब्ध छ र त्यहाँका अनुसन्धानकर्ताले उपलब्ध घोलले क्यान्सरका बिरामीलाई निको पार्न सक्छ कि भनेर अनुसन्धान गरिरहेका छन्। आधुनिक औषधि विज्ञानका लागि च्यालेन्जका रूपमा रहेको अर्बुद रोगको इलाजमा जडीबुटी पद्धति सहायक हुन्छ कि भनी अनुसन्धान गरिनु अस्वाभाविक रहेन। सन् २००९ सम्मका आकडा हेर्दा करिब ५००० जडीबुटीलाई संसारका विभिन्न मुलुकमा प्याटेन्ट गरेको देखिनुले आधुनिक विज्ञानले सफलता हासिल गर्न नसकेको क्षेत्रमा पुरातन उपचार विधि सहायक सिद्ध हुन सक्छ भन्ने कुरामा संसार आशावादी भएको देखिन्छ। त्यसैले आयुर्वेदिक औषधिको थप उपादेयता सम्बन्धमा चनाखो हुन आवश्यक देखियो। 

संयुक्त राज्य अमेरिकामा कुनै पनि नागरिकले खराब खाद्यान्न तथा कमसल औषधिका कारण अकाल मर्नु नपरोस् भन्नका लागि खानेकुरा तथा ओखतीसम्बन्धी अध्ययन तथा अनुसन्धानको अनुगमन गर्ने एकमात्र संस्था हो– फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)। कुनै पनि औषधिको प्रारम्भिक अनुसन्धानदेखि बजारमा बिक्री भएपछि त्यसले के/कस्तो प्रभाव पारेको छ, त्यसको संम्पूर्ण जवाफदेही एफडिएले लिन्छ। त्यस्तै युरोपियन युनियनका सदस्य राष्ट्रमा अनुसन्धान तथा बिक्री वितरण हुने ओखतीको अनुगमन युरोपियन मेडिसिन्स एजेन्सीले गर्छ भने नेपाललगायत संसारका अधिकांश देशका के/कस्ता औषधि बिक्री वितरण गर्न दिने त्यसको अनुगमन गर्ने आआफ्नै निकाय छन्। तर संसारकै सबैभन्दा कठोर नियम कानुनले बाँधिएका कारण एफडिएले कुनै पनि औषधि प्रयोग गर्न स्वीकृति दिएपछि उक्त ओखती संसारभरको बजारमा फैलन्छ। अब कुनै पनि औषधि कसरी बजारमा पुग्छ त्यसमा ध्यान दिउँ।

आधुनिक विज्ञानमा कुनै पनि औषधिको प्रारम्भिक अनुसन्धान प्रयोगशालाको सामान्य टेस्टट्युबबाट सुरु हुन्छ। ल्याबमा गरिएको कोरा अनुसन्धानले कुनै पनि रासायनिक पदार्थले अमूर्त रोगको निदान गर्न सक्छ भन्ने प्रमाणित भएपछि उक्त पदार्थको औषधितर्फको यात्रा सुरु हुन्छ। तर आकडा हेर्दा प्रयोगशाला परीक्षणमा सकारात्मक देखिएका १०,००० रासायनिक पदार्थमध्ये एउटाले मात्र औषधिका रूपमा बजारमा प्रवेश गर्छ। त्यतिमात्र होइन, सबै कुरा सामान्य भए पनि ल्याबमा उत्पादित केमिकलले औषधिका रूपमा बजार पाउन कम्तीमा १० वर्ष लाग्छ। विभिन्न प्रशासनिक तथा अनुसन्धानात्मक तगाराहरु पार गर्नुपर्ने भएकाले एउटा औषधिलाई बजारमा पुर्‍याउन कम्तीमा पनि ५० करोड अमेरिकी डलर खर्च भइसकेको हुन्छ। अझ कतिपय अवस्थामा त करोडांै डलर लगानी गरिसकेपछि पो थाहा हुन्छ कि उक्त रासायनिक पदार्थले औषधिको रूप लिन नसक्ने कुरा। उदाहरणका लागि ५ करोड अमेरिकी डलर खर्च गरिसकेपछि मात्र रोश भन्ने कम्पनीले आरएनएमा आधारित आफ्नो औषधि बनाउने योजना त्रुटिपूर्ण भएको यथार्थ बुझ्यो। तसर्थ, औषधि बनाउने काम अति खर्चिलो र जोखिमपूर्ण भएकाले अधिकांश नवीन औषधिको अनुसन्धान सम्पन्न मुलुकमा मात्र हुन्छ। त्यसैले नेपाल जस्तो मुलुकले अंग्रेजी दबाइ बनाउने सोच पनि राख्न सक्दैन। हाम्रो जस्तो मुलुकका लागि औषधि आविष्कारका कस्ता अनुसन्धान धान्न सक्ने प्रकृतिका हुन्छन त्यता हेरौँ।

