८ वैशाख २०८१ शनिबार
समाज

स्थानीय निकायमा अभै पुगेनन बैंक

खोटाङ–स्थानीय निकाय सञ्चालनमा आएको ६ महिनाभित्र सबै ठाउँमा बैंक खोलिसक्ने सरकारको निर्णय कार्यान्वयनमा नआउँदा स्थानीय जनता सास्ती खेप्न बाध्य छन् । स्थानीय तह सञ्चालनमा आएको वर्ष दिन नाघिसके पनि बैंक स्थापना नहुँदा जनता सास्ती भोग्न बाध्य भएका हुन् । 
स्थानीय तहमा बैंक नखुल्दा खोटाङको जन्तेढुंगा गाउँपालिकाका जनता बैंकिङ कारोबार गर्न दिनभरको यात्रा गरेर उदयपुर धाउनुपर्ने समस्यामा छन् । जिल्ला सदरमुकाम मझुवागढी–दिक्तेल–रुपाकोट नगरपालिका र छिमेकी खोटेहाङ गाउँपालिकाको खोटाङ बजारस्थित बैंक पुग्न त्योभन्दा बढी समय लाग्ने भएपछि उदयपुरको बेलटार धाउनुपरेको हो । खोटाङको दुर्गम भेगमा पर्ने जन्तेढुंगाबासी स्थानीय तह सञ्चालनमा आएदेखि नै चौदण्डीगढी नगरपालिका ६ बेलटारमा रहेको राष्ट्रिय बाणिज्य बैंक धाउदै आएका छन् । 
बेलटार आउन पनि उनीहरुलाई घण्टौं पैदल हिडेर मात्र यातायात साधन भेट्ने समस्या छ । गाउँपालिका प्रमुख शंकर राईले गाउँपालिकामा बैंक नखुलेको र जिल्लाभित्रको बैंक धाउन अझै धेर समय लाग्ने भएपछि ६ घण्टा हिँडेर बेलटारको बैंकबाट कारोबार गर्न बाध्य भएको बताए । 
‘गाउँपालिकामा बैंक खुलेको छैन, दिक्तेल पुग्नु धेरै टाढा छ,’ अध्यक्ष राईले भने खोटाङबजार बेलटारभन्दा केही नजिक छ तर, त्यहाँबाट १ लाखभन्दा बढीको कारोबार गर्न नमिल्ने भएकाले बेलटार धाउनुपर्ने बाध्यता आईपरेको हो।’ उनका अनुसार गाउँपालिकाले सञ्चालन गरेका योनजाहरु लाखौंलाखका भएकाले बैंकिङ कारोबार गर्न बेलटार नधाई सुखै छैन । टाढा बैंक भएकाले उपभोक्ता समितिहरु लामो समय लगाएर धेरै काम गरेर कम्तीमा १०÷१२ लाखको चेक साट्ने गरी बेलटार धाउने गरेका छन् । खोटाङ बजारको बैंकले सुरक्षाको कारण देखाउँदै १ लाखबढीको कारोबार नगर्ने जनाएको उनले बताए। 
१० लाखदेखि २६ करोडसम्मको कारोवार हुने बैंक खुल्नुपर्ने उनले बताए । सानोतिनो रकमको कारोबार नहुने हुँदा गाउँपालिकाबासी योजनाको रकम भुक्तानी लिन दिक्तेल या बेलटार नै पुग्नुपर्ने बाध्यता छ । 
स्थानीय तहमा बैंक नहुँदा गाउँपालिकाभित्रका विद्यालयका शिक्षकको मासिक तलव पनि समयमा भुक्तानी दिन नसकेको गाउँपालिकाले जनाएको छ । बैंक गाउँमा नहुने र कुनै बेला चेकमा हस्ताक्षर नमिल्ने हुँदा त थप ओहोर–दोहोर गर्नुपर्ने समस्या पनि शिक्षकहरुले भोग्नुपरेको गुनासो गर्छन् । अध्यक्ष राईले जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानीमा कृषि विकास बैंक खोल्ने तयारी भए पनि नेपाल राष्ट्र बैंकले अनुमति नदिएको भन्दै अहिलेसम्म नखुलेको बताए ।
 उदयपुरमा पनि सबै स्थानीय तहमा बैंक खुलिसकेका छैनन्। ४ नगर र ४ गाउँपालिकामध्ये ३ गाउँपालिकामा अहिलेसम्म बैंक खुलेको छैन । पहाडी भेगका लिमचुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिकामा अझै बैंक खुलेका छैनन् । रौतामाई गाउँपालिका र बेलका नगरपालिकामा भने एक महिनाअघि बैंक खुलेको छ । सदरमुकाम त्रियुगा, चौदण्डीगढी बेलटार र कटारीमा भने यसअघि नै बैंकहरु आधादर्जन बढी खुलेर सुचारु भईरहेका छन् । 

 

प्रकाशित: २६ श्रावण २०७५ १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App