४ वैशाख २०८१ मंगलबार
समाज

‘असारे विकास साउनमा विनाश’, पाल्पाका २८ घर पहिराेकाे जाेखिममा

पाल्पा - वातावरणीय प्रभाव मूल्याङ्कन नगरि असार अन्तिम साता सडकको ट्रयाक खोलियो। अहिले लगातारको वर्षाका कारण रम्भा गाउँपालिका १, हुँगीका २८ घर जोखिममा परेका छन्। गाउँमा खानेपानीको अभाव भएको छ। रोपेको खेतमा माटो पसेको छ। सिङ्गो सात नम्बर गाउँका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन्। 

रम्भा गाउँपालिकाको वडा नं.१, हुँगी र वडा नं.२ फोक्सिङ्गकोट जोड्ने ‘सेतीपोखरी–ठूलोथुम्के–फोक्सिङ्गकोट मोटरबाटो खनियो। बाटो खनेको स्थान जंगलबाट साउन १८ गते राती पहिरो खस्यो । पूनः साउन २० गते लेदो माटो सहितको भेल रुखहरु सहित गाउँमा पसेपछि २८ घर जोखिममा परेका हुन्।

रम्भा गाउँपालिका–१, को सुवेदी टोलका शिवप्रसाद सुवेदीले प्राविधिकको सल्लाह विना जंगलको बिचबाट बाटो खनेपछि जंगलको तल्लो भागमा रहेको बस्ति जोखिममा परेको बताए। उनी भन्छन्, ‘जता मन लाग्यो उतैबाट बाटो खने। खेती गरेर खाने जमीन पनि पुर्न थाल्यो। रातभर जाग्राम बस्न बाध्य छौं। कहिले नजानेको विकास पानी परेपछि सुरु भएको थियो।’ गाउँपालिकाले असार २२ गतेसम्म खनेको जंगलको बाटोका कारण आफुहरु जोखिमपूर्ण अवस्थामा रहेको उनले बताए। साउन २० गते ठूलो भल र माटो रुखहरु सहित गाउँ पसेपछि जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अध्ययन समेत गरेको सुवेदीले बताए। 

गाउँमा पहिरो पसेपछि सुरक्षा समितिको निर्णयानुसार डोजर ल्याएर केही भल जाने बाटो बनाईएको रम्भा गाउँपालिका १ का वडा सचिव रामकृष्ण सुवेदीले बताए। ‘गाउँमाथि जथाभावी डोजर चल्यो। अहिले त्यसको असर तलसम्म परेको छ। सबैसँग सल्लाह गरेर इष्टिमेट गरेर बाटो खनेको भए हुन्थ्यो,’ उनले भने, ‘घरहरु जोखिम भएका कारण कतिपय सामाग्रीहरु अन्यत्र सारिएको छ । केहीले गोठ खाली गरेका छन्।’ स्थानीय बिष्णु पछाई भन्छिन्, ‘साग रोप्ने ठाउँ समेत छैन । खानेपानी योजना समेत अलपत्र पर्न थाल्यो । हामीलाई कसरी सुरक्षित हुने भन्ने चिन्ता छ।’ उनले स्थानीयको सल्लाह विनै गाउँपालिकामा बचेको रकम सक्न जथाभावी डोजर प्रयोग गर्दा गाउँ जोखिममा परेको  बताईन्। 

सेतीपोखरी–ठूलोथुम्के–फोक्सिङ्गकोट मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणबहादुर पछाईले गाउँपालिकाको निर्देशन अनुसार आफूले प्राविधिक राखेरै मोटरबाटो निर्माण गरेको बताए। ‘पहिला सात लाख ५० हजार रुपैयाँ रकमबाट प्राविधिक इष्टिमेट अनुसार नै मोटरबाटो बनाएका हौं। पछि गाउँपालिकाको सात लाख थप रकममा गाउँको तीन लाख थप रकमबाट थप बाटो निर्माण ग¥र्यौं,’ पछाईले भने, ‘गाउँ जोखिममा भएको मोटरबाटोकै कारण हो। बिचमा ढुङ्गा भेटिएर एकदुई स्थानमा प्राविधिकले भने भन्दा अन्यत्र खनेका छौं।’

रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले प्राविधिक इञ्जिनियर पठाएर हुँगी र फोक्सिङ्गकोटको भेलाबाटै निर्णय भएर बाटो खनिएको बताए। उनले गाउँपालिकाले विनियोजन गरिएको पहिलेको बजेटबाट दुई वडा जोड्ने मोटरबाटोको ट्रयाक खोल्न नसकिएपछि म्याचिङ्ग फण्डको रकम समेत खर्च गरिएको बताए। अध्यक्ष भण्डारी भन्छन्, ‘प्राकृतिक प्रकोपका कारण २८ घर जोखिममा छन्। खेतबारी समेत असुरक्षित भए । हामी अल्पकालीन र दीर्घकालीन योजना सहित व्यवस्थापनमा अगाडी बढेका छौं।’ उनले अवस्थालाई ध्यानमा राखि गाउँमाथि खनिएको मोटरबाटो विषयमा सोच्न सकिने बताए। 

पाल्पाका निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पन्तले जिल्ला सुरक्षा समितिले तत्कालका लागि त्यस स्थानमा सुरक्षित रहन आग्रह गरेको बताए। पन्त भन्छन्, ‘अहिले सम्पूर्ण अधिकार गाउँपालिकामा छ। मानवीय क्षति हुनबाट जोगिएको छ। विकासको काम गर्दा सम्पूर्ण पक्षलाई ध्यान दिन सकिएन भने विनाश हुने सम्भावना हुन्छ ।’ उनले जोखिममा परेको घरहरुका विषयमा गाउँकार्यपालिकाले आवश्यक निर्णय लिन सक्ने बताए। 

प्रकाशित: २६ श्रावण २०७५ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App