कुनै एक रासायनिक पदार्थले केही मानिसमा लागेको रोग ठीक भयो भन्दैमा उक्त पदार्थलाई औषधिका रूपमा प्रयोग गर्न सकिन्न। भिन्न भिन्न जात तथा वर्णमा लागेको रोगलाई समान हिसावमा निको पार्ने पदार्थलाई मात्र दबाइको संज्ञा दिन सकिन्छ। नवीन औषधिले बिरामीमा लागेको रोग ठीक पार्छ भन्नका लागि प्रारम्भिक चरणमा टेस्टट्युब तहमा ल्याब परीक्षण गरिन्छ। प्रयोगशाला परीक्षणमा सकारात्मक परिणाम आए सम्भव भएसम्म जनावरलाई त्यस्तै रोगी बनाएर उक्त औषधिको प्रयोग गरिन्छ। उदाहरणका लागि कुनै लिभर क्यान्सरको औषधि परीक्षण गर्दा प्रयोगशालाको मुसाको कलेजोमा अर्वुद रोगका कोषिका विकास गरिन्छ र प्रयोगशालामा विकास गरिएको पदार्थको परीक्षण गरिन्छ उक्त जनावरमा। उक्त प्राणीमा लागेको अर्वुद रोग ठीक गर्न सक्ने औषधिले मानिसमा लागेको उस्तै प्रकृतिको रोग ठीक पार्छ भन्ने सामान्य बायोलोजिकल मान्यता हो। त्यसपछि, प्रारम्भिक तहमा उक्त सम्भाव्य पदार्थलाई कुनै पनि रोग नलागेको स्वस्थ स्वयमसेवी मानवमा परीक्षण गरिन्छ। हट्टाकट्टा मानिसमा परीक्षण गर्नुको लक्ष्य उक्त औषधिले सकुशल व्यक्तिमा नवीन रोग त ल्याउँदैन भन्ने नै हो। एउटा रोग बिसेक भएर अर्को संक्रमण भित्रिँदैन भन्ने कुराको विश्वसनीयता नभइकन कुनै पनि औषधि बजारमा जान सक्दैन। सबै परीक्षण सकारात्मक भए सानो आकारमा उक्त औषधिको परीक्षण वास्तविक रोगीमा गरिन्छ। उक्त औषधिले इलाज गरिएका बिमारीहरु तन्दुरुस्त भएपछि मात्र उक्त औषधिलाई बजारमा बिक्रीका लागि अनुमति दिइन्छ। प्रचलित अन्तर्राष्ट्रिय प्याटेन्ट कानुनअनुसार औषधि उत्पादक कम्पनीको एकाधिकार अवधि सामान्यतः १० वर्षका लागि मात्र हुने भएकाले त्यही एक दशकको अवधिमा सम्बन्धित कम्पनीले आफ्नो खर्च भएको करोडौँ रुपियाँ असुल गरी मुनाफासमेत लिनुपर्ने भएकाले बजारमा आएका नवीन औषधी अचाक्ली महँगा हुन्छन्। प्याटेन्टका एकाधिकार समाप्त भएपछि कुनै पनि औषधि कम्पनीले उक्त दबाइको उत्पादन र वितरण गर्न सक्ने भएकाले त्यही औषधि १० वर्षपछि निकै सस्तो हुन्छ। नेपालमा उत्पादित सबै औषधि यही श्रेणीमा पर्छन्। 

अग्रेजी दबाइमा सामान्यतः एक रोगको इलाज गर्ने रासायनिक पदार्थ एउटामात्र हुन्छ, त्यसलाई क्रियाशील तत्व भनिन्छ। उक्त क्रियाशील पदार्थलाई लामो समयसम्म प्रभावकारी राख्न औषधिमा भिन्न निष्त्रि्कय पदार्थहरुसमेत प्रयोग हुने भए पनि रोग निको पार्न तिनीहरुको कुनै भूमिका हुँदैन। पुरातन औषधिमा विभिन्न रुखको भिन्न भागलाई पिसेर ओखती बनाउने भएकाले उक्त बिरुवामा हुने हजाराँै प्रकारका रासायनिक पदार्थहरु आयुर्वेदिक औषधिमा कायम रहन्छन्। धेरै रासायनिक तत्वमध्ये कुन पदार्थ शरीरका लागि लाभदायक र  कुन हानिकारक ठहर गर्न कठिन हुन्छ नै। अंग्रेजी औषधिमा फलानो रोग लागेको मानिसलाई अमूर्त औषधि यति मात्रामा ख्वाउँदा फलानोे कारणले उक्त बिरामी ठीक हुन्छ भने प्रष्ट हुन्छ। आयुर्वेदिक औषधिको हकमा मात्राको कुरा परै जाओस्, कुन पदार्थका कारण फलानो रोग ठीक भयो भन्ने यथार्थ नै कसैलाई थाहा हुँदैन। एक केमिकलले एक लक्षणको इलाज गर्छ भन्ने मान्यता राख्ने पाश्चात्य मुलुकमा जडीबुटीमा रहेका सयौं पदार्थले एक रोगको इलाज गर्छ भन्ने पत्याउन कठिन हुन्छ नै। कदाचित कुनै आयुर्वेदिक औषधि सेवन गर्दा कुनै मानिसमा एलर्जिक रियाक्सन भएमा के उपचार गर्ने? स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ठोस प्रमाणबिना कुनै पनि नवीन कुराको परीक्षण गरिनुहुन्न भन्ने मान्यता राख्ने एफडिएले अमेरिकामा कुनै पनि आयुर्वेदिक औषधिलाई मान्यता त दिँदैन नै, बरु जनतालाई त्यस्ता औषधि नकिन्नसमेत अनुरोध गर्छ। गोल्ड स्ट्यान्डर्डका रूपमा स्थापित अमेरिकी संस्था एफडिएले मान्यता नदिएपछि संसारका अन्य विकसिक देशले समेत प्राचीन औषधिलाई आधिकारिकता दिने प्रश्नै रहेन। तसर्थ, जडीबुटीमा आधारित उपचार पद्धतिले बिरामीको जस्तोसुकै कठिन रोग निको पारे पनि आयुर्वेदिक समिश्रण विश्व बजारमा प्रवेश गर्न नसक्ने भएकाले आधुनिक अनुसन्धान आवश्यक देखिन्छ।

आयुर्वेदिक ओखतीले रोग निको हुनुका कारण उक्त चूर्णमा रहेका सयांै रासायनिक पदार्थको समान भूमिका हुँदैन बरु त्यसमध्येको एकले मात्र मुख्य रोल खेल्छ। तसर्थ, आयुर्वेदिक उपचारले रोग निको पार्दैन भन्ने हँुदै होइन बरु जडीबुटीमा रहेको उक्त महत्वपूर्ण तत्व के हो भन्ने पहिचान नै प्राथमिक विषय हो। तसर्थ, आयुर्वेदमा रोग निदानका लागि महत्वपूर्ण भूमिका खेल्ने प्राथमिक तत्व पहिचान गर्न सके आयुर्वेदिक ओखती र अंग्रेजी औषधिको सेतु कायम गर्न सकिन्छ। त्यसका लागि सर्वप्रथम कविराजहरुले विभिन्न रोगका लागि निर्माण गरेको आयुर्वेदिक समिश्रणमा रहेका रासायनिक पदार्थहरु पहिचान गरी जडीबुटीमा कायम सबै रासायनिक पदार्थहरु छुट्याउनुपर्छ। रसायनशास्त्रका स्नातकोत्तर विद्यार्थीका लागि थेसिसको राम्रो प्रोजेक्ट हुन सक्ने भएकाले उनीहरु हर्बल मेडिसिनमा पाइने केमिकलहरु शुद्धीकरण गर्ने काममा खुसीसाथ लाग्छन नै। जटिल रोगको औषधि बन्न सक्ने प्रोजेक्टमा काम गर्नु कीर्तिपुरका गुरुहरुको पनि गर्भकै विषय हुने भएकाले उनीहरुले पनि चासो लिन्छन् नै। शुद्ध रासायनिक पदार्थमध्ये कुनले फलानो रोग ठीक पार्‍यो भन्नका लागि तिनीहरु सबैको बेग्लाबेग्लै परीक्षण गर्नुपर्ने हुन्छ। औषधि आविष्कारको आधुनिक बाटो निकै कठिन र खर्चिलो हुने भएकाले जडीबुटीमाा कायम रासायनिक पदार्थ पहिचान गरिसकेपछि यथास्थितिमा नेपालमा थप अनुसन्धान गर्न सम्भव नहुने भएकाले सम्भ्रान्त मुलुकका अनुसन्धानकर्ताको सहकार्यमा थप रिसर्च गर्न सकिन्छ। सहकार्यबिना विज्ञानको विकास हुन नसक्ने अनि कुन व्यक्तिले साइन्समा कति योगदान गर्‍यो भन्ने कुरा प्रष्ट हुने भएकाले प्रारम्भिक तहदेखि अन्तिम क्षणसम्म योगदान गर्ने व्यक्तिले आफ्नो मेहनतको उचित हिस्सा पाउने भएकाले कसैले अन्याय हुन्छ कि भनेर आत्तिनुपर्ने अवस्था रहेन। पोखरेललगायतका विभिन्न कविराजले आआफ्नैरूपले भिन्नभिन्न रोगीको सफल इलाज गरिरहेको यथार्थलाई कदर गर्दै कसरी उनीहरुको ज्ञानलाई आधुनिक मेडिसिनको आविष्कारमा सहायक बनाउन सकिन्छ त्यसमा सम्बन्धित सबै पक्षको ध्यान जान आवश्यक देखिन्छ।

प्रकाशित: २८ भाद्र २०७३ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App